उदयपुर । उदयपुरका पहाडी क्षेत्रमा नगदे बालीका रूपमा परिचित हुँदै गएको सुन्तला, जुनार र कागती खेती किसानका लागि आम्दानीको आकर्षक स्रोत बन्दै गएको छ । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्र यी फलफूल बिक्रीबाट जिल्लामा ३१ करोड १८ लाख ५० हजार नगद भित्रिएको छ ।
ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार उक्त आम्दानी उत्पादन गर्ने कृषकले घरमै उपभोग गरेको, कोसेली वा उपहारका रूपमा दिएको परिमाण कटाएर भएको हो । ‘३१ करोडको आम्दानी भन्नाले बजारमा बिक्री भएर आएको रकम हो,’ यादवले भने, ‘त्यसमध्ये केही जिल्लाबाहिर गएको छ भने केही जिल्लाभित्रै बिक्री भएको छ ।’
गाउँ–गाउँमा ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै बजार पहुँच सहज बन्दै गएको छ । जसका कारण पहाडी क्षेत्रमा हिउँदे फलफूल खेती विस्तार हुँदै गएको हो । उनका अनुसार जिल्लाका आठवटै पालिकामा अहिले पाँच सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला, जुनार र कागती खेती हुँदै आएको छ । ‘पाँच वर्षअघिको तुलनामा यसको क्षेत्रफल झन्डै दोब्बरले विस्तार भएको छ,’ उनले भने ।
यस वर्ष जिल्लामा चार सय ७० हेक्टर क्षेत्रफलमा भएको सुन्तला खेतीबाट तीन हजार नौ सय ९५ मेट्रिकटन उत्पादन भएको छ । उक्त उत्पादन बिक्रीबाट २७ करोड ९६ लाख ५० हजार जिल्लामा भित्रिएको कृषि ज्ञानकेन्द्रको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, ६४ हेक्टर क्षेत्रफलमा जुनार खेतीबाट पाँच सय २५ दशमलव ६ मेट्रिकटन उत्पादन भई तीन करोड १५ लाख आम्दानी भएको छ । कागती खेती भने ११ हेक्टर क्षेत्रफलमा हुँदै आएको छ, जसबाट ७० लाख रुपैयाँ आम्दानी भएको ज्ञानकेन्द्रले जनाएको छ ।
कृषि ज्ञानकेन्द्रका अनुसार सुन्तला जोन कार्यक्रमले सुन्तला जातका फलफूल खेती विस्तारमा महत्वपूर्ण सहयोग पुर्याएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, दिक्तेल खोटाङअन्तर्गतको जोन प्राविधिक इकाइ, गाईघाट उदयपुरका अनुसार उदयपुरमा विगत १० वर्षदेखि सुन्तला जोन कार्यक्रम सञ्चालनमा छ ।
यसैका कारण सुन्तला जातका फलफूल खेती निरन्तर विस्तार हुँदै गएको हो । जोन प्राविधिक इकाइ, गाईघाट उदयपुरका प्रमुख दीपेन्द्र मनोहर चौधरीका अनुसार हाल सुन्तला जातका फलफूल खेती पाँच सय ७६ हेक्टर क्षेत्रफलमा विस्तार भइसकेको छ । ‘सुन्तला जोनअन्तर्गत सुन्तला, जुनार र कागतीलाई समेटिएको छ,’ उनले भने, ‘जोन कार्यक्रमको विस्तारले उत्पादन वृद्धिमा उल्लेखनीय योगदान दिएको छ ।’
जोन प्राविधिक इकाइ, गाईघाटका अनुसार कटारी नगरपालिकाका वडा नं ९, १०, ११, १३ र १४, ताप्ली गाउँपालिकाका– १ देखि ५ सम्म, लिम्चुङबुङ गाउँपालिकाका वडा नं १ देखि ५ सम्म तथा रौतामाई गाउँपालिकाका वडा नं २ देखि ८ सम्म सुन्तला जातका फलफूल जोन सञ्चालनमा छन् । नयाँ पत्रिकाबाट