काठमाडौँ । आज काग तिहार पर्व ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारको दिन आज बिहानै यमराजको दूतका रूपमा कागलाई मीठामीठा परिकार खान दिएर मनाइँदैछ।
बिहानै सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा यो पर्व मनाउनुपर्ने निर्णय गरिएको हो।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खानेकुरा खान दिई खुसी पार्ने गरिएको हो।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ। यहाँ कागको ठूलो मूर्ति बनाइएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०८२ ०८:०९