वरिष्ठ पत्रकार कौशल चेम्जोङ यतिवेला ‘इतिहास’ को खोजीमा जुटेका छन् । विशेष गरेर उदयपुरको प्रागऐतिहासिक कालदेखि हालसम्मको इतिहासको खोजीमा जुटेका चेम्जोङको ‘उदयपुरको इतिहास’ प्रकाशित छ । उक्त प्रकाशित पुस्तकमा प्रागऐतिहासिक कालदेखि जुन विक्रम सम्बत १९०० सम्मको इतिहास लिपिबद्ध छ ।
जुन पुस्तकको अहिले इतिहास पढ्न र जान्न चाहनेहरुका लागि उपयुक्त स्रोत बनेको छ । उनी भन्छन्-‘अब अर्काे उदयपुरको इतिहास वि.सं. १९०० देखि २००७ सालसम्म लिएर आउने तयारीमा छु । त्यसैको तयारीमा अहिले लागि परेको छु।’ चेम्जोङका अनुसार उदयपुरको इतिहास (विसं. १९०० सालदेखि २००७ साल) सम्मका उदयपुरको राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक जीवनशैलीलाई उजागर गरिएको छ। आठ अध्यायमा बर्गिकृत प्रकाशित उदयपुरको इतिहास ३ सय ८६ पेजको छ । जसमा अध्याय-१ मा उदयपुरको परिचय, उदयपुरको वास्तविक इतिहास र उदयपुरको बारेमा प्रमाणित पुरातात्विक प्रमाणहरुको समावेश छ ।

यसैगरी अध्याय-२ मा उदयपुरको प्राचीनकाल, उदयपुरको प्रागऐतिहासिककाल, तिरुवा सभ्यता, तिरुवालिपि, उदयपुरका प्राचीन थलाहरु, महाभारत, रामायण, मुन्धुम र अन्य ग्रन्थहरुमा उदयपुर, पौराणिककाल, रामायणकालीन उदयपुर, महाभारतकालीन उदयपुर, मुन्धुमकालीन उदयपुर, किरातकालीन उदयपुर, मौर्यकालीन उदयपुर, शूङकालीन उदयपुर, कुशानकालीन उदयपुर, गुप्तकालीन उदयपुर, लिच्छविकालीन उदयपुर, पाँचौंदेखि दशौं शताब्दीबीच उदयपुर, किरात देशका राजाहरु, नेपाली मुलका भारतीय शासकबारे केही चर्चा, मगध र किरातबीचको सम्बन्ध अनि राजनीतिक, सामाजिक, सांस्कृतिक, तथा आर्थिक प्रबन्धको ऐतिहासिक खोज उल्लेख गरिएको छ ।
चेम्जोङ भन्छन्, "अध्याय–३ मा मध्यकालीन उदयपुर, मध्यकालीन राजवंश र उदयपुराधिपति, तिरहुतकालीन उदयपुर, सिमरौनगढ, मुसलमानी आक्रमणबाट ध्वस्त उदयपुरका पुरातात्विकस्थल, तिरहुत राज्य पतनपछि उदयपुरको बारेमा जान्न पाइन्छ। अध्याय-४ मा सेनवंशी शासक र उदयपुर छ। अध्याय-५ मा चौदण्डी राज्य, चौदण्डी राज्यको प्रशासनिक न्याय, भू-व्यापार न्याय र सैन्य व्यवस्था, प्रमुख घटना, सैनिक अभियानको प्रारम्भ, माझकिरात अभियान लगायत खोज रहेको छ।"
यसैगरी अध्याय-६ मा आधुनिककालः नेपाल एकीकरणपछिका गतिविधि, अध्याय-७ मा उदयपुरका प्रमुख गढी र गढीको विकासको बारेमा पढ्न पाइन्छ। अध्याय-८ मा एकीकरणको बृत्तान्त कहने अभिलेख, मल्ल तथा सेनकालीन र एकीकरण सम्बन्धी अभिलेख, पूर्वका सेनवंशावलीको बारेमा खोज गरि लेखिएको छ । उक्त पुस्तकमा वर्तमान उदयपुरको गुमनाम प्रागऐतिहासिक महत्वका विषय र भग्नावशेषहरुलाई उजागर गरिएको छ।
