Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विदुर कटुवाल
विदुर कटुवाल बिहीबार, असार ४, २०८३

काठमाडौं । अहिले विश्वको फुटबलमय बनेको छ । विश्वकप फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेलकुद प्रतियोगिता पनि हो । हाल फिफा विश्वकप २०२६ जारी छ । चार/चार वर्षमा एकपटक आयोजना हुने यो प्रतियोगिताले पृथ्वीका लगभग सबै देशका मानिसलाई कुनै न कुनै रूपमा जोड्ने काम गरिरहेको छ । 

फुटबल मैदानमा गोल हुँदा वा आफ्नो टोली विजयी हुँदा उत्पन्न हुने खुसी कुनै एक राष्ट्र, भाषा वा संस्कृतिमा सीमित छैन् । त्यसैले विश्वकपलाई केवल खेल प्रतियोगिता मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सवका रूपमा लिने गरिन्छ ।  तर सन् २०२६ को फिफा विश्वकपभित्र गम्भीर प्रश्न उठेका छन् । के विश्वकप अझै पनि जनताको खेल उत्सव हो ? वा यो बहुराष्ट्रिय कम्पनीहरू, ठूला प्रायोजकहरू र राजनीतिक शक्तिहरूको नाफा तथा प्रभाव विस्तार गर्ने माध्यम हो ? 

क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा संयुक्त रूपमा आयोजना भइरहेको विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो र सबैभन्दा धेरै आम्दानी गर्ने प्रतियोगिता बन्ने अनुमान जानकारहरुको छ । फिफाले यसबाट १४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने प्रक्षेपण छ । तर यो आम्दानी कसको मूल्यमा सम्भव भइरहेको छ भन्ने प्रश्न अहिले विश्वभरका खेलप्रेमीहरूबीच बहसको विषय बनेको छ ।

जनताको खेल कि धनीहरूको मनोरञ्जन ?

फुटबललाई लामो समयदेखि ‘जनताको खेल’ भनिँदै आइएको छ । यसको लोकप्रियताको कारण महँगा उपकरण वा विशेष पूर्वाधारको आवश्यकता नपर्नु हो । एउटा सामान्य बल र खुला मैदान भए पुग्छ । संसारका झुपडपट्टीदेखि गाउँका चौरसम्म, विद्यालयदेखि श्रमिक बस्तीसम्म फुटबल खेलिन्छ ।

तर आज विश्वकप प्रत्यक्ष हेर्न चाहने अधिकांश समर्थकहरूका लागि त्यो सपना लगभग असम्भव बन्दै गएको छ । प्रतियोगिताका टिकट मूल्यहरूले विश्वकपलाई सामान्य समर्थकको पहुँचभन्दा टाढा पु¥याइदिएको छ । हजारौँ डलर खर्च गर्न सक्ने धनी वर्ग, कर्पोरेट अतिथि र व्यावसायिक साझेदारहरूका लागि मात्र स्टेडियमका ढोका खुला जस्तो देखिन्छ । एउटा सामान्य आर्थिक अवस्था भएको फुटबलप्रेमीको लागि स्टेडियमको ढोका नै बन्द छ ।

खेल हेर्न मैदानमा पुगेका दर्शकहरूको स्वरूप नै परिवर्तन हुँदै गएको छ । खेलप्रतिको भावनात्मक लगावभन्दा पनि व्यापारिक सम्बन्ध र कर्पोरेट आतिथ्यले स्थान लिन थालेको छ । यसले खेल मैदानको वातावरणलाई समेत प्रभावित बनाएको छ । खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको छ भने स्टेडियमहरू क्रमशः कर्पोरेट मनोरञ्जन केन्द्रमा परिणत भइरहेका छन् । यता स्टेडियममा पहुँच नहुनेहरु पनि इन्टरनेटको माध्यमबाट हेर्न पनि डलरमा शुल्क तिर्नु पर्ने भएकाले आर्थिकभारमा परेका छन् । 

खेलकुदको मूल आत्मा सहभागिता, उत्साह र सामूहिकताको भावना हो । तर जब टिकटको मूल्य आम मानिसको मासिक वा वार्षिक आम्दानीभन्दा बढी हुन थाल्छ, तब खेल जनताको होइन, सम्पन्न वर्गको विशेषाधिकार बन्न पुग्छ । त्यो एउटा गरिब परिवारमा जन्मेको खेलप्रेमीको लागि नभइ धनि वर्गको मनोरञ्जनको साधन बन्दो रहेछ ।

