काठमाडौ । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ।
विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ ।
ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९ मेगाहर्ज र ईमेजखबर डटकम पनि नयाँ व्यवस्थापन अन्तर्गत नै सञ्चालन हुनेछन्।
नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा परिचित सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहेको छ भने प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहेको छ ।
नयाँ व्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा शुरुवातीको दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ।
लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । जिम्मेवारी हस्तान्तरण समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरुको काँधमा जिम्मेवारी विसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताएका थिए।
सो अवसरमा कार्यकारी अध्यक्ष दिरेकलाल श्रेष्ठले ईमेज च्यालन टेलिभिजनको छविको ख्याल गर्दै कम्पनीलाई अघि बढाउने बताए। आफूले नेपालको कामना प्रकाशनबाट नैतिकतासहितको पत्रकारिता सिकेको उल्लेख गर्दै उनले अमेरिका र नेपालमा गरी आफ्नो साढे दुई लामो छापामाध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो ईतिहासलाई एकाकार गरेर नयाँ उचाईमा पुर्याउने अठोट व्यक्त गरेका थिए।
त्यसैगरी नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताएका थिए। समाचार तथा समाचारजन्य सामग्री सशक्त हुनुपर्ने भन्दै खरेलले टेलिभिजनलाई आजको प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका थिए।
व्यवस्थापन परिवर्तनसँगै अब छापामाध्यम पनि हामीसँग जोडिएको छ । वि.सं २०४१ साल मंसीर १५ गतेदेखि निरन्तर सञ्चालनमा रहँदै आएको नेपालको पहिलो संस्थागत प्रकाशन गृह कामना प्रकाशन गृह अब हाम्रो भगिनी संस्थाको रुपमा जोडिएको छ।
टेलिभिजन, रेडियो, अनलाइन र छापामाध्यम गरी चार वटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि नयाँ व्यवस्थापनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ २१:५२