लेखक चेम्जोङ भन्छन्- "अब आउने उदयपुरको इतिहास (वि.सं.१९०० देखि २००७ सालसम्म) मा राजा र श्री ३ महाराजको नभएर तत्कालीन उदयपुरमा बसोबास गर्ने रैतीहरुको इतिहासलाई लिपिवद्ध गरिएको छ । र, इतिहास भनेको राजामहाराजाको मात्रै हुन्छ र नेपालको इतिहास भन्नु काठमाडौं खाल्डोकेन्द्रीत इतिहास मात्रै हो भन्ने एकाङ्की बुझाइलाई चिर्न मद्दत गर्नेछ । पाँच खण्डमा विभाजित सो लेखनीमा लालगिरी, औंलोग्रस्त त्रिजुगा तलहट्टीको जनजीवन र विकास, राष्ट्रिय राजनीतिसँग उदयपुरको सम्बन्ध, सैनिक बन्दोवस्ती, जमिन्दारी र जमिन्दारी प्रणाली, बडाहाकिम जितबहादुर र ठालु सामन्त दलबहादुरबीचका झगडाका किस्सा, जुम्रेजुम्रीदेखि सती बनाउने गाउँठाउँ, वन्यजन्तुहरुसँगको संघर्ष, रोगव्याधी र ओखतीमूलो, लाहुरेभर्ती, त्यसबखत उदयपुरमा रहेका प्रथा र चलेका चलन, शिक्षा र साहित्यको अवस्था, भूमि व्यवस्था, खुइते कामीको अपुताली खाने धर्मध्वज राउतलगायतका जानकारी तथा आकर्षक विषयवस्तुहरु समेटिएका छन्।"

यसैगरी आउने पुस्तकमा हराएका जमिन्दार, तालुकदार, पटवारी र महिला जमिन्दारहरुको बारेमा खोजमूलक जानकारी समेटिएको छ भने २००७ सालको क्रान्ति, क्रान्तिको पृष्ठभूमि र क्रान्तिकारी र सहीदहरुको बारेमा जानकारी दिने प्रयास भएको छ। आर्थिक क्रियाकलाप अन्तर्गत कृषि, वाणिज्य, उद्योग र विविध क्षेत्रलाई समेटिएको देखिन्छ । कान्छीपाथी र जेठीपाथीका कथाहरु, नून खुवाएर चिनी छँदाउने चलन जस्ता शोषणका शैलीहरुलाई पनि रोचक तवरले लिपिवद्ध गरिएको छ ।
त्यसैगरी अध्याय-३ मा उदयपुरमा त्यसबखत भएका कहिले पनि बिर्सन नसक्ने घटनाहरु जस्तै ९० सालको भूइँचालो र भोकमरी, तिर्जुगाको बाढी, भवनाथको पिरलो, कटहरेको बमकाण्ड, छालावाल र सातथरेविचको लडाइँको कहानी समेटिएका छन। त्यसो त २००७ सालका क्रान्तिनायक टङ्कबहादुर उर्फ मोहनसिंह, मिलिसिया र क्रान्तिकारीहरुको भिडन्त र समर्पण, पहिलो सहीद मानबहादुर, क्रान्तिकारीहरुको गिरफ्तारी र जेलब्रेक, कब्जा र प्रत्याक्रमणका कथाहरु लिपिवद्ध भएका छन । मुक्ति सेना र क्रान्तिपछिका तिनका दिनचर्यालाई पनि नियाल्ने प्रयास भएको छ। समग्रमा उदयपुरको इतिहास (वि.सं.१९०० देखि २००७ सालसम्म) त्यसवखतका उदयपुरे अर्थात् रैतीहरुको जीवनशैली कहिएको दस्तावेज हो।
यी हुन् मोफसल लेखकका चुनौती :
उदयपुरको इतिहास भाग-२ को तयारीमा खोज अनुसन्धानमा जिल्लाका कुनाकाप्चा दौडिरहेका चेम्जोङले यसभन्दा पहिलो कृतिको रुपमा ‘भूत लघुकथा सङ्ग्रह-२०४८, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती-२०६१', ‘जीवनका रङ्गहरु कथा सङ्ग्रह-२०७०', 'उदयपुरको इतिहास २०७७ र उदयपुरको साहित्य-२०८०' बजारमा ल्याइसकेका छन्।
‘मेरो भोगाईले भन्छ- मोफसलमा हुँदा खोज अनुसन्धान, अन्वेषणदेखि अध्ययनसम्म, लेखनदेखि प्रकाशनसम्मको जिम्मेवारी आफैंले बोक्नु पर्ने अवस्था छ । राज्यले एक सुको सहयोग गर्दैन् । अझ लेखकहरु शोषणमा हुने गर्छन् प्रकाशकले पत्यार गर्दैनन् उल्टो प्रकाशन गरिदिए वापत खर्च माग्छन् । साह्रै सकस छ ।’ चेम्जोङ भन्छन्, "अचम्म लाग्दो त के छ भने यस्तो खोज अनुसन्धानमा आधारित पुस्तकहरुलाई स्याबासी दिने भन्दा एकाध स्वनामधारी डा. ले उनको विद्धताप्रति व्यङ्ग्य ठान्छन् र चियागफमा उडाउन खोज्छन्। गलत लेखेको भए यस्ता डा. (डाक्टर होइन), ले लिखित रुपमा आलोचना गर्दैनन्, समालोचनाको त कुरै टाढाको भो । यस्ता केही बकमफुसे डा. (पिएचडी) ले साह्रै आरिस गर्छन्। यस्ता आरिसेहरु मोफसलका लेखक, अनुसन्धाता र साहित्यकारहरुलाई सौता ठान्छन् यो पनि एउटै बेफ्वाँकमा आइलाग्ने चुनौती हो।"
