आजभोलि देखिएको जातीय, क्षेत्रीय, धार्मिक अनि साम्प्रदायिक सोचले संसारमा रहेका हामी सबै मानव जातिको विभाजनमा नकारात्मक भूमिका खेलिरहेको छ । कुनै पनि देशको सीमाले मानवतालाई सिमान्तीकृत गर्न सक्दैन । किनभने मानवताको कुनै देश, जात, धर्म र सम्प्रदाय पनि हुँदैन ।
भौतिक रूपले अलग-अलग र फरक देखिएतापनि संसारका सम्पूर्ण मानव जातिको सृष्टिको सुरुवातको स्रोत विभिन्न धर्मका धार्मिक ग्रन्थहरू पल्टाएर हेर्दा एउटा लोग्ने मान्छे र एउटा स्वास्नी मान्छेबाट भएको देखिन्छ ।
हामीले आफ्नो धर्मको भन्दा पृथक धर्मका ग्रन्थहरूमा रहेको कुरालाई अक्सर गलत भन्ने गर्छौं । तर प्राय धार्मिक ग्रन्थहरूमा लिपिबद्ध भएर रहेको यो माथिको पंक्तिलाई हामीले चाहेर पनि गलत भन्न सक्दैनौँ। किनभने हामीले यसलाई गलत भन्दा स्वयं हाम्रो धार्मिक ग्रन्थमा लिपिबद्ध भएर रहेको कुरालाई पनि हामीले गलत भन्नु पर्ने हुन्छ ।
यसको तात्पर्य अब हामीले के बुझ्नु पर्ने हुन्छ भने हामी सबै संसारका मानिसहरूको पुर्खाहरूको अस्तित्वको मूल स्रोत एउटै थियो । अझ बुझ्ने गरी भन्नुपर्दा एउटा अमेरिकनको ५० पुस्ता अगाडिको बाबु र संसारको कुनै पनि मानिसको ५० पुस्ता अगाडिको बाबु दाजुभाई हुनसक्ने सम्भावनालाई माथिको विचारले पुष्टि गरिदिन्छ । सम्भवत त्यसैले होला आजकाल विश्वका बौद्धिक र ज्ञानी मानिसहरुले संसारका हामी सबैलाई (ओल्ड कम्युनिटी) अर्थात् विश्व समुदाय भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ।
मानव सभ्यताको सुरुवातदेखि नै विभिन्न क्षेत्रका मानिसहरूको आफ्नै किसिमको संस्कार, संस्कृति र भौगोलिक कारणले विविध मौसम अनुसार जीवन यापन गर्ने तरिकाहरू फरक फरक भए ।जसबाट मानिसहरूको शारीरिक बनोट र रूपरोगनहरू फरक फरक हुन पुग्यो ।
अनि यसैलाई आधार बनाएर संसारका हामी सबै मानिसहरूले अरुभन्दा आफूलाई फरक देखाउनुमा गर्व गर्न थाल्यौ ।तर वास्तवमा यो एउटा यति ठूलो भ्रम थियो जसले आज संसारका हामी सबै मानिस जातिहरूमा एउटा ठूलो वित्तण्डा नै मच्चायो ।
जसले गर्दाखेरि संसारका हामी सबै मानिसहरूमा आफूलाई बचाउने क्षमता र हैसियत त पैदा गर्यो तर मानवताको रक्षा गर्न पूर्ण रुपले सकेन। आज संसारमा विभिन्न देशहरूको एक आपसको युद्ध र आआफ्नै देशभित्र पनि जातीयगत र धार्मिक हिसाबले देखिएको विभाजित मनस्थितिले सम्पूर्ण मानव सभ्यता नै आफ्नो अस्तित्वको रक्षार्थ सचेत हुनुपर्ने परिस्थितिमा पुग्यो।
संसारमा जति पनि धर्महरू छन् तिनीहरू एउटा विशेष मान्यता र मूल्यका आधारमा रहेको पाइन्छ। जसले आफ्नै धर्मको पक्षमा र धर्मावलम्बीहरूको पक्षमा निर्णयहरू गर्छ ।झ्वाट्ट सुन्दा र लेख्दा अध्यात्मलाई पनि धर्म नै मानिने र बुझिने प्रचलन रहेको पाइन्छ ।
तर अध्यात्म र धर्म बिल्कुलै फरक कुराहरू हुन्। अध्यात्मले संसारका सबै धर्महरू र धर्मावलम्बीहरूको रक्षार्थ आफूलाई उभ्याउँछ भने धर्मले एउटा विशेष समुदाय र जातलाई मात्र आफ्नो सम्झिन्छ ।
अहिले विश्वमा देखिएको मानिसहरूको विभाजित मनस्थितिलाई अध्यात्मले मात्रै एकीकृत गरेर मानव सभ्यताको र मानवताको रक्षार्थ एउटा बलियो भूमिका निर्वाह गर्न सक्दछ । संसारका देशहरू आन्तरिक र बाह्य कारणले द्वन्द्वको चपेटामा पर्न आँटेको वर्तमान अवस्थामा अध्यात्म मात्रै एउटा यस्तो शक्ति हो जसले सबैलाई समेटेर यो परिस्थितिको निराकरण गर्न सक्छ ।
दुःखका साथ भन्नुपर्छ अहिले रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीले धेरैको ज्यान लियो र घरबार उजाड्यो। यस्तो विषम परिस्थितिमा पनि यदाकदा जातका कुराहरू, राजनीतिक विचारधाराका कुराहरू र धर्मका कुराहरु भएको पाइयो । यस्तो दुःखको घडीमा यस्तो हुनु भनेको हामी सबैका लागि लज्जास्पद कुरा हो ।
आ–आफ्नो धर्मको मूल्य र मान्यताहरूलाई स्वीकारेर पनि हामीले अहिलेको विश्वको बिग्रँदो परिस्थितिमा केन्द्रित भएर अध्यात्मलाई अँगाल्दै बाध्यतावश एउटा अर्को कुरा पनि स्वीकार्नै पर्ने हुन्छ । त्यो के हो भने मान्छेको जात मान्छे नै हो ।
मान्छेको धर्म पनि मान्छे नै हो । र मान्छेको कर्म पनि मान्छे नै हो । तसर्थ मानव सभ्यताको र मानवताको रक्षार्थ कुनै जातको, धर्मको , देशको, क्षेत्रको, र कुनै सम्प्रदायको होइन संसारकै बनौँ अध्यात्मलाई अँगालेर ।
नामी साप्ताहिक