Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दसैँमा मासुको मूल्यः चाड उपभोक्ताको कि व्यवसायीको ? 
दसैँमा मासुको मूल्यः चाड उपभोक्ताको कि व्यवसायीको ?  चाडपर्वमा मात्रै जाग्ने अनुगमन कहिलेसम्म ? 
विदुर कटुवाल
विदुर कटुवाल बिहीबार, असोज १५, २०८३

काठमाडौं । दसैँ नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमध्ये एक हो । वर्षभरि दुःख गरेर कमाएको पैसाबाट परिवारका सदस्य एक ठाउँमा जम्मा हुने, मीठो–मसिनो खाने र आफन्तसँग खुसी साटासाट गर्ने अवसरका रूपमा दसैँलाई लिइन्छ । तर, चाडपर्वको खुसी उपभोक्ताले मनाउने हो कि मूल्य बढाएर व्यवसायीले कमाउने ? नयाँ बहस सुरु भएको छ । 

बजारमा अहिले खसी, कुखुरा, राँगा, बंगुरदेखि माछासम्मको मूल्य बढेको छ । कुखुराको मासु महँगिनुको कारण बर्डफ्लुका कारण उत्पादन घटेको व्यवसायीको तर्क छ । अन्डाको उत्पादन पनि मागभन्दा निकै कम भएकाले मूल्य बढेको भनिएको छ । खसीको मासु महँगिनुको कारण आपूर्तिको कमी देखाइएको छ । बंगुर र माछामा भने ढुवानी लागतलगायतका कारण देखाइएको छ ।

वसायीका तर्कमा केही आर्थिक आधार अवश्य छन् । बर्डफ्लुले कुखुरापालन क्षेत्रमा क्षति पुर्‍याएको छ भने उत्पादन घट्दा मूल्यमा दबाब पर्नु स्वाभाविक हो । तर, यहीँबाट सरकारमाथि अर्को प्रश्न सुरु हुन्छ–उत्पादन र आपूर्तिमा आएको समस्याको भार हरेकपटक उपभोक्ताकै काँधमा हाल्ने हो भने सरकारको बजार नियमनको भूमिका के हो ? 

दसैँ आयो, मासु महँगियो

यसपटकको मूल्यवृद्धि सामान्य बजार उतारचढावमा मात्र सीमित देखिँदैन । बर्डफ्लु नियन्त्रणमा आएपछि कुखुराको खपत सामान्य अवस्थामा फर्किएको व्यवसायी बताउँछन् । तर, उत्पादन तत्काल पुरानै अवस्थामा फर्किन नसक्दा कुखुराको मासु र अन्डाको मूल्य बढेको उनीहरूको भनाइ छ ।

लेयर्स कुखुरापालक संघका अनुसार देशभर दैनिक करिब ४० लाख गोटा अन्डाको माग रहेकामा अहिले ३०–३२ लाख गोटा मात्रै उत्पादन भइरहेको छ । माग र आपूर्तिबीचको यो अन्तरले मूल्यमा दबाब परेको व्यवसायीको तर्क छ । संघले प्रतिक्रेट अन्डाको मूल्य ६१५ रुपैयाँ निर्धारण गरेको छ । बर्डफ्लु फैलिनुअघि यही मूल्य ५३५ रुपैयाँसम्म थियो ।

कुखुराको मासुमा पनि उस्तै अवस्था देखाइएको छ । संघले प्रतिकिलो ४१० रुपैयाँ मूल्य निर्धारण गरे पनि बजारमा ४४० देखि ४६० रुपैयाँसम्म बिक्री भइरहेको छ । कुखुराको छातीको मासु अझ महँगो छ । खसीको अवस्था झन् फरक छ । उपत्यकाका तीन जिल्लामा दैनिक करिब पाँच हजार खसी–बोकाको माग रहे पनि तीन हजार दुई सय हाराहारी मात्रै आपूर्ति भइरहेको माछामासु व्यवसायी संघका सचिव बाबुकाजी महर्जनको दाबी छ । भारतबाट खसी–बोका ल्याउन प्रतिबन्ध भएपछि स्वदेशी उत्पादनले माग धान्न नसकेको व्यवसायीको भनाइ छ ।

बर्डफ्लु फैलिएका बेला उपभोक्ता कुखुराबाट खसीको मासुतर्फ सरे । माग बढ्यो । आपूर्ति बढेन । परिणामस्वरूप मूल्य बढ्यो । अहिले कुखुराको खपत पुनः सामान्य अवस्थामा फर्किसक्दा पनि खसीको मासुको मूल्य भने घटेको छैन । यहीँनेर बजारको स्वाभाविक नियम र सरकारी दायित्वबीचको अन्तर देखिन्छ । कारण धेरै, समाधान एउटै पनि छैन

