Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  ०७२ यता प्राकृतिक विपत्तिमा १४ हजार ८२५ को मृत्यु
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, भदौ २९, २०८३

काठमाडौं । सरकारलाई विपत्ति आउँछ भन्ने थाहा हुन्छ, जोखिमको प्रतिवेदन पनि हुन्छ, तर नागरिकको ज्यान जोगाउने तयारी हुँदैन । परिणाम विपत्ति दोहोरिन्छ, मृत्यु थपिन्छ र राज्य फेरि राहतको पोका बोकेर घटनास्थल पुग्छ । ०७२ को भूकम्पयता प्राकृतिक विपत्तिमा १४ हजार ८२५ नागरिकको मृत्यु भइसकेको तथ्यांकले यही राज्य संयन्त्रको असफलता देखाउँछ । भोटेकोशीमा त सरकारसँग एक वर्षअघिकै चेतावनी र जोखिमसम्बन्धी प्रतिवेदनसमेत थियो । तर सिफारिस कार्यान्वयन भएन र फेरि त्यही नदीले विनाश मच्चायो ।

१२ वैशाख ०७२ को गोरखा भूकम्पयता १० भदौको भोटेकोशी बाढीसम्म ५६ हजार ३५७ विपत्जन्य घटना भएका छन् । ती घटनामा १४ हजार ८२५ जनाको मृत्यु भएको छ । यो तथ्यांकमा कोभिड–१९ महामारीमा मृत्यु भएका १२ हजार ३१ जना समावेश छैनन् । प्राधिकरणकै पोर्टलमा सुरुवाती वर्षका कतिपय घटना तथा तथ्यांक अद्यावधिक नभएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने देखिन्छ ।

०७२ यता सबैभन्दा ठूलो मानवीय क्षति भूकम्पबाट भएको छ । ३३२ भूकम्पीय घटनामा ९ हजार १२४ जनाको मृत्यु भएको छ । १२ वैशाख ०७२ को ७.८ म्याग्निच्युडको भूकम्पमा मात्रै ८ हजार ९६२ जनाले ज्यान गुमाए र ८ लाख ६६ हजार निजी घर पूर्ण रूपमा क्षति भए । १७ कात्तिक ०८० को जाजरकोट भूकम्पमा थप १५५ जनाको मृत्यु भयो र झन्डै २७ हजार घर पूर्ण क्षति भए ।

बाढीपहिरोको क्षति पनि निरन्तर बढ्दो छ । ०७२ यता २ हजार ३९६ बाढीका घटनामा ६६२ र ५ हजार ६६४ पहिरोमा १ हजार ६३० जनाको मृत्यु भएको छ । मेलम्चीको ०७८ को बाढीमा २५ जनाको मृत्यु भयो, ५५१ घर बगे र सात झोलुंगे तथा नौ पक्की पुल ध्वस्त भए । ०८१ असोजको काभ्रे बाढीपहिरोमा ७९ जनाको मृत्यु भयो । ०८२ मा इलामको पहिरोमा ३९ जनाको मृत्यु भयो, ७११ परिवार विस्थापित भए र करिब १२ अर्ब रुपैयाँबराबरको क्षति भएको तथ्यांक छ ।

विपत्तिको सूची भूकम्प र बाढीपहिरोमै सीमित छैन । ०७२ यता ३० हजार ८७७ आगलागीका घटनामा ९६७, ३ हजार ३३७ चट्याङका घटनामा ८६९, २ हजार ९८० जनावर आतंकका घटनामा ३६३ र २ हजार ९० सर्पदंशका घटनामा ३२५ जनाको मृत्यु भएको छ । हावाहुरीका २ हजार २३३ घटनामा १२८ र भारी वर्षाका ३ हजार ५ घटनामा ११४ जनाले ज्यान गुमाएका छन् ।

यसको अर्थ स्पष्ट छ–नेपालमा विपत्ति अपवाद होइन, नियमित जोखिम बनिसकेको छ । तर राज्यको तयारी अझै विपत्ति आएपछि प्रतिक्रिया जनाउने तहबाट माथि उठ्न सकेको छैन । जलवायु परिवर्तनले विपत्तिको आवृत्ति, आकार र क्षति बढाइरहेको विज्ञहरूको निष्कर्ष छ । तर जलवायु परिवर्तनलाई मात्र दोष दिएर राज्य उम्किन सक्दैन । डोजरे विकास, अव्यवस्थित बसोबास र खोला–नदीभित्रै संरचना निर्माणले जोखिम झन् बढाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन् । उनका अनुसार हरेक वर्ष बाढीपहिरोले विनाश गर्ने र राज्यले पुनर्निर्माण गरिरहने अवस्था अब सम्भव छैन ।

