उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष मानबहादुर केप्छाकीमगर अहिले पालिका प्रमुख भएर काम गरिरहेको छ । उनी स्थानीय तह निर्माण हुनुभन्दा अघिको गाउँविकास समिति तावाश्रीको दुई कार्यकाल गाविस अध्यक्ष थिए।
अहिले स्थानीय तह बनेपछि २०७४ सालमा पहिलो पटक पालिका अध्यक्ष र २०७९ सालमा दोस्रो पटक पालिका अध्यक्ष निर्वाचित भए। उनै केप्छाकीमगरसँग पालिकाको विकास निर्माणका क्षेत्रमा भएका बिविध कामहरुका सेरोफेरोमा रहेर नामी साप्ताहिकका लागि पत्रकार विदुर कटुवालले गरेको कुराकानीको संक्षिप्त अंश ।
उदयपुरगढी गाउँपालिकाको दोस्रो कार्यकालको गाउँपालिका अध्यक्ष हुनुहुन्छ। पहिलो कार्यकालमा के के गर्नु भयो र दोस्रो कार्यकालमा के के गर्दै हुनुहुन्छ?
पहिलो कार्यकालका लागि २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएर आउँदा विद्युत, सञ्चार, खानेपानी, कृषि र सडकमा केन्द्रीत थियो। तिनै काम भएका थिए । पहिलो कार्यकालमै लगभग पालिकाभरि विद्युत विस्तार गरेका हौँ । पहिलो कार्यकालमा निर्वाचित हुँदा बाँकी रहेको पालिकाका केही बस्तीहरुमा दोस्रो कार्यकाल सुरु गर्दै गर्दा विद्युत विस्तार भएको हो । अहिले पालिकाको ९५ प्रतिशत घरमा विद्युत पुगेको छ। गाउँमा सडक सञ्जालको पहुँच राम्रो थिएन । २०७४ मा निर्वाचित हुँदा वडाका विभिन्न बस्तीहरुमा सडक विस्तार पनि गरेका हौँ। अहिले ति सडक कच्ची नै भएपनि बाह्रै महिना बाह्रैकाल सवारी साधन चल्ने भएका छन् । नेपालटार–उदयपुरगढी सडक जम्मा ८ किलोमिटर छ। त्यसमा दुई किलोमिटर कालोपत्रे र बाँकी ढलान सडक निर्माण सुरु गरेका छौँ ।
अन्य थप काम नि ?
खानेपानीको काम पनि निरन्तर जारी छ । ९० प्रतिशत खानेपानी पुगेको छ । १० प्रतिशतको काम जारी छ। कृषिमा पनि सरकारी तथा गैर सरकारी निकायको सहयोगमा व्यावसायिकरण गरेका छौँ । मेरो पालिकामा कति ठाउँमा मोवाइल फोन लाग्दैन थियो। ति स्थानहरुमा अहिले मोवाईलफोन चल्ने बनाएका छौँ । मेरो पहिलो कार्यकालमै सुरु भएका आर्थिक, सामाजिक, शिक्षा, रोजगार, स्वास्थ्य क्षेत्रमा सुरु भएका कामहरु अहिले निरन्तर जारी छ। समानुपातिक, समावेशी अवधारणबाट निरन्तर काम अघि बढिरहेको छ । भौतिक पूर्वाधारमा विद्यालयका भवन, वडा कार्यालयका भवन, सामुदायिक भवन पनि निर्माण भएका छन् ।
कृषिमा कसरी व्यावसायिकरण हुँदैछ ? प्रष्ट पारिदिनुहोस् न ...