मासुको मूल्य बढ्नुको कारण व्यवसायीले अनेक देखाएका छन् । कुखुरामा बर्डफ्लु, खसीमा आपूर्तिको कमी, बंगुरमा ढुवानी खर्च र माछामा उत्पादन तथा ढुवानी लागत । यी कारणमध्ये कतिपय वास्तविक हुन सक्छन् । तर, मूल्य बढेको प्रत्येकपटक उपभोक्ताले मात्रै अतिरिक्त भार बोक्नुपर्ने अवस्था किन बनिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण हो । सरकारको काम व्यवसायीले मूल्य तोक्ने र उपभोक्ताले तिर्ने रकमको हिसाब राख्नु मात्रै होइन । बजारमा प्रतिस्पर्धा छ कि छैन, लागतको अनुपातमा मूल्य बढेको हो कि होइन, कृत्रिम अभाव सिर्जना गरिएको छ कि छैन, उपभोक्ताले तोकिएको मूल्यमा वस्तु पाइरहेका छन् कि छैनन् भन्ने विषयमा प्रभावकारी अनुगमन आवश्यक हुन्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराँतीले मूल्य निर्धारण प्रणाली आफ्नो क्षेत्राधिकारमा नरहेको र अनुगमन मुख्यतः मूल्यसूची, साइनबोर्ड तथा तोकिएको मूल्यमा बिक्री भए–नभएको विषयमा केन्द्रित हुने बताएको भनाइले पनि यही प्रश्नलाई थप गम्भीर बनाउँछ । तर, उपभोक्ताका लागि समस्या के हो भने पसलमा मूल्य बढिसकेको हुन्छ । मूल्य बढ्नुको कारणबारे व्यवसायीको व्याख्या हुन्छ । अनि सरकारी निकायले आफ्नो अधिकार सीमित भएको बताउँछ । अन्ततः बजारको सम्पूर्ण जोखिम उपभोक्ताले बेहोर्नुपर्छ ।

नेपालको विद्यमान कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनमा सरकारले मूल्य निर्धारण गरेको वस्तु निर्धारित मूल्यभन्दा बढीमा बिक्री गर्न नहुने र अभावको लाभ उठाएर अनुचित नाफा लिन नहुने व्यवस्था छ । मूल्यसूची देखिने गरी राख्नुपर्ने प्रावधानसमेत छ । त्यसैले प्रश्न केवल ‘सरकारले मूल्य तोक्नुपर्छ कि पर्दैन’ भन्ने होइन । प्रश्न बजारमा भएको मूल्यवृद्धि वास्तविक लागत र आपूर्तिको परिणाम हो कि उपभोक्ताको बाध्यताको फाइदा उठाएर थपिएको हो भन्ने पहिचान गर्ने संयन्त्र कति प्रभावकारी छ भन्ने हो ।

चाडपर्वमा मात्रै जाग्ने अनुगमन कहिलेसम्म ? 

नेपालमा चाडपर्व नजिकिएपछि बजार अनुगमन गर्ने परम्परा नयाँ होइन । दसैँ, तिहार, छठजस्ता ठूला पर्व आएपछि सरकारी टोली बजारमा निस्कन्छ । केही पसलमा मूल्यसूची हेरिन्छ । कतै म्याद गुज्रिएका सामान भेटिन्छन् । केही व्यवसायीलाई कारबाही गरिन्छ । त्यसपछि अनुगमनको चर्चा सेलाउँछ । तर, बजारको समस्या चाडपर्व सकिएपछि सकिँदैन ।

दसैँमा मासुको माग बढ्छ भन्ने कुरा सरकारलाई वर्षौँदेखि थाहा छ । कुन समयमा कति खसी–बोका आवश्यक पर्छन्, कुखुराको माग कति बढ्छ, अन्डाको खपत कति हुन्छ, च्याङ्ग्राको आपूर्ति कहाँबाट हुन्छ–यी विषय अनुमान गर्न नसकिने होइनन् ।

यदि दसैँको माग हरेक वर्ष दोहोरिने हो भने आपूर्ति व्यवस्थापन पनि पूर्वतयारीसहित हुनुपर्ने हो । उत्पादन बढाउने योजना, किसानलाई प्रोत्साहन, रोग नियन्त्रण, पशु तथा पन्छीजन्य रोगको पूर्वतयारी, ढुवानी सहजता र बजार अनुगमनलाई चाडपर्वको अन्तिम सातामा मात्र सम्झेर पुग्दैन । अहिले देखिएको मासुको मूल्यवृद्धिले सरकारको दीर्घकालीन आपूर्ति नीतिमाथि पनि प्रश्न उठाएको छ । एकातिर किसानले उत्पादनको उचित मूल्य नपाउने गुनासो गर्छन् । अर्कोतिर उपभोक्ताले बजारमा अत्यधिक मूल्य तिर्नुपरेको गुनासो गर्छन् । बीचको तहमा मूल्य किन यति धेरै बढ्छ भन्ने प्रश्नको पारदर्शी उत्तर प्रायः भेटिँदैन ।

दसैँको मासु र सरकारको परीक्षा

दसैँमा मासु खाने नेपाली परम्परा र सांस्कृतिक अभ्याससँग जोडिएको विषय हो । सबै परिवारले एउटै किसिमले मासु उपभोग गर्छन् भन्ने छैन । तर, दसैँमा खसी–बोका, कुखुरा, बंगुर तथा अन्य मासुको माग बढ्ने कुरा बजारका लागि पूर्वानुमान गर्न सकिने विषय हो ।

