उदयपुर । उदयपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको २१औँ गाउँसभाको बैठकबाट पारित उक्त बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
बुधबार आयोजित गाउँसभामा प्रस्तुत बजेटअनुसार चालुतर्फ ४४ करोड ८७ लाख ६३ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ८९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद जनताको आधारभूत आवश्यकता सम्बोधन गर्दै विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले आगामी वर्षको बजेट नागरिकको जीवनस्तर सुधार, उत्पादन वृद्धि तथा दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताए । उनका अनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको गुणस्तर अभिवृद्धिसँगै कृषि क्षेत्रको आधुनिकीकरण तथा भौतिक पूर्वाधार विस्तारलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको छ ।
अध्यक्ष मगरले गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना निर्माण, प्रविधिमैत्री शिक्षाको विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कृषि क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको मुख्य आधारका रूपमा लिँदै कृषकलाई उत्पादनमुखी कार्यक्रममार्फत प्रोत्साहन गर्ने योजना बजेटमा समेटिएको छ । त्यसैगरी ग्रामीण सडक, खानेपानी, सिँचाइ, भवन निर्माण तथा अन्य पूर्वाधार विकासका योजनालाई समेत बजेटले प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेका अधुरा योजनालाई सम्पन्न गर्ने र आवश्यक नयाँ योजनाको कार्यान्वयनका लागि पुँजीगत बजेट विनियोजन गरिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३ १८:५५