वातावरण तथा जलवायु परिवर्तनविज्ञ तीर्थराज पन्थीका अनुसार विपत्तिको संख्या, आकार र क्षति बढ्दै गए पनि जोखिम रोक्ने क्षमता कमजोर छ । सम्भावित विपत्तिको आकलन गरेर पूर्वाधार निर्माण नगरिनु, भरपर्दो पूर्वसूचना प्रणाली नहुनु र जोखिम न्यूनीकरणका विषयमा पर्याप्त अध्ययन–अनुसन्धान नहुनुले रोक्न सकिने क्षतिसमेत बढेको उनको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता डा प्रकाश पोखरेल पनि असामान्य प्रकृतिका विपत्तिका लागि अनुसन्धान र स्रोतसाधन पर्याप्त नभएको बताउँछन् । पूर्वसूचना प्रणालीबाट निगरानी भए पनि असामान्य अवस्थामा ती प्रणाली प्रभावकारी हुन नसकेको उनको भनाइ छ । उनका अनुसार अब विपत्तिलाई स्वीकार गरेर नीति, बस्ती व्यवस्थापन, आर्थिक स्रोत र राजनीतिक प्राथमिकतासहित अघि बढ्नुपर्ने अवस्था छ । तर राज्यको सबैभन्दा ठूलो कमजोरी जोखिम थाहा भएर पनि त्यसअनुसार काम नगर्नु हो ।

भोटेकोशीमा गत वर्षको बाढीपछि गठित १३ सदस्यीय समितिले क्षेत्रलाई उच्च जोखिममा रहेको औँल्याएको थियो । नदीकिनार तथा तटीय क्षेत्रमा जोखिम रहेको भन्दै बस्ती स्थानान्तरणसम्मको सुझाव दिइएको थियो । पूर्वसूचना प्रणाली मजबुत बनाउन पनि सिफारिस गरिएको थियो । तर प्रतिवेदन कार्यान्वयन भएन । एक वर्षपछि त्यही भोटेकोशीमा फेरि ठूलो बाढी आयो ।

सरकारसँग चेतावनी थियो, जोखिमको अध्ययन थियो, समाधानका सुझाव थिए । नभएको एउटै कुरा थियो–कार्यान्वयन । यही प्रवृत्तिले विपत्तिलाई प्राकृतिक घटनाबाट मानवीय क्षतिमा बदलिरहेको छ । जोखिमयुक्त बस्ती हटाउन नसक्ने, नदीको बहाव क्षेत्र जोगाउन नसक्ने, पूर्वाधार निर्माणअघि विपत् जोखिम मूल्यांकन नगर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नसक्ने हो भने विपत्तिपछि राहत वितरणको क्षमता बढाएर मात्र नागरिक सुरक्षित हुँदैनन् ।

०७२ यताको १४ हजार ८२५ मृत्यु त्यसैको परिणाम हो । अझ यो तथ्यांकमा कोभिड–१९ का १२ हजार ३१ मृत्यु समावेश छैन । अब प्रश्न राहत कति बाँडियो भन्ने होइन । विपत्ति आउनुअघि जोखिम घटाउन सरकारले कति काम गर्‍यो भन्ने हो । कति जोखिमयुक्त बस्ती पहिचान भए ? कति स्थानान्तरण भए ? कति प्रतिवेदन कार्यान्वयन भए ? कति पूर्वसूचना प्रणाली प्रभावकारी भए ? कति सडक, पुल र संरचना विपत् जोखिम मूल्यांकन गरेर बने ? यी प्रश्नको जवाफ नदिई विपत्ति व्यवस्थापनको सफलता दाबी गर्नु नागरिकको पीडामाथि अर्को मजाक हुनेछ ।

नेपालमा विपत्ति रोक्न नसकिएला । तर जोखिम घटाउन सकिन्छ । मृत्युको संख्या घटाउन सकिन्छ । क्षति न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि सरकारको प्राथमिकता विपत्तिपछि राहत होइन, विपत्तिअघि तयारी हुनुपर्छ । भोटेकोशीले सरकारलाई एउटा स्पष्ट पाठ दिइसकेको छ–प्रतिवेदन थन्क्याएर जोखिम टर्दैन । चेतावनी बेवास्ता गरेर नागरिक सुरक्षित हुँदैनन् । अब पनि राज्यको काम विपत्ति आएपछि शव गन्ने, क्षति नाप्ने र राहत बाँड्ने मात्र हो भने अर्को तथ्यांक थपिन धेरै समय लाग्ने छैन । नागरिकको मृत्युको संख्या बढ्दै जाने र सरकारी प्रतिवेदनको थुप्रो पनि बढ्दै जाने हो भने राज्यले विपत् व्यवस्थापन गरिरहेको होइन, विपत्तिको अभिलेख राखिरहेको मात्र हुनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्