हँसिलो अनुहार, मिठो बोली, राम्रो व्यवहारले कसको मन जित्दैन र ! तर यहाँ मान्छेले आफूलाई आफैले चिन्न सक्दैन। आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकता दिँदै आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्छ ।
बोलीले होइन व्यवहारले काम देखाउनुपर्छ। सबैभन्दा पहिला सामूहिक भावना, सामूहिक संस्था, सामाजिक कार्यका लागि भेदभाव नहुनु महत्वपूर्ण हुन्छ। कसैलाई काखा कसैलाई पाखा गरिनु हुँदैन । एउटाको मात्र गल्ती देखाइरहनु भन्दा गल्ती गर्ने सबैका गल्तीहरु भन्न सक्नु मात्र भेदभाव रहित व्यवहार हो।
यसबाट गलत कार्य गर्ने सोच राख्ने व्यक्तिले सुध्रिने अवसर पाउँछ। त्यो भनेको व्यक्ति स्वयं र संस्थाका लागि पनि फाइदा हुनेछ । जब हामी आफ्नोपन राखेर गलत काम गर्नेहरूलाई प्रोत्साहन गरिरहन्छौं भने त्यो व्यक्तिले सदैव गलत कार्य नै सिकिरहन्छ आफूलाई सुधार्ने मौका नै पाउँदैन।
गलतको समर्थन गर्नु भनेको आफ्नो बनाएन स्वार्थ बाँड्नु हो साथै त्यहाँभित्रका केही फाइदा आफूले पनि लिनु ने हो। गलत कार्य गर्ने व्यवहार सुधार्ने अवसर नदिएर व्यक्तिलाई जीवनभर सिध्याउनु हो ।
घमण्ड, आवेग, रिस र एकअर्काप्रतिको भेदभाव मानिसका सबैभन्दा ठूला शत्रु हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ । तर जान्दाजान्दै पनि धनसम्पत्ति, राजनीतिक पहुँच, पद, पेशागत हैसियत, ज्ञान, सीप वा सिर्जनात्मक क्षमताको दम्भले मानिसको बोली र व्यवहारमा परिवर्तन ल्याउने गर्छ ।
आफूमा भएको क्षमता अरूलाई प्रेरणा दिन प्रयोग गर्नुपर्नेमा त्यसैलाई प्रभाव र प्रभुत्व देखाउने माध्यम बनाउँदा सम्बन्धहरूमा दरार पैदा हुन थाल्छ। कुनै संस्थामा व्यक्तिको पदभन्दा उसको व्यवहार महत्त्वपूर्ण हुन्छ ।
मधुर बोली, धैर्य, सहकार्य र सम्मानपूर्ण व्यवहारले कठिन कामलाई पनि सहज बनाउँछ । अप्ठ्यारो जिम्मेवारी आइपर्दा पनि धैर्यपूर्वक त्यसलाई पूरा गर्ने प्रयास गर्ने व्यक्तिले सहकर्मीको विश्वास र सम्मान प्राप्त गर्छ ।
तर आफ्नो सीप, ज्ञान वा प्रभावको दम्भ देखाउँदै अरूलाई हेप्ने, होच्याउने, कठोर शब्द बोल्ने वा सानो देखाउने व्यवहारले सहकर्मीको मन दुखाउँछ । त्यसको असर बिस्तारै व्यक्तिको सम्बन्ध, संस्थाको वातावरण र अन्ततः समाजसम्म पुग्छ ।
दम्भपूर्ण व्यवहारले व्यक्तिमा अहंकार र एक्लोपन, साथी तथा सहकर्मीमा निराशा र असुरक्षा, संस्थामा असहयोग गुटबन्दी तथा समाजमा अविश्वास र विभाजन बढाउन सक्छ । एउटा व्यक्तिको कठोर बोलीले कहिलेकाहीँ वर्षौँमा बनेको सम्बन्धलाई क्षणभरमै कमजोर बनाउन सक्छ। त्यसैले क्षमता हुनु ठूलो कुरा हो, तर क्षमतासँगै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विवेक हुनु अझ ठूलो कुरा हो ।
यसबाट बच्न प्रत्येक व्यक्तिले बोल्नुअघि सोच्ने, रिस उठेका बेला तत्काल प्रतिक्रिया नदिने, अरूको कुरा धैर्यपूर्वक सुन्ने, पद वा हैसियतका आधारमा भेदभाव नगर्ने, आफूभन्दा फरक विचारलाई सम्मान गर्ने र आफ्नो सफलतामा अरूको योगदानसमेत सम्झने बानी विकास गर्नुपर्छ। गल्ती हुँदा स्वीकार गर्ने र अरूको राम्रो कामको खुलेर प्रशंसा गर्ने संस्कारले सम्बन्धलाई अझ बलियो बनाउँछ ।
अन्ततः ज्ञानले मानिसलाई सक्षम बनाउँछ, धनले सुविधा दिन्छ, पदले अधिकार दिन्छ र सीपले पहिचान दिन्छ। तर विनम्रता, धैर्य र मधुर व्यवहारले मात्र मानिसलाई सम्मानित बनाउँछ ।
त्यसैले आफ्नो प्रभाव देखाउनुभन्दा आफ्नो व्यवहारबाट प्रभाव पारौँ। दम्भ होइन, सहकार्य रोजौँ; आवेग होइन, संयम हौँ । अपमान होइन, सम्मान रोजौँ। यही संस्कारले व्यक्ति, संस्था र समाजलाई स्वस्थ, सभ्य र सुदृढ बनाउँछ ।
नामी साप्ताहिक