काठमाडाैं । वर्षायाममा एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने नेपाल हिउँदमा भने विद्युत् अभाव खेपिरहेको छ । भारतबाट विद्युत् आयात गर्दा पनि औद्योगिक क्षेत्रमा कटौती गर्नुपर्ने अवस्था छ । यस्तो ऊर्जा विरोधाभास अन्त्य गर्न महत्त्वपूर्ण मानिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना भने पाँच दशकदेखि सरकारका घोषणा, राजनीतिक निर्णय र प्रशासनिक फेरबदलमै अल्झिएको छ । आयोजना निर्माणमा भएको ढिलाइ अब प्राविधिक समस्या मात्रै रहेन, राज्यको निर्णय क्षमता र राजनीतिक जवाफदेहितामाथिको प्रश्न बनेको छ ।
सन् १९७३/७४ मै पहिचान भएको बुढीगण्डकी आयोजना आजसम्म निर्माणमा प्रवेश गर्न सकेको छैन । पाँच दशकमा अध्ययन भयो, डिपिआर बन्यो, जग्गा अधिग्रहण भयो, मुआब्जा वितरण भयो, निर्माणको जिम्मा दिने र खोस्ने निर्णय भए । तर, बाँध निर्माण सुरु भएन । नेपालको विकास व्यवस्थापनमा आयोजना पहिचान र घोषणा गर्न जति सहज छ, कार्यान्वयन गर्न त्यति नै कठिन रहेको बुढीगण्डकीले देखाएको छ ।
गोरखा र धादिङको सीमाक्षेत्रमा प्रस्तावित यो आयोजना सुरुमा ६ सय मेगावाट क्षमतामा अध्ययन गरिएको थियो । पछि १२ सय मेगावाट क्षमतामा विस्तार गर्ने गरी विस्तृत अध्ययन र डिजाइन तयार भयो । फ्रान्सेली कम्पनीमार्फत डिपिआर तयार भएको एक दशकभन्दा बढी समय बितिसकेको छ । आवश्यक पूर्वतयारीका अधिकांश काम पनि अघि बढिसकेका छन् । तर, आयोजना निर्माणको ढोका खोल्नुपर्ने सरकार भने विकास मोडेल परिवर्तनमै अल्झिएको छ ।
बुढीगण्डकीको ढिलाइमा राजनीतिक अस्थिरता र निर्णयको उलटफेर प्रमुख कारण देखिन्छन् । २०७३ मा तत्कालीन सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिना प्रतिस्पर्धा आयोजना जिम्मा दिने निर्णय गर्यो । २०७४ मा अर्को सरकार आएपछि संसदीय समितिको निर्देशनका आधारमा उक्त निर्णय खारेज गरियो र स्वदेशी लगानीमा विद्युत् प्राधिकरणमार्फत निर्माण गर्ने घोषणा भयो । २०७५ मा फेरि विदेशी कम्पनीलाई जिम्मा दिने निर्णय गरियो । त्यसपछि २०७८ मा उक्त इजाजत खारेज भयो ।
आयोजनाको जिम्मा दिने र खोस्ने राजनीतिक अभ्यासले निर्माणको गति बढाएन, बरु अनिश्चितता थप्यो । एउटै परियोजनामा सरकार बदलिँदा निर्णय बदलिने तर राष्ट्रिय प्राथमिकता स्थिर नहुने प्रवृत्ति नेपालको विकास नीतिको कमजोरी हो । बुढीगण्डकीमा राजनीतिक दलहरूले परियोजनालाई साझा राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुभन्दा आफ्नो सरकारको निर्णय र प्रतिष्ठासँग जोडेको देखिन्छ ।
अहिले बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरेर अघि बढाइएको परियोजनालाई पुनः विकास प्राधिकरण मोडेलमा लैजाने तयारी भइरहेको छ । बहुउद्देश्यीय आयोजना विकास गर्ने सरकारी तर्क छ । प्राधिकरण गठनका लागि छुट्टै कानुन बनाउने अवधारणा मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । तर, संरचना परिवर्तनले निर्माणको गति कति बढाउँछ भन्ने स्पष्ट छैन । संस्थागत स्वरूप परिवर्तन गर्नुलाई प्रगति ठान्ने प्रवृत्तिले वास्तविक समस्या ओझेलमा पार्ने जोखिम छ ।
