विपत्ति आउँदा मान्छेको परिचय उसको जात, धर्म, वर्ग, विचार वा पेशाले हुँदैन । ऊ केवल मान्छे हुन्छ । त्यतिबेला जीवन बचाउने हात नै सबैभन्दा ठूलो धर्म बन्छ, मानवीयता नै सबैभन्दा ठूलो परिचय बन्छ ।
बाढीले बगाएर बेपत्ता भएका मानिसहरू नौ दिन, दस दिन, एघार दिनसम्म पनि जीवनसँग संघर्ष गर्दै उद्धारको प्रतीक्षा गरिरहेका घटनाहरूले हामीलाई मानव जीवनको मूल्य कति गहिरो हुन्छ भन्ने अनुभूति गराउँछन् ।
टनेलभित्र, सुरुङभित्र, घरभित्र वा विपत्तिको कठिन परिस्थितिमा थुनिएर बाँच्नका लागि गरिएको गुहार जब उद्धारकर्ताको कानसम्म पुग्छ, त्यसपछि सुरु हुन्छ जीवन बचाउने एउटा महान् अभियान ।
त्यस्तो अवस्थामा आफ्नो ज्यानको जोखिम मोलेर घटनास्थलमा पुग्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, स्थानीय उद्धारकर्ता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूको योगदान शब्दमा वर्णन गर्न कठिन हुन्छ ।
उनीहरूका लागि त्यो केवल एउटा ड्युटी नहुन सक्छ।त्यो कसैको परिवारलाई उसको प्रियजन फर्काउने, कसैको आमाको काख बचाउने, कसैको सन्तानलाई अभिभावकसँग पुनर्मिलन गराउने र कसैको जीवनलाई मृत्युको मुखबाट फर्काउने महान् जिम्मेवारी हो ।
हामीले आज देखिरहेका यस्ता उद्धारका दृश्यहरू सम्झँदा एउटा कुरा गहिरोसँग बुझ्नुपर्छ। समाज कुनै एउटा पेशा वा समूहले मात्र चल्दैन।पृथ्वी गोलो छ। आज हामी जहाँ उभिएका छौँ, भोलि परिस्थिति बदलिन सक्छ ।
आज जसलाई हामी आवश्यक ठान्दैनौँ, भोलि उसैको सहयोग हाम्रो जीवनको आधार बन्न सक्छ। आज हामी जसको आलोचना गर्छौँ, भोलि संकटको घडीमा उसैको हात समातेर सुरक्षित स्थानमा पुग्नुपर्ने अवस्था आउन सक्छ ।
पृथ्वीमा रहेका सम्पूर्ण सजीवहरू एकअर्काका परिपूरक भएझैँ समाजमा रहेका हरेक पेशा र पेशाकर्मी पनि एकअर्काका परिपूरक हुन् । शिक्षकले ज्ञान दिन्छन्, किसानले अन्न उत्पादन गर्छन्, चिकित्सकले स्वास्थ्यको सेवा गर्छन्, इन्जिनियरले संरचना निर्माण गर्छन्, सञ्चारकर्मीले सूचना प्रवाह गर्छन्, चालकले यात्रालाई सहज बनाउँछन् र सुरक्षाकर्मीले नागरिक तथा राष्ट्रको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्छन् । कुनै पनि पेशा सानो वा ठूलो होइन, हरेक पेशाको आफ्नो ठाउँमा अमूल्य योगदान हुन्छ ।
