मलेसिया । साहित्यको वाद,दर्शन र सिद्धान्त भन्दा फरक लेखनमा जोड दिने अनि कला–संस्कृति, जाति, धर्म, विश्वास, मान्यता, चिन्तन, भुगोल र समान स्नेह विचार राख्न मन पराउने । कल्पनाशक्ति र विश्लेषणात्मक शक्तिको भरपुर प्रयासबाट साहित्यलाई हेर्ने युवा गजलकार तथा गायक हुन् विमल भेट्वाल ।
झापा जिल्ला साविक शिवगञ्ज गा.वि.स वडा नं. ३ हवल्दार चौंक हाल कन्काई नगरपालिका वडा नं ३ नयाँबस्ती सुरूङ्गा झापा निवासी युवा गजलकार विमल भेट्वालले शिवगञ्जको श्री नव–किरण विद्या मन्दिर वोर्डिङ् स्कूलबाट एस.एल.सी उतिर्ण गरेका हुन् । दमकको मोडल कलेजबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेर विर्तामोडको (कोहेड) कलेजमा व्याचलरसम्मको अध्ययन सकेर वैदेशिक रोजगारीको यात्रा तय गरेका थिए ।
सानोमा अत्यन्तै सरल र सोझो स्वभावका विमल गाउँमा हुने भजन कृतन मण्डलीको पछि लाग्ने र रातभर भजन सुन्न र गाउन औधी रुचि राख्दथे । उनको त्यो रुचि देखेर बुबा चन्द्रप्रसाद भेट्वालले उनलाई हार्माेनियम किनेर ल्याई दिनु भएको थियो । त्यसपछि त उनले संगीतमा उधुम नै मच्चाउन थाले । गाउँघरमा हुने हरेक कार्यक्रम र स्कूलमा हुने सबै कार्यक्रमहरूमा भाग लिन थाले ।
यसै सन्दर्भमा स्कूलमा हुने सांगीतिक कार्यक्रममा भाग लिने सन्दर्भमा उनको सहपाठी विमला मैनालीसँग भेट भयो। विमलासँग उनको सांगीतिक जोडी बलियो तवरले बाँधियो । ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो । नारायण गोपाल र तारादेवीको स्वरमा रहेको रत्नशमशेर थापाको उक्त गीत गाईसकेपछि उनै दुई सहपाठी स्टेजबाट तल झर्दै गर्दा तालीको गड्गडाहटसँगै दर्शक दिर्घाबाट अत्यन्तै स्यावासी पाए ।
उनै सांगीतिक जोडीले एक दिन श्री जन आदर्श मा.वि शिवगञ्जको कार्यक्रममा सामेल भए । त्यहाँ यो लेखक दिपक विवश आँँशु र दिपक उदास नयनको सांगीतिक टोली थियो र त्यही टोलीसँग भेट भएपछि विमलको जमघट उनै टोलीसँग कालान्तरसम्म रह्यो। पछि दिपक विवश आँशुको नेतृत्वमा एउटा सांगीतिक समूह श्री सुनगाभा प्रतिभा मञ्चको गठन भयो । उक्त मञ्चबाट जिल्लाभरि र जिल्ला बाहिर अनेकन सांगीतिक कार्यक्रमहरूमा सामेल हुँदै गयो।

यसै बीच उनले नेपाली गजल र रूवाईको अध्ययन गर्न थाले । त्यसो त गजल लेखनमा यो लेखक दिपक विवश आँशुको साथ सहयोग र सल्लाह भने अनवरत रूपमा पाउने गर्दथे । उनै आँशुलाई उनले लेखेको कैयौं गजल लेख्दा लेख्दै देखाउँथे । उनको गजलको पहिलो श्रोता आँशु नै हुने गर्दथे ।
उनको तारिफ र गाली दुबै पाउँदा विमल दङ्ग हुने गर्दथे । विमलले कसैलाई खुशी र दु:खी पार्न गजल लेख्दैन थिए । आत्म सन्तुष्टिको लागि उनले कयौं रचनाहरू रच्ने गर्दथे । गजल होस् वा रूवाई उनले लेखेका हरेक शेर र पंक्तिहरूलाई शब्द-शब्दमा भाव व्यक्त गर्न माहिर उनको गजल सुनेर कैयौ पटक स्जेटबाट उनलाई अंकमाल गर्दै मायालु भाव व्यक्त नगर्ने सायदै थिए। आँखा बन्द गरेर मनमा खेलेका अनेकौं भावलाई गजलमा उतार्ने उनको तारिफ योग्य केही गजल र रूवाईहरू यहाँ पस्कन मन लाग्यो ।
गजल र रूवाईहरू : –
संगीतको औपचारिक शिक्षा उनले झापा दमकमा अध्ययन गर्दा लिएका थिए । उनले गायक तथा संगीतकार नन्दी किशोर सिवाकोटीको संगतले संगीतको शिक्षा लिएको बताउँछन् । आधुनिक र गजल गायनमा पोख्त विमल आफ्नै रचना र संगीतमा कैयौं गजलहरू सृजना गरेका छन् । दुःखको कुरा त यहाँ छ, उनी जस्तो प्रतिभा हालसम्म सधै ओझेलमा परेका छन्। उनलाई कयौं प्रस्ताव आएपनि उनले आफ्नो सृजनाहरू बजारमा ल्याउन कुनै मन दिएका छैनन् । आशा गरौं उनका सृजनाहरू मुर्त बनाउन फेरि तपाईं–हामीले एकपटक प्रयास गर्ने पो हो कि ?
