Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? अब अनुहारको होइन, एजेन्डा
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, असोज २१, २०८३

काठमाडाैं । नेपाल संघीय संरचनामा प्रवेश गरेपछि स्थानीय तहले राजनीतिक अधिकार मात्र पाएनन्, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका धेरै जिम्मेवारी पनि पाए । गाउँ–गाउँमा सिंहदरबार पुग्यो भनियो । जनताले आफ्नै गाउँ–ठाउँबाट सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन र पूर्वाधार विकासका निर्णय लिन पाउने आशा गरे । 

तर दुईपटकको स्थानीय निर्वाचनपछि अब एउटा गम्भीर प्रश्न उठ्न थालेको छ–सिंहदरबार गाउँ पुग्यो कि सिंहदरबारको शैली मात्रै गाउँ पुग्यो ? संघीयताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । प्रदेश र संघका सरकारका निर्णयको प्रभाव जनतासम्म पुग्न समय लाग्न सक्छ । तर स्थानीय सरकारको कामको परिणाम जनताले आफ्नै आँगन, खेत, सडक, विद्यालय र बजारमा देख्न पाउनु पर्ने हो । स्थानीय सरकारको सफलता मापन गर्ने विधि पनि यही हो । स्थानीय तहले कागजमा कति निर्णय ग¥यो होइन, जनताको जीवनमा कति परिवर्तन ल्यायो ? भन्ने हो ।

निर्णयका फाइल ठूला, परिणाम साना

स्थानीय तहका निर्णयका फाइल ठूला छन् । परिणाम साना छन् । यसमा उदयपुरका स्थानीय तहलाई हेर्दा हुन्छ । स्थानीय तहले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउँछन् । बजेट बनाउँछन् । योजना छनोट हुन्छन् । विकासका प्राथमिकता तोकिन्छन् । कागजमा हेर्दा एउटा पालिकाले वर्षभरिमा गरेको कामको सूची निकै लामो देखिन्छ ।

सडक बनेका छन्, भवन बनेका छन्, विद्यालयका संरचना बनेका छन्, स्वास्थ्यचौकीका भवन बनेका छन्, खानेपानीका योजना आएका छन् । कृषि, पर्यटन, शिक्षा, महिला, युवा, दलित, ज्येष्ठ नागरिकदेखि उद्यमशीलतासम्मका कार्यक्रम बजेटमा समेटिएका छन् । तर प्रश्न फेरि त्यही हो–यीमध्ये कति कामले स्थानीय नागरिकको जीवनमा दीर्घकालीन परिवर्तन ल्यायो ? कतिपय ठाउँमा वर्षैपिच्छे सडकको नाम फेरिएर बजेट दोहोरिएको देखिन्छ । 

कतै एउटै प्रकृतिका संरचना बनाउने होड छ । कतै भवन बनेका छन् तर सञ्चालन गर्ने जनशक्ति छैन । कतै सडक पुगेको छ तर वर्षा लागेपछि सडकभन्दा बढी उच्च खोला देखिन्छ । कतिपय विकास योजनामा आवश्यकता भन्दा पनि पहुँच र राजनीतिक सम्बन्ध प्राथमिकतामा परेको गुनासो सुनिन्छ । 

यसलाई सबै स्थानीय तहको समान चित्र मान्न मिल्दैन । केही पालिकाले राम्रा अभ्यास पनि सुरु गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, डिजिटल सेवा तथा प्रशासनिक सुधारमा केही स्थानीय तहले अनुकरणीय काम गरेका छन् । तर अपवादका राम्रा कामले समग्र प्रणालीको कमजोरी ढाक्न सक्दैन । 

स्थानीय सरकारको पहिलो कार्यकालमा अनुभवको कमी थियो भन्न सकिन्थ्यो । दोस्रो कार्यकालमा त्यो बहाना पनि धेरै हदसम्म सकिएको छ । अब जनप्रतिनिधिसँग अनुभव छ, कर्मचारीसँग अनुभव छ, स्थानीय तहसँग आफ्नो संरचना छ र संघीयताको अभ्यास पनि नयाँ रहेन । त्यसैले अब प्रश्न ‘स्थानीय तहलाई काम गर्न गाह्रो भयो’ भन्ने होइन, ‘उपलब्ध अधिकार र स्रोतलाई परिणाममा किन बदल्न सकिएन ?’ भन्ने हुनुपर्छ ।

