लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको रम्भा गाउँपालिकाको प्राकृतिक स्रोत साधनले भरिपूर्ण गाउँपालिका हो। त्यही गाउँपालिकामा दोस्रो कार्यकालको रुपमा पालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी छन् । साविक हुंगि गाउँ बिकास समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका भण्डारी संघीयता पछि पहिलोपटक २०७४ सालमा र दोस्रो पटक २०७९ सालमा पुनः पालिका अध्यक्षको जिम्मेवारीमा दाहोरिएका छन्। रम्भा क्षेत्रमा मात्र नभइ पाल्पामा पनि लोकप्रिय नेताको छवि बनाएका भण्डारीले रम्भा गाउँपालिकामा ल्याएको परिवर्तनको बारेमा नामी साप्ताहिकका सम्वाददाता मिलन काफ्लेले अध्यक्ष भण्डारीसँग गरेको कुराकानीको सार संक्षेप :
दोस्रो पटक पनि जनताले तपाइँलाई रम्भा गाउँपालिकाको अध्यक्षमा निर्वाचित गराएको छ । अहिले धमाधम काम गरिरहनु भएको छ । रम्भा गाउँपाकिलामा पहिलो र दोस्रो कार्यकालमा के-कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
पहिलो कार्यकालमा हामी संघीयता कार्यान्वयनको चरणमा थियौँ । नयाँ अभ्यासमा भएकाले जनशक्ति व्यवस्थापन, कार्यस्थल व्यवस्थापन, विभिन्न ऐन नियम, कार्यविधि बनाउने काम मै व्यस्त हुनुपर्याे । त्यसका बाबजुद् पनि पालिकाभित्रका सवै वडामा सडकको पहुँच बिस्तार, विद्युतीकरण लगायतका काम अनि शिक्षा, स्वास्थ्यलाई पनि जनमुखी बनाउने प्रयास सुरु गरेका थियौँ । जुन पहिलो कार्यकालको थियो। अहिले दोस्रो कार्यकालमा पहिलो कार्यकालमा सुरु भएका कामको निरन्तरता छ । पूर्णता दिने नै काम जारी छ ।

जस्तैः गाउँपालिकाको केन्द्र निर्धारण गर्न सफल भएका छौँ। सबै टोल वस्तिमा कच्ची सडक पुगेको छ । पालिकासम्म आउने सडक कालोपत्रे भएको छ। कृषि पशुपालनमा व्यावसायिकतामा वृद्धि भएको छ। पालिका कृषकलाई प्रोत्साहन गर्न लागि परेको छौं । शिक्षा, स्वास्थ्यको पनि गुणस्तर कायम गराउँदै लगेका छौँ।

हालसम्म तपाइँले गर्नु भएको महत्वपूर्ण कामहरू के-के हुन्? जुन पालिकाको इतिहासमा दर्ज भएका छन् ।
मेरो कार्यकालको महत्वपूर्ण काममा धेरै छन् । भन्नुपर्दा, विविध कारणले गाउँपालिकाको केन्द्र निर्धारण हुन सकेको थिएन। त्यसको टुङ्गो लगाएर गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सुरु भएको छ । जो मेरै कार्यकालमा सम्पन्न हुदैँछ। दोस्रो प्रशासकीय भवनसम्म आउने सडकसहित जम्मा सात किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।

वडा नम्वर १ बाट करिब तीन करोडको लिचि निर्यात गरिएको छ। चिस्यान केन्द्र (कोल्ड स्टाेर) निर्माण भएको छ । सबै स्वास्थ्य संस्थामा ल्याब सेवा तथा प्रसूति सेवा सुरु भएको छ। हाम्रो गाउँपालिकामा मगर जनजातिको बाहुल्यता छ। वडा नम्वर २ मा जनजाति संग्रहालय तथा मगर संस्कृति झल्किने होम स्टेको सुरूवात छ । यसैगरी महत्वपूर्ण काममा कृषि क्षेत्रमा ठूलो सुधार भएको छ। महत्वपूर्ण काम धेरै भएका छन् । जसले पालिकाकै मुहार फेरिँर्दै छ ।
स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारको सहयोग कतिको आवश्यक हुँदो रहेछ ?
खासगरी अर्थसँग सम्बन्धित विषय, ठूला आयोजनाहरू तथा कर्मचारी व्यवस्थापनमा संघीय सरकार तथा प्रदेश सरकारको सहयोग चाहिन्छ। त्यसमा पनि पालिकाको आफ्नो आन्तरिक स्रोत कति छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । पहिलो कार्यकालमा प्रदेश तथा संघ सरकारसँगको सम्पर्क समन्वय तथा पहुँचमा अलि समस्या भएको अनुभव भएको थियो । त्यस विस्तारै सुधार गरी पालिकालाई अघि बढाएको थिएँ। दोस्रो कार्यकालमा धेरै सहज भयो।
काम गर्दा आउने नीतिगत समस्या के के पाउनु भयो ?
मेरो अनुभवमा नीतिगत समस्यामा छन् । देश संघीय संरचनामा गइसकेपछि प्रदेश र संघीय सरकारले समयमै आवश्यकता अनुसार कानुनहरु नबनाउँदा समस्या छन् । जस्तैः निजामति सेवा ऐन, शिक्षा ऐन समयमा नआउँदा का समस्या छन्। भएका कानुन पनि आपसमा बाझिनु तथा सही समयमा बजेट निकासा नहुँदा केही पीडा छन् । अहिलेको अवस्थामा व्यवहारिक रुपमा ति समस्याहरु हल गर्दै आएको छु।
नीतिगत समस्या समाधानको विषयमा के के गर्नु भएको छ?
नीतिगत समस्या समाधान गर्न पालिकाले बनाउन पाउने ऐन, कानुन, कार्यविधि हामीले नै बनाएका छौँ। प्रदेश सरकारले बनाएकालाई पनि प्रयोगमा ल्याएका छौँ । संघीय सरकारबाट प्रचलनमा रहेका ऐन कानुन पनि छन् । त्यसपनि समस्या परेको नीतिगत समस्यामा प्रदेश तथा संघीय सरकारसँग निरन्तर सम्पर्क, समन्वय, गोष्ठीहरुमा पनि कुरा उठाउनुको साथसाथ समाधानको उपाय खोज्ने गरेको छु।
रम्भामा पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, तथा सामाजिक न्यायको क्षेत्रमा कसरी अगाडि बढिरहेको छ ?
हामीले नीति तथा कार्यक्रमबाटै कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । योजनाबद्ध रुमपा अघि बढाइरहेका छौँ। आवश्यक ऐन, नियम, कार्यविधिसहित प्रस्ट जिम्मेवारी र जनशक्ति व्यवस्थापन गरेका छाै। जस्तैः पर्यटकीय रम्भादेवी क्षेत्र, रिमिघा क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । होम स्टे सुरूवात भएको छ । संस्कारसहितको शिक्षाको लागि कालीगण्डकी गुरूकुल सञ्चालनमा छ।

