उदयपुरको बेलका नगरपालिका-४ गुरुङचौरीमा रहेको जनता नमूना माध्यमिक विद्यालय नगरपालिकाकै उत्कृष्ट विद्यालयमा पर्दछ। बेलका नगरपालिकामा रहेका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक सम्मर राई उत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मानित पनि भएको थियो । उनै सम्मानित प्रधानाध्यापक राईसँग नामी साप्ताहिकका पत्रकार विदुर कटुवालले गरेको संक्षिप्त कुराकानी :
हाल तपाई के गरिरहनु भएको छ ?
मेरो खवर ठिक छ । म हाल विद्यालयमै छु । कक्षा ११ को विद्यार्थी भर्ना कार्यक्रम चलिरहेको छ। म जुनसुकै समय पनि विद्यालयमै भेटिने प्रधानाध्यापक हो ।
विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?
मेरो विद्यालयको शैक्षिक अवस्था पनि एकदम राम्रो छ । हामी अघि बढिसकेका छौँ । विद्यालयको अहिलेको वर्तमान अवस्था नियाल्दा विगतकोभन्दा धेरै राम्रो छ । अझ राम्रो बनाउने अभियानमा हामी छौँ । विद्यार्थीको आर्कषणको केन्द्रविन्दु बनेको छ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो छ भन्ने हल्ला छ। तपाईँको विद्यालयमा राम्रो हुनुका कारणहरु के के हुन् ?
सामुदायिक विद्यालयमा शैक्षिक अवस्था खस्कँदो अवस्था त छ । यसमा धेरै कारण जोडिएका छन्। तर, यस विद्यालयमा शैक्षिक गुणस्तर खस्केको होइन। बढेको छ । म २०७७ साल साउनमा म यस विद्यालयमा आएँ । आउँदा विद्यालयको शैक्षिक गुणस्तर उकास्ने धेरै सम्भावना देखेँ। गर्दै गएँ। अहिले पनि गरिरहेको छु । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँनु मुख्य कारणमा विद्यालयमा राजनैतिक संघ संगठन हुनु। विद्यालयमा राजनीतिक गतिविधि हुनु । राजनीतिक दलका भातृ संघ संगठनको विद्यालयमा सदस्य वितरण गर्नु । विद्यालयका शिक्षक शिक्षिकामा गुटको अवस्था बन्नु। यी मुख्य समस्या हुन् । मेरो विद्यालयमा अहिले कुनै पनि राजनीतिक दलका कार्यक्रम चल्दैनन् । राजनीतिक दलका स्थानीय नेताहरु पनि आउनुहुन्न। दलका भातृसंगठनका सदस्य विद्यालयमा छैन् ।

विद्यालयका शिक्षक र कर्मचारीहरु विद्यालयको समय राजनीतिक दलको कार्यक्रममा जानुहुन्न। जानु भयो भने विदा कटौती हुनेछ । विद्यालयका अविभावकलाई हामी फोन सम्पर्क गर्ने गर्छाैँ । विद्यार्थीको जानकारी लिन्छौँ। विद्यालयमा पढ्न आउनु भनेर निमन्त्रणा गर्छाैँ । अहिलेका विद्यार्थी सुविधामुखी हुन्छन् । यो गाउँ क्षेत्र हो । हामीले विद्यार्थी ल्याउनको लागि स्कूल बस सञ्चालन गरेका छौँ। जनता नमूना माध्यमिक विद्यालय गुरुङचौरी पूर्वी उदयपुरको एक नम्वर विद्यालय हो । आजको दिनसम्म कक्षा ११ मा २ सय १६ जना विद्यार्थी भर्ना भएका छन्। यस विद्यालयमा विज्ञान पढ्ने विद्यार्थीलाई सम्पूर्ण निःशुल्क छ । व्यवस्थापन र शिक्षामा त्यस्तै छ । त्यस्तै, बोर्ड टपर, गरीव र जेहेन्दार विद्यार्थीलाई लाग्ने सम्पूर्ण लागत खर्च स्कूलले नै व्यहोर्ने गरेको छ । त्यसैका कारण पनि विद्यार्थीको चाप छ । विद्यालयको शैक्षिक अवस्था गुणस्तर सुधार्न शिक्षक, अभिभावक एक हुनुपर्छ। बाँकी कुरा सबैपक्षबाट मिल्दै आउँछ ।
तपाईँलाई केही दिन अघि मात्र बेलका नगरपालिकाले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको थियो । किन होला ?
मलाई बेलका नगरपालिकाले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो । म एउटा शिक्षक हो। मलाई सरकारले शनिबारको पनि पैसा दिएको छ। त्यो विद्यालयमा गएर काम गर्नु भनेर । राज्यले जुन उदेश्यको लागि मेरो समय किनेको छ। त्यो समयमा मैले राज्यको काम गरेको हुँ। त्यो राज्यले दिने पैसा जनताको करबाट दिएको हो । त्यही पैसाको काम गर्दै आइरहेको छु । अझै गरिरहनेछु। त्यही राज्यले मलाई यस विद्यालयको प्रधानाध्यापकको रुपमा काम लगाएको छ । त्यही कामको मुल्याङ्कन गरेर बेलका स्थानीय सरकारले सम्मान गरेको हो। बेलका नगरपालिकाभरिका विद्यालयका प्रधानाध्यापकमध्ये म अलि धेरै काम गर्ने प्रधानाध्यापक परेँछु । नगरपालिकाले जुन मुल्याङकन गरेर सम्मान गरेको छ। त्यसको लागि बेलका नगर सरकारलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु ।
बेलका नगरपालिकामा रहेका तपाइँको विद्यालय र अन्य सामुदायिक विद्यालयको तुलना गर्दा के फरक पाउनु हुन्छ ?