आन्दोलन तथा असहज परिस्थितिमा सुरक्षाकर्मीलाई निशाना बनाइएर, उनीहरूमाथि भएका आक्रमण तथा क्षतिका घटनाहरू सम्झँदा पनि हामीले गम्भीर भएर सोच्न आवश्यक छ । विचार फरक हुन सक्छ, माग फरक हुन सक्छ, सरकार वा व्यवस्थाप्रति असहमति हुन सक्छ, तर असहमतिको नाममा मानवता र पेशागत मर्यादामाथि प्रहार गर्नु कदापि उचित हुँदैन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना कुनै व्यक्तिविशेषका निजी संस्था होइनन्। उनीहरूको मूल जिम्मेवारी संविधान, कानुन, राष्ट्र र नागरिकको सुरक्षा गर्नु हो । बाढी आउँदा उद्धारमा पुग्ने पनि उनीहरू नै हुन्, पहिरोमा फसेकालाई खोज्ने पनि उनीहरू नै हुन्, विपद्मा जोखिम मोलेर नागरिकको जीवन बचाउने पनि उनीहरू नै हुन्। त्यसैले कुनै एउटा परिस्थितिको आक्रोशलाई सम्पूर्ण पेशा र पेशाकर्मीप्रतिको घृणामा बदल्नु न्यायसंगत हुँदैन।
हामीले व्यक्ति र उसको जिम्मेवारीबीच फरक छुट्याउन सिक्नुपर्छ। कुनै व्यक्तिको गल्ती भए कानुनी प्रक्रियाबाट त्यसको छानबिन र कारबाही हुनुपर्छ तर त्यसका आधारमा सम्पूर्ण संस्था, पेशा वा पेशाकर्मीलाई अपमानित गर्नु गलत हो।आज बाढीमा फसेको नागरिकलाई बचाउन सुरुङभित्र पस्ने सुरक्षाकर्मीलाई हामीले सम्मान गर्छौँ भने, हिजो कुनै आन्दोलनमा सुरक्षाको जिम्मेवारीमा उभिएका त्यही सुरक्षाकर्मीलाई पनि मानवीय दृष्टिले हेर्न सक्नुपर्छ। मानवता परिस्थितिअनुसार बदलिने वस्तु होइन।
त्यसैले अब हामीले एउटा संस्कार विकास गरौँ
आफूलाई मन परेको पेशाको मात्र सम्मान होइन, हरेक इमानदार श्रम र सेवाको सम्मान गरौँ। किसानको पसिनालाई सम्मान गरौँ। शिक्षकको ज्ञानलाई सम्मान गरौँ। स्वास्थ्यकर्मीको सेवाभावलाई सम्मान गरौँ। श्रमिकको मेहनतलाई सम्मान गरौँ। पत्रकारको जिम्मेवारीलाई सम्मान गरौँ ।
राष्ट्रसेवकको कर्तव्यलाई सम्मान गरौँ । र विपत्तिको समयमा आफ्नो ज्यान जोखिममा राखेर अरूको जीवन बचाउने उद्धारकर्ताको त्यागलाई विशेष सम्मान गरौँ।किनकि जीवनको बाटो सधैँ एउटै हुँदैन ।
आज हामी सुरक्षित घरभित्र छौँ, भोलि विपत्तिले हामीलाई उद्धारको प्रतीक्षामा राख्न सक्छ। आज हामी अरूलाई सहयोग गर्ने अवस्थामा छौँ, भोलि हामीलाई अरूको सहयोग आवश्यक पर्न सक्छ। यही नै जीवनको सत्य हो ।
यही कारणले भनिन्छ ,पृथ्वी गोलो छ। हामी सबै एकअर्काका आवश्यकता हौँ। हामी सबै एकअर्काका सहारा हौँ।हामी सबै एकअर्काका परिपूरक हौँ। त्यसैले घृणाभन्दा सम्मान रोजौँ, प्रतिशोधभन्दा मानवता रोजौँ र विभाजनभन्दा सहकार्य रोजौँ ।
देश बनाउने हात फरक हुन सक्छन्, तर उद्देश्य एउटै हुनुपर्छमानव जीवनको रक्षा, राष्ट्रको समृद्धि र समाजको शान्ति।बाढी, पहिरो र विपत्तिमा जीवन बचाउन आफ्नो ज्यानको पर्वाह नगर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्ताहरूको त्याग र योगदानप्रति हार्दिक सम्मान ।
उहाँहरूको त्यागलाई हामीले कहिल्यै भुल्नु हुँदैन । किनकि संकटको समयमा बचाउने हातको मूल्य संकटमा परेपछि मात्र होइन, सधैँ बुझ्न सक्नुपर्छ।
नामी साप्ताहिक