Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, असार १५, २०८३

नेपालमा ‘परिवर्तन’ शब्द यति धेरै पटक प्रयोग र प्रचार गरियो कि...आज यो शब्द आफैंमा शंकाको विषय बनेको छ। हरेक नयाँ सरकार परिवर्तनको नारा लिएर आउँछ । हरेक नयाँ नेतृत्वले विगतका असफलताबाट पाठ सिकेको दाबी गर्छ । हरेक चुनावमा नागरिक फेरि एकपटक आशावादी बन्छन् । तर दुर्भाग्य, नेपालका अधिकांश राजनीतिक अनुभवहरूले देखाएको तथ्य के हो भने जनताले पालेको आशा प्रायः सत्ताको गल्छीमा पुगेर हराउने गरेको छ ।

यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकार गठन भएको सय दिन पूरा भएको छ । सय दिन कुनै सरकारको पूर्ण मूल्याङ्कन गर्ने पर्याप्त समय होइन । तर सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने संकेत बुझ्न भने सय दिन पर्याप्त हुन्छन् । त्यसैले प्रश्न परिणामको मात्र होइन, दिशाको पनि हो ।

सरकारले गठनसँगै सार्वजनिक गरेको १०० बुँदे कार्यक्रमले व्यापक चर्चा पायो । भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, डिजिटल सुशासन, अर्थतन्त्र, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलगायतका विषयलाई प्राथमिकतामा राखिएको थियो । सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म यसलाई साहसी घोषणापत्रका रूपमा प्रस्तुत गरियो । तर नेपालमा साहसी घोषणाको कहिल्यै अभाव थिएन । अभाव सधैं कार्यान्वयनको छ । विगतका सरकारले पनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएका थिए । प्रशासन सुधारका योजना ल्याएका थिए । डिजिटल नेपालको सपना देखाएका थिए ।

त्यसैले प्रश्न कार्यक्रमको आकर्षण होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति हो। नेपालको प्रशासनिक संरचना केवल कर्मचारीहरूको समूह मात्र होइन । दशकौँदेखि विकसित भएको एउटा शक्तिशाली संस्थागत संस्कृति पनि हो । सरकारहरू परिवर्तन भइरहन्छन् । तर प्रशासनिक संयन्त्र स्थायी रहन्छ । यही कारण धेरै राजनीतिक नेतृत्वहरू परिवर्तनको वाचा गर्दै सत्तामा पुगे पनि अन्ततः यही संरचनामा समाहित भएका उदाहरण प्रशस्त छन् ।

बालेन सरकारले पनि यही संयन्त्रलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता जनाएको थियो । तर सय दिनको अवधिमा आम नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी के परिवर्तन आयो ? के सरकारी कार्यालयमा सेवाग्राहीको दुःख कम भएको छ ? के बिचौलियाको प्रभाव घटेको छ? छैन । बरु नयाँ विचौलिया खडा भएका छन् । के कुनै प्रमुख प्रशासनिक सुधार लागू भएको छ ? के नागरिकले राज्यप्रति नयाँ भरोसा गर्न सक्ने आधार बनेको छ ? यी प्रश्नहरूको उत्तर खोज्दा स्पष्ट उपलब्धि देखिँदैन । सुधारका केही प्रारम्भिक प्रयासहरू भए पनि तिनले प्रणालीगत परिवर्तनको संकेत दिएका छैनन् । प्रशासनिक सुधारको वास्तविक परीक्षा नीतिगत घोषणाले होइन । सेवा प्रवाहको अनुभवले दिन्छ । त्यो अनुभवमा उल्लेखनीय परिवर्तन अझै देखिएको छैन ।

सरकारप्रतिको अपेक्षा र यथार्थ

यो सरकारको सबैभन्दा लोकप्रिय नारा भ्रष्टाचारविरोधी अभियान थियो । तर, यही सरकार गठन भएदेखि विभिन्न काण्डमा मुछिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग जोडिएको– बिवाईडी गाडी प्रकरण हेरौँ । मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको विवरण सम्झनु पर्छ । कुरो प्रष्ट छ ।

विशेषगरी २०४८ साल यताका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने घोषणा चर्चाको केन्द्र बन्यो । काम पनि सुरु भयो । तर, आप्mनालाई काखा र विरोधीलाई पाखा लगाउने हतियार सरकारले बनाउँदै छ । घोषणा र कार्यान्वयनबीचको दूरी फेरि एकपटक देखिन थालेको छ । सम्पत्ति छानबिनको विषय संस्थागत प्रक्रियामा रूपान्तरण हुन सकेको छैन । केही उच्च पदस्थ व्यक्तिहरूले नै त्यसलाई चुनौती दिएको अवस्था छ । अर्कोतर्फ सरकारका केही मन्त्रीहरू विभिन्न आर्थिक विवाद र आरोपहरूको घेरामा पर्न थालेका छन् । नेपालमा भ्रष्टाचार केवल व्यक्तिगत चरित्रको समस्या होइन, यो संरचनागत समस्या हो ।