को हुन् लेखक तथा पत्रकार चेम्जोङ ? :
जीवन पत्रकारिता क्षेत्रमा अर्पण गरेका चेम्जोङ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपाध्यक्ष भएको, प्रेस स्वतन्त्रता सेनानीको पदवी, नेपाल सरकारको तर्फबाट वरिष्ठ पत्रकारको अर्को पदवी, नेपाली पत्रकारहरुको गौरवमय पुरस्कार प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार लगायतका दर्जनौँ सरकारी तथा गैर सरकारी क्षेत्रबाट सम्मानित तथा पुरस्कृत व्यक्ति हुन् ।


उदयपुरको उदयपुरगढीमा २०२५ बैशाख ५ गते जन्मिएका स्वर्गीय पिता सर्वजित लिम्बू र माता भीमकुमारी लिम्बूको साहिँलो सन्तानको रुपमा जन्मेका लिम्बू त्रियुगा नगरपालिका-१२ गाईघाट निवासी हुन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरका संस्थापक सदस्यसमेत रहेका चेम्जोङ हक्की र निडर पत्रकारको परिचय बनाउन सफल भएका छन् । उमेरले झण्डै आधा शताब्दी काटे पनि जोसिलो स्वर र फुर्तिलो शरीर भएका एउटा हक्की र निडर स्वभावका पत्रकार तथा लेखक कौशल चेम्जोङको परिचय हो । उनको जिन्दगी फरक पाटोबाट कोरिएको मान्न सकिन्छ। चेम्जोङको पूरै जिन्दगी पत्रकारिता क्षेत्रमा बितेको छ ।
जुन चेम्जोङको पत्रकारिताको उकाली-ओराली रोचक लाग्दो मात्र छैन, पत्रकारितामा आउने नयाँ पुस्ताका लागि प्रेरणादायी स्रोत बन्ने गरेको छ। चेतनाले जीवनको गोरेटो खोज्न थालेपछि पत्रकारिता सुरु गरेका चेम्जोङले अहिले पनि कलम चलाउन छाडेका छैनन्। ‘जीन्दगी नै मेरो कलम हो,’ उनी भन्छन्, ‘मेरो कलमको यात्रा मेरो जीन्दगीको यात्रा चलुञ्जेल चलिरहन्छ ।’ सामन्त, दलाल, घुसखोरी, भ्रष्टाचारविरुद्ध उनको कलम अहिले पनि उत्तिकै जारी छ। पञ्चायती व्यवस्थाको विरुद्ध सुरु गरेको मेरो पत्रकारिता अहिले गणतन्त्र नेपालमा पनि जारी छ,’ उनले नामी साप्ताहिकसँग कुरा गर्दै भने।

जनआस्था साप्ताहिक र रेडियो त्रियुगामा आवद्ध चेम्जोङ अहिले सुशासन, समृद्धि, समाज रुपान्तरणको पक्षमा लेखिरहेका हुन्छन्। उनी भन्छन्, ‘पत्रकारिता कुनै जात, धर्म, लिङ्ग, समुदाय, राजनीतिक पार्टीको हुँदैन, पत्रकारिताको जात धर्म लिङ्ग नै पत्रकार हो।’
चेम्जोङकै सक्रियतामा २०४८ सालमा पहिलो पटक उदयपुरमा ऋतुवर्ण पराजुलीको नेतृत्वमा उनी उपाध्यक्ष रहेर पत्रकार महासंघ शाखा उदयपुर गठन भएको थियो । अहिले एक सयभन्दा बढी व्यावसायी पत्रकारहरु आवद्ध छन् । उनी भन्छन्,‘पत्रकारितामा सन्तुष्ट मात्र होइन गर्व गर्छु र गर्व लाग्छ।’
२०५५ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका चेम्जोङसँग स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा पनि सम्पादक र रिर्पोटर भएर काम गरेको अनुभव छ ।
याे पनि :
नामी साप्ताहिक