उदयपुर । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले कुल ९७ करोड ४६ लाख ५ हजार ८ सय ५६८८ बराबरको बजेट विनियोजन गरेको हो । नगरपालिकाले नागरिकको जीवनस्तर उकास्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र दिगो विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।
नगरपालिकाको आइतबार सम्पन्न १७ औं नगरसभामा प्रस्तुत बजेटका प्रमुख स्रोतमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने शसर्त तथा समानीकरण अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानी रहेका छन् । नगरपालिकाको आफ्नै स्रोतबाट चालु तथा पुँजीगत खर्चका लागि करिब ४४ करोड ९० लाख विनियोजन गरिएको छ ।
संघीय सरकारबाट शसर्त अनुदान ४५ करोड १२ लाख, वित्तीय समानीकरण अनुदान १२ करोड ८२ लाख, प्रदेश सरकारबाट शसर्त अनुदान ३ करोड २७ लाख तथा राजस्व बाँडफाँटबाट १८ करोड ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आम्दानी करिब ७ करोड र अघिल्लो वर्षको मौज्दात १ करोड रहेको छ ।
बजेटका विशेष प्रथामिकता
यस वर्षको बजेटमा कटारीमा युवालाई उद्यमशीलतामा आकर्षित गर्न ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम समावेश गरिएको छ । नवप्रवर्तनशील व्यवसायलाई प्रोत्साहन गर्न कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । त्यसैगरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि विस्तार गर्ने योजना लिएको छ ।
स्वास्थ्य क्षेत्रमा कटारीमा सञ्चालन भइरहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ । साथै वडा नम्बर ११ गहुँबारीमा पाँच शैय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आधार तयार गरिएको छ ।
पूर्वाधार विकासअन्तर्गत महाभारत पहाडी क्षेत्रका वडा नं. ९, १० र १३ मा बाह्रैमास सवारी सञ्चालन हुने सडक निर्माणका लागि संघ, प्रदेश र नगरको समपूरक कोषमार्फत करिब ३ करोड रुपैयाँको योजना अघि बढाइने भएको छ । त्यसैगरी अधुरो कटारी बहुउद्देश्यीय पार्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरिएको छ । कटारी बसपार्कलाई आधुनिक टर्मिनलसहित विस्तार तथा स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको छ । वडा नं. ८, ११ र १३ का अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न स्रोत व्यवस्थापन गरिएको छ ।
गत आर्थिक वर्षमा पनि नगरपालिकाले पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । सडक बोर्ड नेपालसँगको साझेदारीमा वडा नं. १, १२ र १४ मा सडक ढलान गरिएको थियो भने यस वर्ष वडा नं. ३, ५ र ७ मा सडक स्तरोन्नति गरिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं. ३ बलिया सिँचाइ आयोजना (७५० मिटर) र वडा नं. ७ राजाबास सिँचाइ आयोजना (४५० मिटर) गरी कुल १ हजार २०० मिटर सिँचाइ कुलो निर्माण गरिएको छ ।
वडा नं. ९, १०, १२ र १४ मा विद्यालय भवन निर्माण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १० वटा बायोग्यास प्लान्ट निर्माण, १३० भन्दा बढी सुधारिएको चुलो वितरण तथा करिब १ हजार ५०० विद्युतीय चुलो वितरणको काम अघि बढाइएको छ ।
खानेपानी क्षेत्रमा गैर सरकारी संस्थासँग सहकार्य गरी वडा नं. ५ भोर्ले तथा वडा नं. ४ त्रिवेणी मावि र मरुवा मावि क्षेत्रमा योजना निर्माण गरिएको छ । साथै नदी तथा खोल्सामा १ हजार २३७ घनमिटर ग्याबिन बाँध निर्माण सम्पन्न भएको छ ।
सुशासन तथा संस्थागत विकासतर्फ नगरपालिकाले मानव संसाधन विकासमा कर्मचारीलाई तालिम तथा क्षमता अनुसार जिम्मेवारी प्रदान गरिएको जनाएको छ । अभिलेख व्यवस्थापन र जिम्मेवारी स्पष्टिकरणलाई प्राथमिकता दिइएको छ । राजस्व परिचालनमा पनि उल्लेखनीय वृद्धि भएको छ । नगरपालिकाले इतिहासमै सबैभन्दा बढी रु. ४ करोड ७७ लाख आन्तरिक राजस्व संकलन गरेको छ भने सम्भावना करिब १० करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
वित्तीय जोखिम न्यूनीकरणका लागि पेश्की रकमलाई नियन्त्रणमा राख्दै त्रैमासिक कार्यक्रम विभाजन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । आन्तरिक स्रोतबाट हुने खर्चलाई योजनाबद्ध रूपमा भुक्तानी गर्ने प्रणाली लागू गरिएको छ । सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई अनिवार्य अभ्यास बनाइएको छ । नगरस्तरीय सार्वजनिक सुनुवाइ हरेक ६ महिनामा गर्ने योजना रहेको छ ।