विपद्ले घरको छानो उडाउन सक्छ, भित्ताहरू भत्काउन सक्छ, वर्षौंको कमाइ माटोमा मिसाउन सक्छ । तर सबैभन्दा ठूलो विपद् त्यतिबेला हुन्छ, जब साँझ पर्नासाथ घरको चुल्होमा आगो बल्दैन। त्यो चुल्होमा आगो नबल्नु केवल भान्सामा खाना नपाक्नु होइन, एउटा आमाको आँखामा चिन्ता बल्नु हो ।
बाबुको मनमा असहायपन पलाउनु हो। भोकले रोइरहेको बच्चालाई ‘भोलि केही व्यवस्था होला’ भन्दै सुताउनुपर्ने बाध्यता हो। विपद्ले एउटा परिवारबाट घर खोस्न सक्छ, सम्पत्ति खोस्न सक्छ, तर जब उसले दुई छाक खान पाउने अधिकारसमेत खोस्छ, त्यतिबेला पीडाको गहिराइ शब्दले बयान गर्न सक्दैन ।
यही पीडाको गहिराइ बुझेको छ लायन्सले। विपद् प्रभावित २०० परिवारको ६ महिनाको भोजनको जिम्मेवारी लिनु कुनै औपचारिक राहत कार्यक्रम होइन। यो त विपद्को खबर सेलाएपछि पनि पीडितको भान्सामा पुगिरहने मानवताको एउटा उज्यालो प्रतिबद्धता हो ।
राहतको भीड सकिएपछि, क्यामेराहरू फर्किएपछि र समाचारका शीर्षक फेरिएपछि पनि ती परिवारको चुल्हो निभ्न नदिने संकल्प हो। किनकि विपद् परेको दिन साथ दिन सजिलो हुन्छ; विपद् बिर्सिइसकेको दिन पनि साथ दिइरहनु नै वास्तविक मानवता हो ।
हामी प्रायः विपद्को क्षतिलाई घर, सडक, पुल र भौतिक संरचनाबाट नाप्छौँ। तर एउटा परिवारको वास्तविक क्षति उसको भान्साको खाली भाँडोमा पनि देखिन्छ । भग्नावशेष हटाउन सकिन्छ, घर फेरि बनाउन सकिन्छ, बाटो पुनः खोल्न सकिन्छ ।
तर भोकले कमजोर बनेको मन र शरीरलाई सामान्य अवस्थामा फर्काउन निरन्तर साथ चाहिन्छ। त्यसैले २०० परिवारका लागि ६ महिनासम्म बल्ने चुल्हो वास्तवमा २०० घरमा बल्ने आशाको दियो हो ।
यो संकल्पले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोध्छ—राहत भनेको केही दिनको सहयोग हो कि पीडितलाई फेरि आफ्नै खुट्टामा उभिन सक्ने बनाउने निरन्तर जिम्मेवारी पनि हो? समाजसेवा त्यहीँबाट अर्थपूर्ण हुन्छ, जहाँ सहानुभूति कर्ममा बदलिन्छ ।
भोको पेटलाई भाषण होइन, भोजन चाहिन्छ । निराश परिवारलाई केवल सान्त्वना होइन, साथ चाहिन्छ। र विपद्मा सबैथोक गुमाएको मानिसलाई सबैभन्दा पहिले चाहिन्छ—‘तिमी एक्लो छैनौ’ भन्ने विश्वास । त्यो विश्वास लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई नेपाल लगायतका लायन्सहरुले गरेको छ। जुन सवैका लागि प्रेरणा मात्र नभइकन हामी छौं है भन्ने भरोसा बनेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३ ०८:१०