त्यसैले दसैँको मुखमा मूल्य बढेपछि ‘माग बढ्यो’ भन्ने सामान्य उत्तरले मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । माग बढ्छ भन्ने थाहा हुँदाहुँदै आपूर्ति व्यवस्थापन किन भएन ? उत्पादन घट्ने संकेत हुँदाहुँदै वैकल्पिक आपूर्ति प्रणाली किन बनाइएन ?  बर्डफ्लुजस्तो रोगका कारण उत्पादनमा क्षति पुग्दा पुनःस्थापना कार्यक्रम कहाँ छ ? किसानलाई उत्पादनमा फर्काउन सरकारले के गर्‍यो ?  भारतबाट खसी–बोका ल्याउन प्रतिबन्ध छ भने स्वदेशी उत्पादन बढाउने तयारी कति भयो ? यी प्रश्नको जवाफ व्यवसायीबाट होइन, सरकारले दिनुपर्ने हो ।

अझ महत्वपूर्ण प्रश्न उपभोक्ता संरक्षणको हो । व्यवसायीले लागत बढेको प्रमाणसहित मूल्य बढाएका हुन् भने त्यसको पारदर्शी विवरण सार्वजनिक हुनुपर्छ । उत्पादन लागत कति बढ्यो, ढुवानी खर्च कति बढ्यो र खुद्रा मूल्यमा कति थपियो भन्ने हिसाब उपभोक्ताले जान्न पाउनुपर्छ ।

बजारमा ‘व्यवसायीले तोकेको मूल्य नै अन्तिम’ भन्ने मानसिकता बलियो हुँदै जाने हो भने उपभोक्ता संरक्षणको अर्थ नै कमजोर हुन्छ । मूल्य बजारले निर्धारण गर्ने भए पनि बजारलाई निष्पक्ष बनाउने जिम्मेवारी राज्यको हो । 

चाड उपभोक्ताको 

दसैँ केवल व्यापारको मौसम होइन । यो परिवार, सम्बन्ध, संस्कृति र सामाजिक उत्सवको समय हो । त्यसैले चाडपर्वलाई मूल्य बढाउने अवसरमा परिणत हुन दिनु हुँदैन । यसको अर्थ सरकारले हरेक वस्तुको मूल्य आफैँ तोक्नुपर्छ भन्ने होइन । बरु बजारमा मूल्य निर्धारणको प्रक्रिया पारदर्शी हुनुपर्छ । प्रतिस्पर्धा कायम हुनुपर्छ । कृत्रिम अभाव र अनुचित नाफामाथि निगरानी हुनुपर्छ । किसानले उचित मूल्य पाउनुपर्छ र उपभोक्ताले पनि अस्वाभाविक मूल्य तिर्न बाध्य हुन नपरोस् भन्ने सुनिश्चित हुनुपर्छ ।

अहिलेको अवस्थाले एउटा पुरानो कमजोरी फेरि देखाएको छ—सरकारसँग बजार अनुगमन गर्ने संयन्त्र छ, तर मूल्यवृद्धिको मूल कारणसम्म पुग्ने दीर्घकालीन प्रणाली कमजोर देखिन्छ । चाडपर्व आएपछि बजारमा पुग्ने र मूल्यसूची हेर्नेभन्दा धेरै अघि नै उत्पादन, आपूर्ति र रोग नियन्त्रणको योजना सुरु हुनुपर्ने हो । दसैँको मुखमा मासु महँगो हुनु एउटा बजार समाचार मात्रै होइन । यसले हाम्रो कृषि उत्पादन, आपूर्ति प्रणाली, बजार नियमन र उपभोक्ता संरक्षणको वास्तविक अवस्था देखाउँछ ।

सरकारले अब ‘व्यवसायीले यस्तो भने’ भनेर पन्छिने होइन, तथ्यांकसहित भन्नुपर्ने समय आएको छ–मासु किन महँगियो, मूल्य बढ्नुको वास्तविक लागत कति हो र उपभोक्ताले तिरेको अतिरिक्त रकममध्ये कति किसान, कति व्यवसायी र कति ढुवानी तथा अन्य खर्चमा गइरहेको छ ? किनकि दसैँमा मासु खाने अधिकार सबैको नहुन सक्छ, तर निष्पक्ष बजारमा उचित मूल्य तिर्न पाउने अधिकार हरेक उपभोक्ताको हो । दसैँ आउँदा सरकारको प्राथमिकता बजारमा भीड देखिनु होइन, उपभोक्ताले आफ्नो आम्दानीअनुसार सुरक्षित र उचित मूल्यमा आवश्यक खाद्यवस्तु किन्न सक्ने अवस्था सिर्जना गर्नु हुनुपर्छ । चाडपर्वमा महँगीलाई ‘स्वाभाविक’ भन्दै स्वीकार गरिरहने हो भने हरेक वर्ष दसैँ आउँछ, तर उपभोक्ताको थाल भने झन् महँगिँदै जान्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्