शिलन्यास र उद्घाटनको राजनीति

हाम्रो स्थानीय राजनीतिमा एउटा रोचक प्रवृत्ति विकसित भएको छ । विकासको मूल्यांकन कामबाट होइन, शिलन्यास र उद्घाटनबाट हुन थालेको छ । शिलान्यास भयो । उद्घाटन भयो । फोटो खिचियो । सामाजिक सञ्जालमा राखियो । समाचार आयो । त्यसपछि अर्को योजना ।

तर एउटा पुल बनेपछि त्यसले कति मानिसको यात्रा सहज बनायो ? एउटा विद्यालय भवन बनेपछि विद्यार्थीको सिकाइ कति सुधारियो ? स्वास्थ्यचौकी बनेपछि बिरामीले सेवा कति पाए ? खानेपानी आयोजना बनेपछि कति घरमा नियमित पानी पुग्यो ? सडक बनेपछि स्थानीय उत्पादन बजारसम्म कति सहज भयो ? यस्ता प्रश्नमा स्थानीय सरकार कमजोर देखिन्छ । अझ समस्या के छ भने स्थानीय तहमा ‘देखिने काम’ र ‘उपयोगी काम’बीचको फरक बुझ्न नसकिएको अवस्था छ । 

भवन देखिन्छ, सडक देखिन्छ, गेट देखिन्छ, स्वागतद्वार देखिन्छ । तर रोजगारी नदेखिन सक्छ । उत्पादन नदेखिन सक्छ । उद्यम नदेखिन सक्छ । शिक्षाको गुणस्तर नदेखिन सक्छ । यही कारण अब स्थानीय सरकारलाई केवल भौतिक संरचनाको संख्या देखाएर सफल भएको दाबी गर्ने छुट छैन ।

उदयपुरको सम्भावना र स्थानीय सरकारको परीक्षा

उदयपुर आफैँमा स्थानीय सरकारका लागि ठूलो प्रयोगशाला हो । प्राकृतिक स्रोत, वन, कृषि, नदी, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटन र उद्योगका पर्याप्त सम्भावना छन् । कटारी, त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढीका आ–आफ्नै सम्भावना छन् । तर सम्भावना र उपलब्धिबीचको दूरी अझै ठूलो छ । रौतामाई र ताप्लीका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्रमा त्यसको प्रभाव पर्न सक्छ । बेलका क्षेत्रमा पर्यटन, नदी तथा प्राकृतिक स्रोतसँग जोडिएका सम्भावना छन् । 

पहाडी पालिकामा कृषि र जडीबुटीका सम्भावना छन् । तर यी सम्भावनालाई स्थानीय आर्थिक गतिविधिमा बदल्ने दीर्घकालीन योजना कति बने ? पर्यटनस्थलमा सडक पुर्‍याउनु एउटा काम हो । त्यसपछि पर्यटक बस्ने ठाउँ, स्थानीय उत्पादनको बजार, सूचना केन्द्र, गाइड, सरसफाइ, सुरक्षा, प्रचार र नियमित कार्यक्रम बनाउनु अर्को काम हो । पहिलो काम गरेर दोस्रो नगर्दा पर्यटनको सम्भावना फाइलमै सीमित हुन्छ । अहिले त्यही भइरहेको छ । त्यसैले स्थानीय तहले अब ‘हामीले के बनायौँ ?’ भन्दा ‘हामीले के परिवर्तन गर्‍यौँ ?’ भन्ने प्रश्नको उत्तर दिनुपर्ने समय आएको छ ।

अब अनुहारको होइन, एजेन्डा

२०८२ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । पुराना राजनीतिक संरचनाप्रति असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालले नयाँ राजनीतिक पात्र जन्माइरहेको छ । यही वातावरण स्थानीय तहसम्म पनि पुगेको छ ।