नाफा निजी अनि खर्च सार्वजनिक

विश्वकपसँग जोडिएको अर्को गम्भीर प्रश्न यसको आर्थिक संरचना हो । नाफाचाँही नीजि अनि खर्च सार्वजनिक भन्दा अलि बुभ्mन गाह्रो होला । तर, कुरो सत्य हो । आयोजक राष्ट्रहरू र स्थानीय सरकारहरूले विश्वकप आयोजना गर्न अरबौँ डलर खर्च गर्नुपर्छ । सुरक्षा, यातायात, पूर्वाधार, भीड व्यवस्थापन, आपतकालीन सेवा, सार्वजनिक सुविधाको विस्तारलगायतका अधिकांश खर्च राज्यले व्यहोर्छ । अर्थात् करदाताको पैसा प्रयोग हुन्छ ।

तर प्रतियोगिताबाट प्राप्त हुने मुख्य नाफा भने फिफा र त्यसका व्यावसायिक साझेदारहरूको हातमा मात्र जन्छ । यसले एउटा विरोधाभास सिर्जना गर्छ । जोखिम र खर्च सार्वजनिक क्षेत्रले व्यहोर्ने, तर प्रतिफल निजी संस्थाले प्राप्त गर्ने । यो आधुनिक पुँजीवादी अर्थतन्त्रको परिचित मोडेल हो, जहाँ नाफा निजीकरण गरिन्छ र घाटा सामाजिककरण गरिन्छ ।

विश्वकप आयोजना हुने सहरहरूमा सुरक्षाका नाममा विशाल रकम खर्च भइरहेको छ । कतिपय स्थानमा प्रहरी परिचालन, निगरानी प्रणाली र सुरक्षा संरचनामा लगानी गरिएको रकम स्थानीय सामाजिक सेवाको वार्षिक बजेटभन्दा बढी छ । अस्पताल, विद्यालय, सार्वजनिक यातायात वा आवास कार्यक्रमहरू बजेट अभावसँग संघर्ष गरिरहेका बेला खेल प्रतियोगिताका लागि अर्बौँ डलर खर्च गरिनु स्वाभाविक रूपमा विवादको विषय बन्न पुगेको छ ।

अझ विडम्बनापूर्ण पक्ष के छ भने फिफाले आफ्ना प्रायोजकहरूको व्यावसायिक हित सुरक्षित गर्न स्थानीय प्रशासनलाई विशेष जिम्मेवारीसमेत दिन्छ । रंगशाला वरपरका क्षेत्रहरूमा प्रतिस्पर्धी ब्रान्डहरूलाई सीमित गरिन्छ । स्थानीय व्यापारीहरूले समेत स्वतन्त्र रूपमा प्रचार–प्रसार गर्न नपाउने अवस्था सिर्जना हुन्छ । यसरी सार्वजनिक शक्ति निजी व्यापारिक हितको संरक्षणमा प्रयोग गरिन्छ ।

खेलकुदमा पुँजीको बढ्दो प्रभुत्व

फिफा विश्वकप २०२६ ले केवल एउटा प्रतियोगिताको समस्या होइन । समग्र खेलकुद क्षेत्रमा बढ्दो व्यापारीकरणको प्रवृत्ति उजागर गरेको छ । पछिल्ला केही दशकमा खेलकुदको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको छ । टेलिभिजन अधिकार, विज्ञापन सम्झौता, प्रायोजन, डिजिटल प्रसारण र खेलकुद बजारको विस्तारसँगै खेल उद्योग विश्व अर्थतन्त्रको अत्यन्त लाभदायक क्षेत्र बनेको छ ।
व्यवसायीकरण आफैंमा नकारात्मक होइन ।

यसले खेल पूर्वाधार निर्माण, खेलाडी विकास र विश्वव्यापी पहुँच विस्तारमा योगदान पनि गरेको छ । तर जब नाफा खेलकुदको मुख्य उद्देश्य बन्न थाल्छ, तब खेलको सामाजिक र सांस्कृतिक मूल्यहरू कमजोर हुन थाल्छन् । आज खेलाडीहरू ब्रान्डमा रूपान्तरित भएका छन् । क्लबहरू लगानी कोषका सम्पत्ति बनेका छन् । समर्थकहरूलाई समुदायको सदस्यभन्दा उपभोक्ताका रूपमा हेरिन थालिएको छ । खेलकुद संस्थाहरू सार्वजनिक उत्तरदायित्वभन्दा व्यावसायिक नाफाप्रति बढी केन्द्रित देखिन्छन् । विश्वकप २०२६ यही प्रवृत्तिको चरम अभिव्यक्ति हो, भन्दा फरक पर्दैन् ।