राजनीतिक संरक्षण, प्रशासनिक मिलेमतो, कमजोर अनुसन्धान संयन्त्र र दण्डहीनताको संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाएको छ । यस्तो अवस्थामा भ्रष्टाचारविरोधी अभियान भाषण र नारामा सीमित भयो भने त्यो राजनीतिक प्रदर्शनभन्दा बढी केही हुँदैन । जेनजी आन्दोलनको क्रमा गत भदौ २४ गतेको घटनालाई हेरौँ । जेनजी आन्दोलनपछि शुसिला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्कीको प्रतिवेदनमाथि छानिविन सुरु गरेको सरकार अहिले मौन छ । राष्ट्रिय मानव अधिकार आयोगले दोषी देखाएकाहरु नै सरकारमा छन् । तिनको छानविन खोइ ? समग्रमा भन्नुपर्दा, हिजोका सरकारसँग जवाफदेहीता खोज्दै बनेको बालेन सरकार, आज जवाफ नै नदिने बनेको छ । 

परिवर्तनको सबैभन्दा ठूलो परीक्षा

नेपालको सबैभन्दा ठूलो संकट आज पनि युवाको पलायन नै हो । लाखौँ युवा रोजगारी, अवसर र भविष्यको खोजीमा देश छोडिरहेका छन् । चुनावका बेला यही विषयलाई प्रमुख एजेन्डा बनाइएको थियो । तर सय दिनको अवधिमा युवालाई देशमै अवसर देखाउने कुनै ठोस संरचनागत पहल देखिएको छैन । वैदेशिक रोजगार विभागका तथ्याङ्कहरू अझै उच्च संख्यामा श्रम स्वीकृति लिइरहेका युवाहरूको चित्र देखाउँछन् । उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र लगानी विस्तारका क्षेत्रमा उल्लेखनीय हस्तक्षेप देखिएको छैन ।

युवालाई देशमै रोक्ने कुरा केवल भावनात्मक राष्ट्रवादले सम्भव हुँदैन । त्यसका लागि रोजगारी, सम्मानजनक आम्दानी, गुणस्तरीय शिक्षा र भविष्यप्रतिको भरोसा आवश्यक हुन्छ । सरकारको सफलता वा असफलताको वास्तविक मापन यही क्षेत्रमा हुनेछ । त्यसफर्त सरकारको नजर पुगेको देखिँदैन ।

अवैज्ञानिक सुकुम्बासी व्यवस्थापन

सुकुम्बासी बस्तीमाथिको सरकारी कारबाहीले व्यापक बहस जन्मायो । अव्यवस्थित बसोबास र सार्वजनिक सम्पत्तिको संरक्षण राज्यको दायित्व हो । तर त्यसको समाधान केवल डोजर चलाउनु मात्र होइन । नेपालमा भूमिहीनता आर्थिक, सामाजिक र ऐतिहासिक समस्यासँग जोडिएको विषय हो । त्यसैले यसको समाधान मानवीय र वैज्ञानिक हुनुपर्छ । व्यवस्थापनबिना विस्थापनले समस्या समाधान गर्दैन, बरु नयाँ सामाजिक तनाव सिर्जना गर्छ । अहिले त्यही भइरहेको देखिन्छ । अहिले फेरि हाेल्डिङ सेन्टरबाट सुकुम्बासी लखेट्ने चर्चा छ । कति न्यायाेचित हाेला ।

जनताको वास्तविक प्रश्न

केही समय अघि मात्र प्रधानमन्त्री बालेनले संसदमा झुट बोलेका थिए । त्यो नेपालले भारतको जग्गा मिचेको कुरा । अहिलेसम्म जनताले प्रमाणसहितको बालेनको बोली सुन्न पाएका छैनन् । यता राजनीतिक बहसमा डिजिटल सुशासन, प्रशासनिक सुधार र संस्थागत पुनर्संरचनाको चर्चा धेरै हुन्छ । तर आम जनातको जीवनमा सबैभन्दा ठूलो प्रश्न महँगी र रोजगारी नै हो । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च छ । इन्धनको भार कायमै छ । साना व्यवसायीहरू वित्तीय दबाबमा छन् । उद्योगीहरू नयाँ लगानीमा सतर्क देखिन्छन् । मध्यमवर्गीय परिवारको आर्थिक तनाव कम भएको छैन। यता साना लगानीका निजी मिडियाबाट खोसिएको सरकारी विज्ञापनले रोजगारीको क्षेत्र खुम्चाउँदै छ। 

