उदयपुर । उदयपुरका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका दुईपटक निर्वाचित कार्यकारिणी सदस्य प्रयास कार्कीले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि ६ लाख ६६ हजार ६६६ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
प्राकृतिक विपद्बाट पीडित नागरिकलाई संकटको घडीमा साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्कीले व्यक्तिगत तथा व्यावसायिक क्षेत्रबाट उक्त सहयोग उपलब्ध गराएका हुन् ।
कार्कीले व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी कुल ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गरेका हुन् । रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उनले बताएका छन् ।
विपद्को पीडामा परेका नागरिकलाई राज्यको मात्र नभई समाजका सबै क्षेत्रको साथ आवश्यक पर्ने उल्लेख गर्दै कार्कीले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए । उनले भने, ‘मैले दुवैतिरबाट गरी ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गरेको छु । विपद्को समयमा पीडित नागरिकलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले यो सहयोग गरेको हुँ ।’
भोटेकोशी बाढीसहित देशका विभिन्न स्थानमा प्राकृतिक विपद्का कारण ज्यान गुमाउने नागरिकप्रति कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा विस्थापित नागरिकको उद्धार, उपचार, राहत र दीर्घकालीन पुनस्र्थापनामा सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
‘विपद्ले जात, धर्म, भूगोल वा आर्थिक हैसियत हेर्दैन,’ उनले भने, ‘यस्तो बेला एकअर्काप्रति सहयोग र सद्भाव देखाउनु नै सबैभन्दा ठूलो मानवीय धर्म हो । हामी जहाँ छौँ, जुन अवस्थामा छौँ, आफ्नो क्षमताअनुसार पीडितको साथमा उभिनुपर्छ ।’
कार्कीले विपद्को समयमा व्यक्तिगत तथा व्यावसायिक हैसियतभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने बताए । प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको पीडा साझा पीडा भएकाले सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आमनागरिक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार तत्काल राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनस्र्थापनामा पनि ध्यान दिन आवश्यक छ । विपद्का कारण घरबारविहीन भएका, आफन्त गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा दुईपटक निर्वाचित कार्की उदयपुरका स्थापित व्यवसायी हुन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उनले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा समेत सक्रियता देखाउँदै आएका छन् । पछिल्लो विपद्का बेला उनले गरेको आर्थिक सहयोगले निजी क्षेत्र केवल नाफा र व्यवसायमा सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि संवेदनशील रहेको सन्देश दिएको छ ।
विपद् प्रभावित नागरिकका लागि सरकार तथा विभिन्न संघसंस्थामार्फत राहत संकलन भइरहेका बेला निजी क्षेत्रका व्यवसायीको सहभागिताले सहयोग अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । एउटा व्यक्ति वा संस्थाले गरेको सानो सहयोग पनि धेरै पीडित परिवारका लागि आशा र भरोसाको आधार बन्न सक्ने भएकाले सामूहिक सहयोगको भावना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
कार्कीको सहयोगले संकटको समयमा आर्थिक रूपमा सक्षम व्यक्ति तथा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सकारात्मक सन्देश पनि दिएको छ । विपद्को घडीमा सहयोग रकमको आकारभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने र सामूहिक प्रयासबाटै पीडित नागरिकलाई पुनःस्थापनाको यात्रामा साथ दिन सकिने उनको विश्वास छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिक अहिले राहतसँगै पुनःस्थापनाको चुनौती सामना गरिरहेका छन् । यस्तो अवस्थामा विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोगले उनीहरूलाई तत्कालीन आवश्यकता पूरा गर्न मात्र नभई नयाँ जीवन सुरु गर्ने आत्मबलसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विपद् मानव जीवनमा आउने अप्रत्याशित चुनौती भए पनि संकटको समयमा देखिने सहयोग, सद्भाव र मानवीय एकताले समाजलाई थप बलियो बनाउने गर्दछ । व्यवसायी कार्कीले गरेको सहयोग पनि यही मानवीय एकताको उदाहरणका रूपमा लिइएको छ । उनले आफ्नो सहयोगमार्फत अन्य सक्षम व्यक्ति, व्यवसायी तथा संस्थालाई समेत विपद् प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
देशमा जुनसुकै क्षेत्रमा विपद् आए पनि त्यसलाई कुनै एक भूगोलको मात्र समस्या नठानी साझा राष्ट्रिय पीडाका रूपमा बुझ्नुपर्ने कार्कीको भनाइ छ । ‘आज संकटमा परेका नागरिकलाई हामीले साथ दिन सक्यौँ भने भोलि समाजमा सहयोग र मानवीयताको संस्कार अझ बलियो बन्छ,’ उनले भने ।
विपद्ले भौतिक संरचना भत्काउन सक्छ, जीवनलाई पीडामा धकेल्न सक्छ, तर मानवीय सहयोग, सद्भाव र एकताले पुनः उठ्ने शक्ति प्रदान गर्ने भएकाले संकटको घडीमा सबै नेपाली एकजुट हुनुपर्ने सन्देश कार्कीको सहयोगले दिएको छ ।