फिफाको शक्ति र जवाफदेहिताको प्रश्न

फिफा विश्व फुटबलको सर्वोच्च संस्था हो । यसको प्रभाव राष्ट्रसंघका कतिपय सदस्य राष्ट्रहरूको प्रभावभन्दा कम छैन । विश्वका अधिकांश देशहरू फिफाको सदस्य छन् र यसको निर्णयले विश्व फुटबलको दिशा निर्धारण गर्छ । तर यति ठूलो शक्ति भएको संस्थामाथि पर्याप्त लोकतान्त्रिक निगरानी छैन । विगतका अनेक भ्रष्टाचार काण्डहरूले फिफाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाइसकेका छन् । विभिन्न समयमा घुसकाण्ड, वित्तीय अनियमितता, शक्ति दुरुपयोग र अपारदर्शिताका आरोप सार्वजनिक भएका छन् ।

फिफाले आफूलाई खेलकुदको संरक्षकका रूपमा प्रस्तुत गर्छ । तर व्यवहारमा यो बहुराष्ट्रिय निगमसरह सञ्चालन भइरहेको आलोचना बढ्दो छ । जब कुनै संस्थाले अरबौँ डलरको आर्थिक कारोबार गर्छ, सरकारहरूलाई आफ्ना सर्त मान्न बाध्य बनाउँछ र विश्वव्यापी राजनीतिक प्रभाव प्रयोग गर्छ, तब त्यसको जवाफदेहिता पनि त्यही अनुपातमा आवश्यक हुन्छ । तर फिफाको संरचनामा त्यो कमजोरी अझै देखिन्छ ।

खेल र राजनीति

विश्वकप २०२६ सँग जोडिएको अर्को महत्वपूर्ण बहस खेल र राजनीतिको सम्बन्ध हो । खेलकुद संस्थाहरू प्रायः ‘खेललाई राजनीतिबाट अलग राख्नुपर्छ’ भन्ने तर्क गर्छन् । तर इतिहासले देखाउँछ कि खेल र राजनीति कहिल्यै पूर्ण रूपमा अलग रहेका छैनन् । ओलम्पिक खेलदेखि विश्वकपसम्म, ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू राष्ट्रिय प्रतिष्ठा, कूटनीतिक प्रभाव र राजनीतिक छवि निर्माणसँग जोडिएका हुन्छन् । आयोजक राष्ट्रहरूले यस्ता प्रतियोगितालाई आफ्नो शक्ति, विकास र अन्तर्राष्ट्रिय हैसियत प्रदर्शन गर्ने अवसरका रूपमा प्रयोग गर्छन् ।

विश्वकप २०२६ को सन्दर्भमा पनि यही प्रश्न उठेको छ । अमेरिकी प्रशासनको विदेश नीति, आप्रवासन नीति तथा विभिन्न अन्तर्राष्ट्रिय विवादहरूको पृष्ठभूमिमा प्रतियोगितालाई राजनीतिक रूपमा तटस्थ देखाउन खोजिए पनि त्यसो गर्न सम्भव देखिँदैन । जब कुनै देशले विश्वकप आयोजना गर्छ, त्यो केवल खेलकुद आयोजनाको विषय रहँदैन । त्यो अन्तर्राष्ट्रिय छवि निर्माणको परियोजना पनि बन्छ । त्यसैले खेललाई राजनीतिबाट पूर्ण रूपमा अलग रहेको दाबी व्यवहारमा टिक्न सक्दैन ।

दोहोरो मापदण्डको समस्या

अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूले विभिन्न देशका विषयमा फरक–फरक मापदण्ड अपनाउने गरेको आरोप पनि नयाँ होइन । कुनै देशको कार्यलाई राजनीतिक हस्तक्षेप मानिने, अर्को देशको समान प्रकृतिको कार्यलाई बेवास्ता गरिने प्रवृत्तिले खेलकुद संस्थाहरूको निष्पक्षतामाथि प्रश्न उठाउँछ । विश्वव्यापी खेलकुद प्रशासन शक्तिशाली राष्ट्रहरूको प्रभावबाट मुक्त छैन भन्ने आलोचना यसै कारण बढेको हो ।

यदि खेलकुद वास्तवमै विश्व एकताको माध्यम हो भने त्यसका नियमहरू पनि सबैका लागि समान हुनुपर्छ । तर व्यवहारमा त्यो आदर्श प्रायः पूरा हुन सकेको छैन ।

खेलकुदलाई कसरी बचाउने ?