प्रस्तुत छ–विमल भेट्वाल ’उदाश’ का केही गजल तथा रुवाईहरु ।
गजल →(१)
विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो !
बेहोशीमा विताएको अन्धकार त्यो रातै मीठो ।
मेरा कुनै साँझहरू मात्तिएको बखतमा !
गाली गर्छ कोही भने गाली को त्यो बातै मिठो ।
नवीन संसार रचिदिन्छ छिन् भर मै लिएपछि ।
यस्तो अजीव चिज दिने साहुनीको त्यो हातै मीठो ।
निष्कर्षमा जिन्दगीको बिछ्यौना त माटो नै हो ।
मरेपछि माया गर्ने मानिसको त्यो जातै मिठो ।।
गजल →(२)
पिरतीको चोट पनि काट्दो रहेछ रक्सीले नै ।
मृत्यु सँग जीवन पनि साट्दो रहेछ रक्सीले नै
आफ्नो भन्दा उसकै माया धेरै गर्दा एक्लो बने
एक्लो जीवन जीउन पनि, आँट्दो रहेछ रक्सीले नै
मन भित्रका ब्यथाहरू हजारौं नै भए पनि
पिउँदा ब्यथा छैन जस्तो, ढाट्दो रहेछ रक्सीले नै
बेचैन र दुःखी जीवन जीउनु पर्ने भए पछि
लाज र डरको पर्दा पनि फाट्दो रहेछ रक्सीले नै
गजल →(३)
अँधेरीमा मुस्कुराउने दुखी त्यो जुन होला !
आश्वासनको माया दियौ सम्झि पछि रुन होला ।
सपनीमा सङ्गीतको रागमा गाउने गीतहरु !
विपनीमा विरहको रूखो–रूखो धुन होला ।
हाम्रो प्रीत नबनोस है बिहानीको सित प्रिय !
तिम्रो माया हिरा, मोति, सुन,चाँदी कुन होला ।
चाखी हेर्न नपाइने तिम्रो मनमा कुन्नी के छ
मेरो मनमा तिमी बाच्ने निस्पापको खुन होला
सुसाएर पानी बग्दा मुस्कुराउँछ किनार पनि
आँखीर पानी बगी जान्छ किनार एक्लै हुन होला
༺ रुवाई ༻
के लेखुम हजुर रेगीस्तानले सुख दिलाएका कुरा
नुनिलो पसीना पसेर सधैं आँखा चिलाएको कुरा
घरको दुख सम्झिएर परदेशिएको एक युवक
बाकसमा लास, रगत बालुवामा बिलाएका कुरा
༺रुवाई ༻
मलाई घाम र जुन उस्तै लाग्छ
उज्याली उनी र सुन उस्तै लाग्छ
उनी भन्छिन् म त तल्लो जात रे
तर उनको र मेरो खुन उस्तै लाग्छ
༺ रुवाई ༻
यो मन दुख्दा लगाउने मलम बनोस् तिम्रो माया
लैला मजनु कथा लेख्ने कलम बनोस् तिम्रो माया
मलाई कतै ठेस लागे तिमी, मैले समाउने हात हुनु
जस्तै दुख पर्दा पनि नटुट्ने फलाम बनोस् तिम्रो माया
नामी साप्ताहिक