काठमाडौं । नेप्लीज फेसन होमको आयोजनामा राजधानीमा हुने नेवार समुदायका सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता १९औँ मिस नेवा नेपाल ११४६ का सहभागी २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरेको छ।
कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धन हुने विश्वासकासाथ श्रद्धापूर्वक दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्।

आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपालका २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाका सल्लाहकार डा। बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्रत्येक प्रतियोगीको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने मंगलकामना व्यक्त गर्नुको साथै विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धनका लागि सामूहिक प्रार्थनासमेत गरिएको थियो।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस नेवा नेपाल सौन्दर्य र प्रतिभाको प्रतिस्पर्धामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढिरहेको छ।
एक लाख बत्ती प्रज्वलन कार्यक्रमले पनि प्रतियोगिताले बोकेको यही सामाजिक र सांस्कृतिक सन्देशलाई थप सशक्त रूपमा उजागर गरेको आयोजकले विश्वास लिएको छ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०८३ २०:१६