मेरो विद्यालय र अन्य विद्यालय तुलना गर्दा धेरै फरक पाइने रहेछ । शैक्षिक गुणस्तरकै कुरा गर्दा हुन्छ। तीन चार वर्ष अघिदेखि हाम्रो विद्यालयको रिजल्टमा धेरै सुधार आएको छ । यो वर्षैपिच्छे बढिरहेको छ । आजको दिनसम्म बेलकाका अन्य सामुदायिक विद्यालयमा विदा छ। तर, मेरो विद्यालयमा छैन् । मेरो विद्यालयमा अहिले पनि कक्षा चलिरहेको छ । अन्य विद्यालयका शिक्षक/शिक्षिका विभिन्न राजनीतिक दलका संघ संगठनमा आवद्ध हुनुहुन्छ। तर, मेरो विद्यालयमा विद्यालयको समयमा पाइँदैन । मेरो विद्यालयमा भेट्नु हुन्न् । बेलकाबाट विज्ञान पढ्न काठमाडौं, धरान, विराटनगर जानु पर्दथ्यो। अहिले हामी यही पढाइरहेका छौँ । मेरो विद्यालयमा शिक्षक शिक्षिकाको लागि समय तालिका छ। अरु विद्यालयमा छैन्। विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी पनि अनुशासनमा हुन्छन् । अन्य विद्यालयमा छैन् । यस्तै यस्तै धेरै कुरा फरक पाउन सकिन्छ।
अहिले देशभरका शिक्षकहरु शिक्षा ऐन मागिरहेका छन्। यो शिक्षा ऐन नआउँदा के के समस्या छन् ? आउँदा कुन कुन समस्या समाधान हुन्छन् ?
शिक्षा ऐन वा नियमावली आउनु स्वभाविक हो । तर, त्यो शिक्षा ऐनमा मात्र अल्झेर बस्नु ठिक होइन्। शिक्षकहरुले स्थानीय तह मातहत विद्यालय राख्नु हुँदैन भनिरहेका छन् । त्यो गर्दा संविधान नै परिवर्तन गर्नुपर्ने हुन्छ । स्थानीय तह मातहत विद्यालय हुँदा पनि शिक्षक भाग्नु पर्ने जरुरी छैन्। डिउटी छाडियो भने मात्र समस्या हो । मेरो विचारमा विद्यालय स्थानीय तहमा राख्दा पनि ठिकै हुन्छ। त्यो शिक्षा ऐन आउँदा पनि ठूलो परिवर्तन केही हुँदैन। विद्यालयको गुणस्तर सुधार्न शिक्षकले खट्नु नै पर्छ । शिक्षण पेशाको धर्म निभाउनु नै पर्छ।
३० वर्ष अघि र पछिको उदयपुरको शैक्षिक अवस्था तुलना गर्दा कस्तो पाउनु हुन्छ?
अहिले धेरै फरक छ । पहिला सर्वप्रथम त, जनशिक्त पाइँदैन थियो । यसबीचमा जनशक्ति पाइन थालेको थियो। पहिला गणित विज्ञानका शिक्षक सिरहा र सप्तरीबाट ल्याउनु पर्दथ्यो । उहाँहरुमा भारतको विभिन्न ठाउँमा पढेर आएको हुनुहुन्थ्यो। यहाँ ल्याउँदा भाषाको समस्या हुने गर्दथ्यो। तर, पछिल्लो समय केही सहज थियो । त्यसपछि विदेशिने रोगले समस्या देखिन्छ । दक्ष जनशक्ति विदेश पलायन भइरहेको छ। यसमा राज्यले व्यवस्थापन गर्न नसकेको हो की ? नेपालमै पढ्ने वातावरण नभएको हो ? समस्या आइरहेको छ । अर्कोतर्फ ३० वर्ष उदयपुरमा विद्यालय धेरै कम थिए। अहिले धेरै ठाउँमा खुलेका छन् । एउटा गाउँमा दुईवटा विद्यालय पनि छन् । गाउँघरका विद्यालय मर्ज गर्नुपर्ने समय आएको छ। गाउँघरबाट बसाइँसराइ लिएर सुविधा सम्पन्न ठाउँमा जानेक्रम बढिरहेको छ । जसको कारण समस्या छ । समग्रमा उदयपुरको शैक्षिक अवस्थामा धेरै परिवर्तन आएको छ।
बेलका नगरपालिकाको शैक्षिक अवस्था सुधार गर्न नगरपालिकाबाट के के काम हुँदा राम्रो हुन्छ जस्तो लाग्छ ?
नगरपालिकाबाट बेलकाको शैक्षिक अवस्था सुधार्न विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ । प्रविधिमैत्री भएन भने विद्यार्थीले पत्याउँदैनन्। हामीले पढ्ने बेला कालोपाटीमा पढेका थियौँ । त्यसपछि सेतोपाटीमा पढायौँ । अहिले डिजिटल बोर्ड आयो। हामी पनि डिजिटल नै हुनुपर्छ। अब नगरपालिकाले शिक्षालाई प्रविधिमैत्री बनाउँदा धेरै राम्रो हुन्छ । यसमा नगरपालिकाले विद्यालयलाई सहयोग गर्न जरुरी छ।
याे पनि :
नामी साप्ताहिक