सपना तुहिएर
विपना गुमे पछि
मान्छे विशृङ्खलित बन्छ
अध्याँरो भविष्यको लेखाजोखा नगरी
उज्यालो प्राप्तिको आकाङ्क्षा दमित बनाएर
वर्तमानमै रुमल्लिन्छ मान्छे ।
मान्छेको भविष्य अज्ञात भएपनि
मृत्युञ्जयी गीत गाउँदै
मृत्युलाई धक्का दिन सक्छ त मान्छे ?
हो यही अनुत्तरित प्रश्नले
मेरो दिमाग रिङ्गाइ रहेछ
के मृत्युको मृत्यु संभव छ ?
चाहेर बाँच्न सक्दैन मान्छे
चाहेर मर्न सक्दैन मान्छे (आत्महत्या बाहेक)
संभावित मृत्यु बोकेर
जीवनको यात्रामा दौडिरहेछ मान्छे
म मृत्युलाई प्रश्न गर्छु
अवोध बालबालिका तेरो निशानामा पर्छन किन ?
भविष्यको मिठो सपना देख्दै नदेखी
वर्तमानमा तिक्त जिन्दगी जिइ रहेछ मान्छे
भूतको पश्चातापीय कर्मले तर्पदै
मान्छे स्मरण गर्छ मृत्यु संगको मुकाबिला
अक्सर मान्छे आफ्नो औकात बिर्सन्छ
र अरुलाई नङ्ग्याउने कुचेष्टा गर्छ ।
अरुलाई नङ्ग्याउने प्रपञ्चमा
आफै नङ्गिन्छ मान्छे
अरुको मृत्युमा हर्ष प्रकट गर्ने छुद्री मान्छे
आफ्नै मृत्यु संग डराउँछ किन ?
म चाहान्न मेरो मृत्यु
मृत्यु अवश्यम्भावी भए पनि ।
मान्छे मान्छेत्व गुमाउँछ
दानवीयता प्रकट गर्दै
स्वार्थले निर्लिप्त हुन्छ
दम्भ देखाएर
घमण्डको भर्याङ्ग चढ्छ
र विर्सन्छ आफ्नै मृत्यु ।
रोक्नु हुँदैन पाइतालाका गति
छेक्नु हुँदैन आँखाका ज्योति
चलाइ रहनुपर्छ कर्मशील हातहरु
बाल्नुपर्छ सिर्जनाका दीपहरु
हार खानु हुँदैन मान्छेले
मृत्युले लघार्दा पनि ।
म प्रार्थना गरि रहेछु
अकालमै नआओस् मृत्यु
नखोशियोस खुसी
मान्छे हाँसि रहुन
म अजम्बरी छैन
मर्ने छु कुनै दिन ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ, मो नं. ९८४२०७३५२५, [email protected]
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १२:४३