२०८४ को स्थानीय निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम च्याउसरी बढ्न थालेको छ । कतिपयले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेका छन् । कतिपय उम्मेदवारका नाममा समर्थक समूह बनेका छन् । केही अभियन्ताहरूले स्थानीय तहलाई परिवर्तनको नयाँ प्रयोगशाला बनाउने दाबी गरेका छन् । यो आफैँमा खराब कुरा होइन । लोकतन्त्रमा नयाँ मानिस राजनीतिमा आउनु सकारात्मक हो । दलभन्दा बाहिरबाट सक्षम व्यक्ति आउनु पनि लोकतन्त्रकै शक्ति हो । वर्षौँदेखि एउटै राजनीतिक अनुहार दोहोरिरहँदा जनताले विकल्प खोज्नु स्वाभाविक हो । 

स्थानीय तहमा नयाँ सोच, नयाँ प्रविधि, पारदर्शिता र परिणाममुखी नेतृत्वको आवश्यकता छ । तर लोकप्रियता र क्षमता एउटै कुरा होइन । फेसबुकमा हो–हल्ला गरेर । पुरानालाई गाली र आरोप लगाएर । हजारौँ फलोअर देखाएर । हजारौँ मानिसको जीवनसँग जोडिएको सरकार सञ्चालन गर्नु फरक कुरा हो ।

सामाजिक सञ्जालमा राम्रो भिडियो बनाउन सक्ने क्षमता र करोडौँको सार्वजनिक बजेट व्यवस्थापन गर्ने क्षमता एउटै होइन । भ्रष्टाचारको विरोधमा भाषण गर्न सक्नु र खरिद प्रक्रिया, सार्वजनिक प्रशासन, कानुन, कर्मचारी व्यवस्थापन, योजना छनोट तथा बजेट कार्यान्वयन बुझ्नु फरक कुरा हो । जनताले यही अन्तर नबुझी केवल सामाजिक सञ्जालको लोकप्रियताका आधारमा स्थानीय नेतृत्व चयन गर्ने हो भने भोलि निराशा अझ ठूलो हुन सक्छ । ‘स्वतन्त्र’ वा नयाँ हुँ भन्दैमा हालका सबै समस्या समाधान हुँदैन । स्वतन्त्र वा नयाँ हुँ भन्ने नेतृत्वसँग पनि स्पष्ट नीति, टोली, आर्थिक अनुशासन, प्रशासनिक ज्ञान, विकासको प्राथमिकता र जवाफदेहिताको संरचना चाहिन्छ ।

नगरपालिका वा गाउँपालिकाको प्रमुख निर्वाचित भएपछि फेसबुक चलाएर मात्रै सरकार चल्दैन । त्यहाँ बजेट हुन्छ । कर्मचारी हुन्छन् । विधि, पद्धति, ऐन, कानुन र संविधान हुन्छ । खरिद प्रक्रिया हुन्छ । अदालत र अख्तियारसँग जोडिने विषय हुन्छन् । प्रदेश र संघसँग समन्वय गर्नुपर्छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । हजारौँ नागरिकका फरक–फरक माग व्यवस्थापन गर्नुपर्छ ।

त्यसैले ‘पुराना दलका नेतृत्वलाई हराउने’ एजेन्डा मात्र पर्याप्त हो भन्नु हुँदैन । ‘हराएपछि के गर्ने ? नयाँको के गतिविध ?’ भन्ने प्रश्नको उत्तर पनि चाहिन्छ । स्थानीय निर्वाचन अब अनुहारको होइन, एजेन्डाको हुनुपर्छ । २०८४ को स्थानीय निर्वाचनलाई विगतका दुई निर्वाचनभन्दा फरक बनाउने हो भने मतदाताले पनि आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ । 

