मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माध्यामिक विद्यालयले तरकारी खेती गरेको छ।
विद्यालयले छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो। 
दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरेका हुन्।
फुुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छन् । कक्षा १० सम्मको पठनपाठन हुने जनशान्ति माविमा २ सय जना भन्दा बढी विद्यार्थी छन् ।
कक्षा ४ देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ। छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक ४ हजारका दरले अनुदान उपलब्ध गराउछ ।
पुुर्व प्राथमिक कक्षादेखि तीन कक्षासम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरुका लागि अभिभावकहरुबाट न्यूनतम शूल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको विद्यालयको प्रधान अध्यापक मनबिर किसानले बताए ।
पछिल्लो समयको मूूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्नमात्र पुगेपछि विद्यालय आफैले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताए ।
तरकारी खेतीका लागि विद्यालयले वार्षिक ३० हजार तिरेर जग्गा भाडामा लिएको छ । विद्यार्थीहरुले तरकारी खेती सम्बन्धी ब्यावहारिक ज्ञान लिन पाएका छन् ।
तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकुलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना समेत गरेको छ।
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २३:२५