पूर्वसचिव देवेन्द्र कार्कीले पनि कम्पनी वा प्राधिकरणको संरचनाभन्दा लगानी जुटाउने र निर्माण अघि बढाउने विषयलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् । आयोजना निर्माणमा संस्थागत स्वरूप बाधकभन्दा वित्तीय स्रोतको सुनिश्चितता, नीतिगत स्थिरता र कार्यान्वयन क्षमता निर्णायक हुने उनको भनाइले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँछ । संस्था फेरिँदैमा आयोजना बन्दैन; त्यसका लागि वित्तीय प्रतिबद्धता र निर्माणको समयसीमा चाहिन्छ ।
चार खर्बभन्दा बढी लागत अनुमान गरिएको परियोजनाको लगानी मोडालिटी स्वीकृत भएको भनिए पनि स्रोत सुनिश्चित भइसकेको छैन । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपुँजी जुटाउने योजना छ । सरकारले सहुलियतपूर्ण ऋण, संस्थागत कर्जा, ऊर्जा बन्ड र आफ्नै लगानीमार्फत रकम जुटाउने प्रस्ताव गरेको छ । तर, प्रस्तावित स्रोतलाई वास्तविक वित्तीय प्रतिबद्धतामा बदल्न नसके आयोजना फेरि कागजमै सीमित हुने खतरा छ ।
यस परियोजनामा मुआब्जा तथा अन्य शीर्षकमा ४५ अर्ब रुपैयाँ हाराहारी खर्च भइसकेको छ । प्रभावित क्षेत्रका जग्गाधनीलाई ४३ अर्बभन्दा बढी मुआब्जा वितरण गरिएको छ । आठ हजारभन्दा बढी घरपरिवार प्रभावित हुने र तीन हजार पाँच सयभन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित हुने आयोजना हो । राज्यले नागरिकको जग्गा लिएको, ठूलो रकम खर्च गरेको र पुनर्वासको दायित्व बोकेको अवस्थामा निर्माणको अनिश्चितता केवल आर्थिक प्रश्न होइन, नागरिकप्रतिको राज्यको जिम्मेवारीसँग पनि जोडिएको छ ।
हरेक वर्ष बजेट र नीति कार्यक्रममा बुढीगण्डकी निर्माणको घोषणा दोहोरिएको छ । लगानी मोडालिटी तय गर्ने, स्रोत व्यवस्थापन गर्ने, निर्माण सुरु गर्ने र सार्वजनिक–निजी साझेदारीको चर्चा गर्ने क्रम चलिरह्यो । तर, घोषणालाई कार्यान्वयनमा बदल्ने संस्थागत क्षमता देखिएन । बजेटमा आयोजना उल्लेख हुनु र निर्माण सुरु हुनुबीचको दूरी नेपालको विकास प्रशासनमा रहेको गम्भीर समस्या हो ।
बुढीगण्डकी जलाशययुक्त आयोजना भएकाले यसको महत्त्व विद्युत् उत्पादनमा मात्रै सीमित छैन । हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन, उद्योग सञ्चालन, ऊर्जा आयात घटाउने, पर्यटन, जलयात्रा, माछापालन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारको सम्भावना छ । यति धेरै राष्ट्रिय लाभको सम्भावना बोकेको आयोजना पाँच दशकसम्म निर्णयको चक्रमा घुम्नु राज्यको प्राथमिकता निर्धारणमा रहेको कमजोरी पनि हो ।
कम्पनीले २०२८ जनवरीदेखि भौतिक निर्माण सुरु गर्ने लक्ष्य सार्वजनिक गरेको छ । कार्यालय, आवास र पुल निर्माणका कामलाई आयोजना अघि बढेको संकेतका रूपमा प्रस्तुत गरिएको छ । तर, विगतका घोषणाले नागरिकमा आशा र निराशा दुवै पैदा गरिसकेका छन् । नयाँ समयसीमा पनि पुरानै आश्वासन बन्न नदिन सरकारले लगानी सुनिश्चितता, निर्माण कार्यतालिका, जिम्मेवार निकाय र सार्वजनिक जवाफदेहिताको स्पष्ट आधार तयार गर्नुपर्छ ।
बुढीगण्डकी अब अर्को घोषणा वा अर्को संस्थागत संरचनाको प्रयोगशाला बन्नु हुँदैन । पाँच दशकको ढिलाइले राज्यको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । आयोजना निर्माण सुरु हुने मिति घोषणा गर्नु उपलब्धि होइन, निर्माण सुरु गरेर समयमै सम्पन्न गर्नु उपलब्धि हो । अब बुढीगण्डकीमा सरकारको परीक्षा निर्णय सुनाउने होइन, निर्णय कार्यान्वयन गर्ने क्षमताको हो ।