कृषिमा बालिनाली तथा घरपालुवा पशुपंछीलाई जोड दिइएको छ । माटो र हावापानी सुहाउँदो बालिनालीको खेतीपातीमा कृषकलाई आर्कषित गर्ने र पशुपंछीमा पनि त्यस्तै गर्दै व्यावसायिकरण गरेका हौँ । त्यसबाट रोजगारी पनि सिर्जना भएको छ। खाडी मुलुक गएर कमाउने पैसा गाउँमै कमाइरहेका छन् । त्यसको लागि कृषकलाई तालिम, उन्नतजातको बिउबिजन, औषधी उपचारमा सहयोग गछौँ । मौसमी तथा बेमौसी तरकारी खेतीमा कृषकलाई आर्कषित गरेका छौँ । कृषि क्षेत्रमा जोडिएका सबै पक्षलाई एकसाथ अघि बढाएका छौँ । हाम्रो पालिकामा कृषि परिचयपत्र पनि वितरण गरेका छौँ। फर्म, समूहमार्फत कृषि कृषकलाई गोलबन्द गर्दैछौँ । अहिले उदयपुरगढी गाउँपालिका धान निर्यात गर्ने अवस्थामा पुगेको छ। गएको आर्थिक वर्ष झण्डै डेढ् करोडको धान निर्यात भएको छ । तरकारीमा वार्षिक रुपमा डेढ्देखि दुई करोडको निर्यात हुँदै आएको छ। यो हाम्रो पालिकाको तथ्यांक हो। पशुपंछी पनि निर्यात गर्न थालेको छ । तरकारी र धान उदयपुरगढी निर्यात गरिरहेको छ । जुन पालिका बाहिर जाने गरेको छ। उदयपुरगढी गाउँपालिका संघीय संरचनासँगै हामी पालिकामा आउँदा ९० प्रतिशत बाहिरैबाट आयात गरेर खानु पर्ने थियो। अहिले निर्यात हुन थालेको छ।
समानुपातिक तथा समावेशी नीति अनुसार बजेटको बाँडफाड्चाँही कसरी गर्नु भएको छ ?
समानुपातिक तथा समावेशी नीति अनुसार बजेटको बाँडफाँड हुन्छ । पालिकामा रहेका सबैलाई आवश्यकता अनुसार वितरण गर्ने गरेका छौँ। यसमा धेरै ठूलो बजेट दिन सकेका छैनौँ । तर, आवश्यकता अनुसार माग भएका दलित, महिला, जनजाति, अल्पसंख्यक समुदायको धर्म, संस्कार, संस्कृति संरक्षण गर्न पनि पालिका लागि परेको छ । ति पनि हाम्रा पालिकाका सम्पति हुन् । हामी संरक्षणमा जुटेका छौँ।
उदयपुरगढी गाउँपालिकाको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्दै हुनुहुन्छ। पहिलो कार्यकालदेखि अहिलेसम्म आउँदा नीतिगत समस्या के के पाउनु भयो?
नेपाल संघीय संरचनामा गएर कार्यन्वयनमा स्थानीय तह बनेको दश वर्ष लाग्दैछ । यसमा मैले २०७४ कै स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएर पनि काम गरेँ । पहिलो कार्यकालमा संघीय संरचना अनुसार पालिका, प्रदेश र संघीय सरकारलाई जोड्ने धेरै कानुनहरु पुरानै छन्। नयाँ नआउँदा समस्या छ । पालिका प्रमुख भएर काम गर्दा भोगेका नीतिगत समस्या तिनै हुन्। यसमा संविधानले पनि स्थानीय तहलाई ऐन कानुन बनाउने अधिकार दिएको छ । हामीलाई आवश्यक पर्ने ऐन कानुन गाउँपालिकाबाटै पनि बनाउनु पाउछौँ। संविधानले अधिकार दिएका अनि पालिकालाई आवश्यकता पर्ने ऐन कानुन पनि हामी आफैँ बनाएका छौँ । मेरो दोस्रो कार्यकालको नजरमा हेर्दा प्रदेश र संघीय सरकारले पनि धेरै कानुन बनाइसकेका छन् । जुन पहिलो कार्यकालमा थिएन । प्रदेश र संघीय सरकारले बनाउन बाँकी केही कानुन मात्र छ। जुन महत्वपूर्ण मानिन्छन्। ति बन्न नसक्नु दुख पक्ष छ । जस्तो शिक्षा ऐनकै कुरा लिँदा हुन्छ । त्यो शिक्षा ऐन संघीय सरकारले स्थानीय तहलाई जिम्मा दिँदा हामी बनाएर कार्यन्वयनमा ल्याउन सक्छौँ। त्यसले गर्दा शिक्षा क्षेत्रमा केही समस्या अझै पनि छ । यस्ता महत्वपूर्ण काममा संघीय सरकारले जोड दिँदा राम्रो हुन्छ। हाल संघीय सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखान जस्तै बनेको छ ।
भनेपछि ऐन कानुन, नीति, नियम बनाउन संघीय सरकार गम्भीर बनेको देख्नु भएन ?
