माेरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब ३ अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ।
हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो।
प्रदेश-१ को एक मात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ।
चालु आर्थिक वर्षभन्दा झण्डै १ अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिए।
चालु आवका लागि ४ अर्ब ६० करोड ८१ लाखको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ।
महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ। नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएको थियो।
पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ ११:५४