काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नेतृत्व र संगठनमा एउटा पुस्तागत दृश्य बदल्दैछ। वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म ३५ वर्षमुनिका करिब ३५ हजार युवा प्रवेश गर्ने भएपछि यसपटकको महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयनको नियमित प्रक्रिया मात्र नभई नयाँ पुस्तालाई संगठनको मूलधारमा जोड्ने महत्वपूर्ण अवसर बनेको छ ।
वर्षौँदेखि राजनीतिक दलमा पुस्तान्तरणको बहस चल्दै आए पनि त्यसलाई विधानमै बाँधेर व्यवहारमा उतार्ने प्रयास कांग्रेसले यसपटक गरेको हो। युवालाई केवल चुनावी अभियानमा परिचालन गर्ने होइन, पार्टीका विभिन्न तहका कार्यसमितिमा जिम्मेवारीसहित सहभागी गराउने व्यवस्था गरिएको छ।
यही कारण १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनमा नयाँ पुस्ताको उपस्थितिको दृष्टिले महत्वपूर्ण मानिएको छ । महाधिवेशनअघि वडा, स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भइरहेका छन् । यी अधिवेशनबाटै ठूलो संख्यामा युवा पार्टी संरचनामा आउनेछन् ।
कांग्रेसको विधानअनुसार प्रत्येक वडाबाट ३५ वर्षमुनिका एक महिलासहित तीन जना युवा क्षेत्रीय प्रतिनिधि बन्ने व्यवस्था। वडा कार्यसमितिमा पनि कम्तीमा एक जना युवा अनिवार्य गरिएको छ । देशभरका ६ हजार ७४३ वडालाई आधार मान्दा वडा तहबाट मात्रै न्यूनतम २६ हजार ९७२ युवा पार्टी संरचनामा जोडिनेछन् ।
नगर, उपमहानगर र महानगरपालिकाका वडामा थप युवा सहभागी हुने व्यवस्था छ । २५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडामा थप एक जना युवा क्षेत्रीय प्रतिनिधि बन्न पाउने प्रावधानले युवाको संख्या अझ बढाउनेछ ।
गाउँपालिका कार्यसमितिमा एक महिलासहित तीन, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कार्यसमितिमा पनि एक महिलासहित तीन युवा रहने व्यवस्था गरिएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा एक तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा एक महिलासहित दुई युवा अनिवार्य हुनेछन् ।
यसअनुसार ४६० गाउँपालिका कार्यसमितिमा एक हजार ३८०, २७६ नगरपालिका कार्यसमितिमा ८२८, ११ उपमहानगरपालिकामा ३३ र ६ महानगरपालिकामा १८ युवा सहभागी हुनेछन् । ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमिति र १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा समेत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
महाधिवेशन प्रतिनिधिको तहमा पनि युवाको स्थान सुरक्षित गरिएको छ । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाका दरले ४९५ युवा महाधिवेशन प्रतिनिधि बन्नेछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट एक युवा महासमिति सदस्य हुने व्यवस्था पनि गरिएको छ।
जिल्ला कार्यसमितिमा ३५ वर्षमुनिका एक महिलासहित तीन जना युवा प्रत्यक्ष निर्वाचित हुनेछन्। यसबाट ७७ जिल्लामा २३१ युवा जिल्ला नेतृत्वमा आउनेछन् । सातवटै प्रदेश कार्यसमितिमा दुई महिलासहित सात युवा रहने भएकाले प्रदेश तहमा ४९ युवाको सहभागिता सुनिश्चित हुनेछ।
केन्द्रीय तहमा समेत युवाका लागि छुट्टै स्थान सुरक्षित गरिएको छ । ३५ वर्षमुनिका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यी तथ्यांकले एउटा कुरा स्पष्ट गर्छन्–कांग्रेसले यसपटक युवालाई अधिवेशनको भीडका रूपमा मात्र होइन, संगठनको जिम्मेवार हिस्साका रूपमा स्वीकार गरेको छ।
कांग्रेसभित्र अहिले चार पुस्ताको उपस्थिति छ । पुरानो पुस्तासँग राजनीतिक संघर्ष र संगठनको अनुभव छ। मध्यम पुस्तासँग संगठन सञ्चालनको अभ्यास छ । नयाँ पुस्तासँग प्रविधि, बदलिँदो समाज र नयाँ राजनीतिक अपेक्षासँग जोडिएको अनुभव छ। यी सबै पुस्ताबीचको समन्वय नै पार्टीको आगामी यात्राका लागि महत्वपूर्ण हुनेछ ।
युवा सहभागिताको वैधानिक व्यवस्था आफैँमा अन्तिम उपलब्धि भने होइन। कोटाबाट संरचनामा पुगेका युवाले निर्णय प्रक्रियामा कति प्रभाव पार्छन्, नीति निर्माणमा कति सक्रिय हुन्छन् र संगठनलाई नयाँ पुस्तासँग कति जोड्न सक्छन् भन्ने प्रश्न अब महत्वपूर्ण हुनेछ।
युवाले पनि अवसरलाई पदका रूपमा मात्र होइन, जिम्मेवारीका रूपमा लिनुपर्नेछ । पुरानो पुस्ताको अनुभवबाट सिक्दै नयाँ विचार, प्रविधि र बदलिँदो सामाजिक अपेक्षालाई पार्टीभित्र प्रवेश गराउन सके युवा सहभागिता अर्थपूर्ण बन्न सक्छ । यस अर्थमा १५औँ महाधिवेशन कांग्रेसका लागि एउटा पुस्तागत प्रयोग पनि हो ।
करिब ३५ हजार युवालाई संरचनामा प्रवेश गराउने व्यवस्थाले कांग्रेसको आगामी नेतृत्व र संगठनको स्वरूपमा नयाँ पुस्ताको प्रभाव बढाउने आधार तयार गरेको छ । राजनीतिमा पुस्तान्तरण भाषणमा होइन, जिम्मेवारी हस्तान्तरणमा देखिन्छ ।
कांग्रेसले विधानमार्फत त्यसको सुरुवात गरेको छ । अब त्यसलाई परिणाममा बदल्ने पालो नयाँ पुस्ताको हो । कांग्रेसको नयाँ यात्रामा अब युवा केवल दर्शक होइनन्, संरचनाकै हिस्सेदार बनेका छन् ।