काठमाडौं । सन् २०२६ को सुरुवातसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष जनवरी महिनामा पर्यटक आगमन १५.७ प्रतिशतले बढेको हो ।
गत वर्षको जनवरीमा ७९ हजार ९९१ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको पहिलो महिनामै ९२ हजार ५७३ अन्तर्राष्ट्रिय आगन्तुकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो तथ्याङ्क कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि करिब १४ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ ।
सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए भने सन् २०२४ को जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२६ को जनवरीमा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा रहेको छ । भारतपछि चीन, अमेरिका, बङ्गलादेश र अस्ट्रेलिया रहेका छन् । कोभिड–१९ महामारीका कारण घटेको चिनियाँ पर्यटक आगमन पछिल्लो समय पुनः बढ्न थालेको बोर्डको तथ्याङ्कले देखाएको छ । यसअघि चीनलाई उछिन्दै दोस्रो स्थानमा रहेको अमेरिका पछिल्लो महिनामा तेस्रो स्थानमा झरेको छ ।
बोर्डका अनुसार जनवरी महिनामा भारतबाट २६ हजार ६२४, चीनबाट नौ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ र अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल आएका छन् । कुल आगन्तुकमध्ये सार्क मुलुकबाट ३९ प्रतिशत, एसियाली देशबाट २६ प्रतिशत र युरोपेली देशबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०२६ को पहिलो महिनाको तथ्याङ्कले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको सङ्केत दिएको बताए । उनका अनुसार पछिल्ला वर्षमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्कको विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुँदै गएकाले पर्यटक आगमन निरन्तर बढ्दै गएको हो ।
पर्यटकीय गतिविधिमा देखिएको चहलपहलले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्न सहयोग पुगेको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०८२ १६:१०