Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन
लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन – प्राडा तीर्थप्रसाद मिश्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १, २०८१

काठमाडौँ । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो। यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् ।

नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन्। साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ ।

यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो।

सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन्। कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् ।

यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो। धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन।

आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ ।

यसै कारण होला लुतो फ्याक्ने प्रचलन हराउँदै गएको छ । लुतो फ्याक्ने प्रचलनलाई सुक्ष्म दृष्टिले हेरेमा यो मनोरञ्जनको माध्यम हो, स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने माध्यम हो । नेपालको कृषिप्रधान युगको संस्कृति हो, तत्कालीन समाजको जनविश्वास पनि हो।

नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ। साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ।

विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ। लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा धमाधम हुँदा केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन। हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो ।

रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो ।

त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो । यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए ।

तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ ।

लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ ।

कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ ।

हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो। खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पुर्याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ ।

श्रावण १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो ।

विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन्।

यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ।

सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पात बिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ ।

त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ। झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ ।

कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ ।

कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ ।

अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो । । तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै।

विसं २०१५ अघिसम्म जिल्लाजिल्लामा सरकारी स्तरबाटै गर्ने गरिन्थ्यो । धनकुटा जिल्लाको निशानस्थानमा सबै अड्डाका प्रमुखसहित बडाहाकिमको उपस्थिति हुन्थ्यो ।

माथि उल्लिखित विधिद्वारा राजपुरोहितको निर्देशनमा पूजाआजा हुने र मूलकर्ता बडाहाकिम वा उनले तोकेको अधिकारी हुने चलन थियो । कन्दारकको पूजा आराधनापश्चात् १० दिशामा अगुल्टो फाल्दै लुतो फालिन्थ्यो।

यो बढाइ सकेपछि गाउँघरमा लुतो फाल्ने कार्य प्रारम्भ हुन्थ्यो । त्यतिबेला लुतो फाल्ने दिनदेखि तीन दिनसम्म गोरु जोत्नु हुँदैन भन्ने मान्यता थियो । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरलगायत केही धार्मिक स्थलमा सामूहिक रूपमा लुतो फाल्ने कार्यक्रम चलेको देखिन्छ ।

यस्ता प्रकारका मौलिक संस्कार अब सहरबाट प्रायः लोप भइसके भने पनि हुन्छ तर गाउँघर विशेषगरी कर्णाली क्षेत्रमा यो परम्परा अहिले पनि कायमै रहेको छ । बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ ।

रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो।

लुतो फाल्ने उत्सवको महत्त्व र गरिमा विषयमा चिन्तन मनन् नहुँदा र यसको उपादेयताको विषयमा भावी पुस्तालाई जानकारी गराउन नसक्दा यस्ता कतिपय संस्कार–परम्परा लोप हुने स्थितिमा छन् । लुतो फाल्ने उत्सव नेपालको समाज, संस्कृति, इतिहास र जनविश्वाससँग गाँसिएको छ भन्ने जानकारी गराउन आवश्यक छ।

यस पर्वलाई सचेतना दिवसका रूपमा पनि लिन सकिन्छ । सफा हुनाले छालाको रोग लाग्दैन भन्ने सन्देश यस पर्वले दिएको छ। यसैगरी विभिन्न जङ्गली झारपात तथा रुख–लहरा सञ्जीवनी बुटी हुन् ।

तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि यस लुते सङ्क्रान्तिले जगाएको छ । आयुर्वेद उपचार पद्धतिमा यस्ता वनसम्पदाको ठूलो महत्त्व छ तर हामीले यस्ता पद्धतिप्रतिको अविश्वास वा आधुनिक चिकित्साप्रतिको मोहका कारणले यस्ता वनस्पति चिन्न सकेका छैनौँ ।

यी प्राकृतिक विधि लोप हुने स्थितिमा छन् । तिउरी लगाउँदा हिलोले खाएका हात खुट्टालाई फाइदा हुन्छ भन्ने कुरा नै धेरैले बिर्सिसकेका छन् ।

तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न छालाका रोगबाट बच्न सकिने जनविश्वासका साथ कर्णाली क्षेत्रको ग्रामीण भेगमा यो चलन अहिले पनि चलिरहेको पाइन्छ । अनिकाललगायतका प्राकृतिक प्रकोप झेल्न नपरोस् भन्ने आशयले पनि यो लुते पर्वको चलन चलेको भनाइ पनि छ ।

साउने सङ्क्रान्तिको दिन दिउँसो खरानीमा कपडा पकाएर धुने चलनबाट त्यतिबेलाको सामाजिक स्थिति बुझ्न सकिन्छ। त्यो बेला साबुन, पाउडर जस्ता लुगा सफा गर्न प्रयोग हुने वस्तुको अभाव हुने हुँदा स्थानीय तवरबाटमा नै उपलब्ध हुने वस्तुको प्रयोग गरिन्थ्यो।

लुते सङ्क्रान्तिदेखि तीन दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो। बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ। यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो ।

यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो। यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो ।

गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो। यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो ।

यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका रिसराग विसङ्गति जस्ता समाजमा देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो ।

वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो।

हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुते फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व र उपादेयता देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो।

यस्ता संस्कारलाई भावी पुस्तासम्म पु¥याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ।

– प्राडा तीर्थप्रसाद मिश्र
(लेखक संस्कृतिविद् हुन्)

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:४८
##lutofestival
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्