काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ।
जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो।
नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। उनले ३३ बल खेल्ने क्रममा १ छक्का र ४ चौका हानिन्।
यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन्। उनले ३८ बल खेल्दै १ छक्का र १ चौका प्रहार गरिन् भने कविता कुँवरले ४ रन जोडिन्। बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन्।
मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो।
हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्। उनले ३१ बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन्। यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन्।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले २/२ तथा कविता जोशी र सीता रानामगरले १/१ विकेट लिइन्। नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन्।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १०:४५