उत्तरवाहिनी तथा रमणेश्वर महादेव मन्दिर तथा हुमीन राधाकृष्ण मन्दिरमा पूर्वाधार निर्माण लगायतका प्रबद्र्धानात्मक तथा प्रचारात्मक काम भईरहेको छ। यस्तै कृषिमा दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्दै छ । उत्पादनमा आधारित अनुदान, मागमा आधारित अनुदान, परम्परागत तथा रैथाने बाली प्रबद्र्धन, स्मार्ट कृषि गाउँ, लिचि पकेट कार्यक्रम सुरु गरेका छौँ ।

विद्यार्थीलाई दिवाखाजाको लागि थप अनुदानको व्यवस्था, बालमैत्री स्थानीय शासन, शिक्षक दरबन्दी मिलान तथा विद्यालय मर्जका काम पनि सुरु भएका छन् । पालिकाभित्र विद्यार्थी, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयम सेवीकाहरूको निःशुल्क दुर्घटना वीमा, विपन्न बर्गमा स्वास्थ्य वीमा, कर्मचारी कल्याण कोष, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, टोल विकास समितिको गठन र पदाधिकारीमा क्षमता विकासका कार्यक्रम जारी छन् । एक घर एक घारा, टुकीरहित गाउँपालिका, पूर्णखोप सुनिश्चितता, पूर्ण साक्षरता, सुरक्षित नागरिक आवास, सामुहिक आवास लगायतका काम पनि सम्पन्न भएका छन् ।
रम्भा गाउँपालिकामा रिमिघालेकमा यार्सागुम्बा भेटिएको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको छ । यसको संरक्षण र बिक्रि वितरणका लागि के गर्दै हुनुहुन्छ?
रिमिघालेकमा भेटिएको यार्सागुम्बाको प्रयोगशालामा परिक्षण गरिएको छ । हाल खाद्य तथा गुणस्तर विभागले यसको विस्तृत अध्ययन तथा परिक्षण गरिरहेको छ । बाँकी काम त्यस पछाडि हुने नै छ ।
संघीयता अघि र पछिको तुलना गर्दा के कस्तो फरक पाउनुहुन्छ?
संघीयता अघि र पछिको नेपाल तुलना गर्दा धेरै फरक छ । त्यसमा पनि रम्भा गाउँपालिकामा धेरै परिवर्तन भएको छ। संघीयता आएपछि रम्भामा शिक्षा, स्वास्थ्य जस्ता विषय धेरै परिवर्तन आएका छन् । स्थानीय परिवेश, भूगोल तथा जनभावना अनुरूप काम गर्न पाइएको छ। समावेशी तथा समानुपालिका विकास भएको छ । जनताले पनि सोही अनुरूपको सेवा लिने, आफ्ना समस्या स्थानीय सरकारलाई राख्न पाएका छन्।
तपाइँले गर्नै पर्ने, तर विभिन्न कारणले गर्न नपाएका कामहरू केही छन्?
मुख्य रुपमा सडकको गुणस्तर सोंचे जस्तो बनाउन सकेको छैन् । आन्तरिक आम्दानी वृद्धि गर्न सकिएको छैन्। कर्मचारीको उचित व्यवस्थापन तथा उच्च मनोवल कायम गर्न विविध समस्याले हुन सकेको छैन् । संघीय सरकार, प्रदेश सरकारले दिनुपर्ने बजेट, ऐन, कानुन, नियम दिए राम्रो हुने थियो। मैले भनेका कुरा पूरा हुँदा रम्भा गाउँपालिकालाई आर्थिक सम्बृद्धिको बाटोमा सहजै डोर्याउन सकिने थियो।
याे पनि :
नामी साप्ताहिक