त्यसमा पनि सरकार नाजवाफ छ । सरकारले थपेको सार्वजनिक बिदाको समस्या अर्काे थप छ । सरकारले यी समस्या तत्काल समाधान गर्न सक्दैन भन्ने कुरा सत्य हो । सरकार गठनको सय दिन पुग्दा आशाभन्दा निराशा धेरै जन्माएको देखिन्छ । तर जनताले अनुभव गर्न सक्ने कुनै राहत, कुनै स्पष्ट आर्थिक दिशा वा कुनै भरोसाको संकेत खोजिरहेका छन् । तर, सरकार निरंकुशको बाटोमा देखिन्छ । 

अब के गर्नुपर्छ ?

सय दिनको समीक्षा गर्दा सरकारलाई पूर्ण रूपमा असफल घोषणा गर्नु हतार हुनेछ । तर सबै कुरा ठीक भइरहेको छ भन्नु पनि वास्तविकताबाट भाग्नु हुनेछ । अहिले आवश्यक कुरा प्रशंसा वा निन्दा होइन, सुधारको स्पष्ट मार्ग हो । सरकारले आगामी दिनमा केही क्षेत्रमा प्राथमिकता दिन आवश्यक देखिन्छ ।

पहिलो, भ्रष्टाचारविरोधी अभियानलाई नारा होइन, संस्थागत प्रक्रियामा रूपान्तरण गर्नुपर्छ । सम्पत्ति छानबिन, सार्वजनिक खरिद, कर प्रशासन र अनुसन्धान निकायलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्छ । दोस्रो, प्रशासनिक सुधारलाई प्रत्यक्ष सेवा प्रवाहसँग जोड्नुपर्छ । जनताले महसुस गर्ने सुधार नै सबैभन्दा प्रभावकारी सुधार हुन्छ । 

तेस्रो, युवाको पलायन रोक्ने दीर्घकालीन आर्थिक योजना सार्वजनिक गर्नुपर्छ । रोजगारी, उद्यमशीलता र उत्पादनमूलक लगानीलाई केन्द्रमा राख्नुपर्छ । चौथो, सुकुम्बासी र भूमिहीनताको प्रश्नलाई केवल कानुनी दृष्टिकोणबाट होइन, सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्नुपर्छ । पाँचौँ, सरकारभित्र आलोचनालाई स्वीकार गर्ने राजनीतिक संस्कृतिको विकास हुनुपर्छ । छैठौँ लोकतन्त्रको सम्मान गर्न सक्नुपर्छ । प्रधानमन्त्री बालेनले मुखमा लगाम लगाउनु पर्छ । मन्त्रीहरुको गुण्डागर्दी बोली रोकिनुपर्छ । लोकप्रियता जोगाउनभन्दा विश्वास जोगाउन कठिन हुन्छ । 

अन्तिम कुरा

आशाको सम्मान भनेको अन्धो समर्थन गर्नु होइन । आशाको सम्मान भनेको कठोर प्रश्न सोध्नु हो । जवाफदेहिता माग्नु हो । र सरकारलाई सही दिशामा अघि बढ्न दबाब दिनु हो । लोकतान्त्रिक विधि र मुल्यमान्यता पनि हुन् । बालेन सरकारसँग अझै समय छ । जनसमर्थन पनि छ। सम्भावना पनि बाँकी छ । तर इतिहासले केवल घोषणाहरू सम्झँदैन, परिणाम सम्झन्छ ।

घोषणाको साहस सरकारको पहिलो परीक्षा थियो । कार्यान्वयनको साहस दोस्रो परीक्षा हो । अब सरकार यही दोस्रो परीक्षाको मैदानमा छ । नेपालका जनताले बारम्बार निराशा भोगे पनि आशा त्यागेका छैनन् । त्यो आशा कुनै सरकारको राजनीतिक पूँजी मात्र होइन, राष्ट्रिय सम्पत्ति हो । त्यसको सम्मान गर्ने सबैभन्दा राम्रो उपाय भाषण होइन, परिणाम हो । घडी चलिरहेको छ । इतिहास हेरिरहेको छ। जनता प्रतीक्षामा छन् । अब प्रश्न एउटै छ–बालेन सरकार नयाँ अनुहार मात्र हो, कि साँच्चिकै नयाँ अभ्यासको सुरुवात ? नयाँ खेलको सुरुवात हो ?


 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्