उम्मेदवारले सडक बनाइदिन्छु भन्यो भने सडक कहाँ, कति लागतमा, कहिलेसम्म र कुन स्रोतबाट बनाउने भनेर सोध्नुपर्छ । रोजगारी सिर्जना गर्छु भन्यो भने कति रोजगारी ? कुन क्षेत्रमा ? निजी क्षेत्र कसरी जोडिन्छ ? स्थानीय उत्पादनको बजार कहाँ हुन्छ ? भनेर सोध्नुपर्छ । पर्यटन विकास गर्छु भन्यो भने केवल गेट र पार्क बनाउने कि पर्यटकलाई कम्तीमा दुई दिन बस्ने वातावरण बनाउने ? भनेर सोध्नुपर्छ । शिक्षा सुधार गर्छु भन्यो भने भवन बनाउने कि विद्यार्थीको सिकाइ सुधार गर्ने ? स्वास्थ्य सुधार गर्छु भन्यो भने भवन बनाउने कि चिकित्सकीय सेवा बढाउने ? भनेर सोध्नुपर्छ ।

अब उम्मेदवारको पोस्टरमा मुस्कानभन्दा पाँच वर्षको कार्ययोजना खोजिनुपर्छ । स्थानीय सरकारलाई असफल बनाउनु संघीयतालाई कमजोर बनाउनु हो । संघीयतालाई असफल बनाउनेहरु नयाँ र स्वतन्त्रको नाममा आउँदैछन् । स्थानीय तहका कमजोरीको आलोचना गर्नु संघीयताको विरोध होइन । बरु संघीयतालाई बलियो बनाउने पहिलो शर्त नै स्थानीय सरकारलाई परिणाममुखी बनाउनु हो ।

स्थानीय तह असफल भयो भने जनताले संघीयतामाथि प्रश्न उठाउँछन् । जनप्रतिनिधिले अधिकार पाएर पनि काम गर्न सकेनन् भने जनतामा निराशा बढ्छ । त्यही निराशालाई राजनीतिक असन्तुष्टि समूहलाई थप बल दिन्छ । तर स्थानीय तहले राम्रो काम गर्न सके संघीयताको सबैभन्दा बलियो औचित्य पनि त्यहीँबाट प्रमाणित हुन्छ ।

जागिर खाने थलो बनाउने कि जनताको जीवन बदल्ने

२०८४ को निर्वाचन केवल नयाँ मेयर, अध्यक्ष, उपाध्यक्ष वा वडाध्यक्ष छान्ने निर्वाचन होइन । यो दुई कार्यकालको स्थानीय शासनको परीक्षा पनि हो । अब मतदाताले प्रश्न गर्नुपर्छ–पाँच वर्षमा के भयो ? बजेट कहाँ गयो ? कुन योजना पूरा भयो ? कुन योजना अधुरो छ ? रोजगारी कति सिर्जना भयो ? स्थानीय उत्पादन कति बढ्यो ? शिक्षा र स्वास्थ्यमा के सुधार भयो ? करको पैसा कहाँ खर्च भयो ? र उम्मेदवारले पनि भन्न सक्नुपर्छ–‘मलाई जिताउनुस् ।’ होइन, ‘मलाई यी कामका आधारमा जाँच्नुस् ।’

स्थानीय सरकारलाई जागिर खाने थलो बनाउने कि जनताको जीवन बदल्ने थलो बनाउने भन्ने निर्णय अन्ततः मतदाताकै हातमा छ । २०८४ मा फेरि चर्को नारा, आकर्षक भिडियो, सामाजिक सञ्जालको लोकप्रियता र चुनावी प्रचारले मात्र मत माग्ने हो भने अर्को पाँच वर्षपछि फेरि उही प्रश्न दोहोरिनेछ । तर यसपटक अनुहार होइन एजेन्डा, नारा होइन परिणाम, लोकप्रियता होइन क्षमता र आश्वासन होइन जवाफदेहिता रोज्ने हो भने स्थानीय तह साँच्चिकै जनताको सरकार बन्न सक्छ । संघीयताको सबैभन्दा ठूलो परीक्षा सिंहदरबारमा होइन, स्थानीय नागरिकको घरदैलोमा हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
  • नंः ५ पासपोर्टमा सरकारको लापरबाही किन ?
विचार
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्