संघीय संसद्मा ऐन, कानुन, नीति नियम बनाउन गएकाहरु बजेटमा अलमलिने प्रबृत्ति छ। राजनीतिक दल पनि गैरजिम्मेवार छन्। सरकार बनाउने र एकले अर्कालाई आरोप प्रतिआरोप लगाउने काममा उद्यत देखिन्छ । ऐन, नीति, नियम, कानुन बनाएर देशको समस्या हल गर्ने समय हो। देशलाई सम्बृद्धिको बाटो अघि बढाउने समय हो । त्यसमा पो संघीय, प्रदेश र स्थानीय सरकार गम्भीर बन्नुपर्छ।
दुई पटक गाउँविकास समिति तावाश्रीको गाविस अध्यक्ष हुनुभयो। अहिले लोकतान्त्रिक गणतान्त्रिक नेपालले निर्माण गरेको उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पनि दोस्रो कार्यकालको रुपमा काम गरिरहनु भएको छ। गणतन्त्र अगाडि र पछाडिको उदयपुरगढी कस्तो थियो ? गणतन्त्रले विकास ल्याएको हो ?
म पञ्चायती व्यवस्था पछि बहुदलीय व्यवस्थामा दुई पटक तावाश्री गाविसको अध्यक्ष भएको हुँ। त्यसवेला हेर्दा जनप्रतिनिधि अहिले जसरी खुला रुपमा काम गर्न असहज नै थियो । अहिलेको लोकतान्त्रिक गणतन्त्र आएपछि जसरी काम गरिएको छ। त्यसबेला गर्न सकिने अवस्था थिए। पहिलाको हेरी अहिले धेरै विकास निर्माणका कामहरु भएका छन् । यदी गणतन्त्र नआएको भए विकासले यति छिटो छलाङ मार्दैन थियो। अहिले पहिलाको तुलनामा धेरै विकास भएको छ । उदयपुरगढी मात्र होइन, देशभरी यातायात, भौतिकपूर्वाधार, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिजन्य उत्पादन, विद्युत विस्तारमा धेरै ठूलो फड्को मारेको छ । यो गणतन्त्रको उपलब्धी हो । गणतन्त्र अघि गाउँघरमा बोल्न डराउनु पर्ने अवस्था थियो। अहिले त्यो छैन। पालिका अध्यक्षलाई भेटेर जो कोही नागरिकले आफ्नो, टोलको, गाउँको समस्या राख्न पाएका छन्। विरोध र सर्मथन गर्न पाएका छन्। तर, समाजमा अनुशासनहीनता पनि बढेको देखिन्छ ।
कसरी ?
जसमा कति कुरा बोल्नु पर्ने हो ? कति बोल्नु नहुने हो ? त्यसमा नागरिकले वा बोल्ने मान्छे ? विरोध गर्नेहरुले विचार पुर्याउनु पर्ने जस्तो लाग्छ। अतिकति अनुशासनहीनता बढेको महशुस हुन्छ ।
तपाइँको पालिकामा पर्यटन र शिक्षाका क्षेत्रमा के के काम भएका छन् ?
पर्यटनमा पनि धेरै काम भएका छन् । शिक्षामा पनि छ । शिक्षामा हालसम्म संविधानले पालिकालाई दिएको अधिकार प्रयोग गरेर गर्नु पर्ने सबै काम गरिएका छन् । आवश्यकता अनुसार दरबन्दी मिलान, विद्यालयका भवन निर्माणदेखि प्रविधिमैत्री बनाउने लगायतका काम भएका छन्। अनि पर्यटनमा हाम्रो पालिकाले धेरै ठूलो फड्को मारिरहेको छ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। त्यसैगरी परेवा झर्ना, हाडेटारको गुफा लगायतका पर्यटकीय क्षेत्रमा परिवर्तन आउन थालेको छ। पर्यटनलाई आवश्यक सडक रहेछ। लगभग सबै पर्यटकीय क्षेत्रमा सडक सञ्जाल पुगिसकेको छ ।
त्यसैले यस पालिकाले हरेकक्षेत्रको विकासमा फड्को मारिसकेको छ। अझ यसलाई हामी चुस्तदुरुस्त र व्यवस्थित बनाउँदै लैजानेछौ।
याे पनि :
नामी साप्ताहिक