काठमाडौं । बालेन्द्र शाह (बालेन) हिजो मात्रै र्याप सार्वजनिक गरेर चर्चामा आएका छन् भने आज देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। सांगीतिक अभिव्यक्ति र राजनीतिक उचाइ एकैसाथ देखिएको यो क्षणले उनको व्यक्तित्वको फरक आयाम प्रस्तुत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले हिजो ‘जय महाँकाली’ बोलको र्याप आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए। राष्ट्रिय भावना, संघर्ष र परिवर्तनको सन्देश बोकेको उक्त र्याप सार्वजनिक भएको भोलिपल्टै उनी मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न तयार भएका छन्।
आज (चैत १३) मध्याह्न १२ बजेर ३४ मिनेटमा शीतल निवास मा रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथपछि दिउँसो २:१५ बजे सिंहदरबार पुगेर उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।
हिजो सार्वजनिक गरिएको र्यापमा “जसरी पनि क्रान्ति गर्ने” अठोट व्यक्त गरेका शाहले आजबाट त्यो प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्ने अवसर पाएका छन्। चुनावी अभियानका दृश्य समेटिएको भिडियोसहितको उक्त र्यापले उनको राजनीतिक यात्राको सन्देशसमेत बोकेको छ।
सांगीतिक प्लेटफर्मबाट सन्देश दिने नेतादेखि कार्यकारी प्रमुख बन्ने यात्राले शाहलाई नेपाली राजनीतिमा फरक पहिचान दिलाएको छ। अब भने उनको अभिव्यक्ति र कार्यान्वयनबीचको सन्तुलनमा सबैको ध्यान केन्द्रित हुने देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ ०७:०५