विश्वकप २०२६ वरपरका विवादहरूले एउटा आधारभूत प्रश्न लिएर आएको छ । त्यो–खेलकुद कसका लागि हो ? यदि खेल केवल नाफा कमाउने उद्योगमा सीमित भयो भने यसको सामाजिक र सांस्कृतिक महत्व क्रमशः कमजोर हुँदै जानेछ । खेलप्रेमीहरूको सहभागिता घट्नेछ, समुदायसँगको सम्बन्ध टुट्नेछ र खेलकुद धनी वर्गको मनोरञ्जनमा सीमित हुन सक्छ । अहिले त्यही देखिन्छ । त्यसैले खेलकुदको लोकतान्त्रीकरण आवश्यक छ । टिकट मूल्यलाई पहुँचयोग्य बनाउने, आयोजक सहरहरूसँग गरिने सम्झौताहरू पारदर्शी बनाउने, खेल संस्थाहरूलाई सार्वजनिक उत्तरदायित्वभित्र ल्याउने तथा समर्थकहरूको भूमिकालाई सम्मान गर्ने दिशा आवश्यक देखिन्छ ।

फुटबलको शक्ति मैदानभित्रको खेलमा मात्र छैन । यसले मानिसहरूलाई जोड्ने, सामूहिक पहिचान निर्माण गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने क्षमता राख्छ । यही कारण फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेल बनेको हो ।

निष्कर्ष

फिफा विश्वकप २०२६ खेलकुदको उत्सव मात्र होइन, आधुनिक विश्व व्यवस्थाको ऐना पनि हो । यसले पुँजी, राजनीति र खेलकुदबीचको जटिल सम्बन्ध उजागर गरेको छ । एकातिर विश्वभरका करोडौँ समर्थकहरू फुटबलप्रतिको प्रेममा एकताबद्ध भइरहेका छन्; अर्कोतिर त्यही प्रेमलाई विशाल व्यापारिक संरचनाले नाफामा रूपान्तरण गरिरहेको छ ।

विश्वकपको वास्तविक सौन्दर्य महँगा आतिथ्य कक्षमा होइन, सामान्य समर्थकको उत्साहमा छ । यसको आत्मा बहुराष्ट्रिय कम्पनीहरूको विज्ञापनमा होइन, सडक, गाउँ, विद्यालय र श्रमिक बस्तीमा खेलिने फुटबलमा छ । यदि खेलकुदलाई साँच्चिकै जनताको सम्पत्ति बनाइराख्ने हो भने यसको भविष्यबारे गम्भीर बहस आवश्यक छ । अन्यथा विश्वकप जस्ता प्रतियोगिताहरू क्रमशः जनताको उत्सवबाट कर्पोरेट प्रदर्शनमा रूपान्तरित हुँदै जानेछन् । र त्यो केवल फुटबलको संकट होइन, खेलकुदको आत्मामाथिको संकट हुनेछ ।
माक्र्सवादी दृष्टिकोणबाट फिफा विश्वकप २०२६ केवल फुटबल प्रतियोगिता होइन । यो आधुनिक पुँजीवादको एउटा झ्याल हो, जहाँ खेल, राजनीति र नाफा एकअर्कासँग गाँसिएका छन् । जनताको खेललाई क्रमशः व्यापारिक वस्तुमा रूपान्तरण गरिएको छ । सार्वजनिक स्रोतहरू निजी नाफाका लागि प्रयोग भइरहेका छ । खेलकुद संस्थाहरू लोकतान्त्रिक उत्तरदायित्वभन्दा निगमीय हिततर्फ छैन् । यस परिस्थितिमा खेलकुदलाई पुनः जनताको हातमा फर्काउने बहस आवश्यक छ ।

फुटबललाई बजारको बन्धनबाट मुक्त गरी सामाजिक सम्पत्तिका रूपमा पुनस्र्थापित गर्नुपर्छ । खेलकुदमा मानवताको मूल्य नाफाभन्दा माथि राख्नुपर्छ । किनकि अन्ततः फुटबल फिफाको होइन, प्रायोजकहरूको होइन, बहुराष्ट्रिय निगमहरूको होइन । संसारभरका श्रमिक, किसान, विद्यार्थी र खेलप्रेमी जनताको हो । र जनताको खेलमाथि जनताकै अधिकार हुनुपर्छ । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २१, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १३, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्