मुस्ताङ । आसन्न दशैं पर्वलाई लक्षित गरी मुस्ताङबाट १३ हजार ५ सय ७५ वटा भेडाच्याङ्ग्रा निकासी भएको छ।
यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालयको तथ्यांकअनुसार मुस्ताङसहित कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पा गरी जिल्लाका दशैंै लक्षित भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी भएको हो ।
कार्यालयका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार मुस्ताङका कृषकहरुले पालन गरेको ६ हजार ९ सय भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी भएको हो ।
यस्तैगरी कर्णाली प्रदेशको जुम्लाबाट ७ सय ७५, मुगुबाट ५ सय र डोल्पाबाट ५ हजार ४ सय भेडाच्याङ्ग्रा निकासी भईसकेको पशुचिकित्सक डा. अर्यालले बताए । मुस्ताङबाट अझै थप १ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको पशु चिकित्सक डा. अर्यालको भनाई छ ।
गत वर्ष दशैं छेकोमा मुस्ताङबाट ९ हजार बढी भेडाच्याङ्गा निकासी भएको थियो भने तिहारसम्ममा ११ हजार ८ सय बढी भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । यसपटक कृषकको खोरमै गतवर्षको भन्दा केही बढी मूल्य परेको ब्यापारी कास्कीका भेडाच्यांग्रा ब्यापारी पूर्णबहादुरले बताए ।
यसवर्ष रोज्जा च्याङ्ग्राको ३५ हजार र माउ (च्यालु) को १३ हजार मूल्य परेको ब्यापारी रानाभाटको भनाई छ। मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदल खेदाउँदै पोखरा लगेर बिक्री गर्ने योजना रहेको उनले सुनाए। सायद पोखरामा लैजादा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताए ।
गतवर्ष मुस्ताङबाट २ सय ८६ वटा च्याङग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाईदा भएको भए पनि यसपटक देशको उत्पन्न परिस्थितिले गर्दा च्याङग्राहरु बिक्री नहुने पो हो की भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले जनाए ।
दशैका लागि जिल्ला बाहिरिने भेडाच्याङ्ग्राहरुको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोर पुगेर पशुको भेटेरिनरी परीक्षण गरिएको हो। यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राहरुको अवधि ७२ घण्टासम्मको हुनेछ । मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधि फैलिन नपाओस् भन्ने अभिप्रायले दशंैमा निकासी हुने भेडाच्याङ्ग्राहरुको शारिरीक परीक्षण गरिएको हो ।
मुस्ताङमा यसवर्ष करिव एक सय भन्दा बढी च्याङ्ग्रा व्यापारीहरु आएको अनुमान गरिएको छ। यहाँबाट खरिद गरिएका च्याङ्ग्राहरु व्यापारीहरुले पोखरा–काठमाडौ लगायतका स्थानमा लगेर बिक्री गर्ने गरेका छन् ।
कतिपय व्यापारीहरुले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदै म्याग्दी, पर्वत र बाग्लुङ लगायतका स्थानमा लगेर बिक्री गर्ने गर्छन्।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ २१:०३