Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, असार १५, २०८३

उदयपुर । सगरमाथाको हिमशङ्खला नियाल्न सकिने पहाडी चुचुरा, नेपाल एकीकरणका कथा बोकेका गढी, धार्मिक विश्वासका केन्द्र, रहस्यमयी गुफा, सिमसार तथा हरियाली वनजङ्गल–यी सबै सम्पदालाई एउटै भूगोलले समेटेको जिल्ला ‘उदयपुर’ हो। पर्याप्त प्रचार, संरक्षण र पूर्वाधार विकास गर्न सकिए उदयपुर कोशी प्रदेशकै मात्र होइन, मुलुककै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने बलियो आधार छ।

लिच्छवीकालीन समयका नवौँ लिच्छवी राजा ‘उदयदेव’ को शासनकालपछि उदयपुर नाम रहन गएको बताइन्छ। कोशी प्रदेशअन्तर्गत पर्ने यस जिल्लाको सदरमुकाम गाईघाट हो, जुन मदन भण्डारी लोकमार्ग तथा सगरमाथा लोकमार्गसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित छ ।

समुद्री सतहबाट करिब ७ हजार ७ सय ७० फिट उचाइमा रहेको चित्रेथाम जिल्लाको सबैभन्दा अग्लो स्थान हो भने दक्षिणी भागको समथर दुन क्षेत्र कृषि उत्पादनका लागि अत्यन्त उर्वर मानिन्छ । चुनढुङ्गा, वन सम्पदा, नदी-नाला, झरना, धार्मिक स्थल, ऐतिहासिक गढी तथा सांस्कृतिक सम्पदाले सम्पन्न उदयपुर पर्यटनको दृष्टिले अपार सम्भावना बोकेको जिल्ला हो भन्न अतिशयोक्ति हुँदैन।

यति धेरै सम्भावना हुँदाहुँदै पनि उदयपुर अझै राष्ट्रिय पर्यटनको मूलधारमा प्रवेश गर्न सकेको छैन। पर्यटनका नाममा केही गन्तव्य चर्चामा आए पनि समग्र जिल्लाको पर्यटन क्षेत्र अझै पूर्वाधार, प्रचार–प्रसार र दीर्घकालीन योजनाको अभावसँग जुधिरहेको छ।

पर्यटकीय क्षेत्रको सम्भावना

ऐतिहासिक दुई गढी

उदयपुरको पर्यटन सम्भावनाको चर्चा गर्दा सबैभन्दा पहिले उदयपुरगढी र चौदण्डीगढीको नाम आउँछ। यी दुई गढी केवल पुराना भग्नावशेष मात्र होइनन्, नेपालको राज्य निर्माणसँग प्रत्यक्ष जोडिएका ऐतिहासिक धरोहर हुन्। नेपाल सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यभित्र परेको उदयपुर जिल्लाको एकमात्र स्थल हो–उदयपुरगढी ।

उदयपुरगढी गाउँपालिका-५ मा अवस्थित यो स्थान कुनै समय उदयपुरको सदरमुकाम पनि थियो। पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण गर्ने गोरखाली सेनाले चौदण्डीगढी राज्य कब्जा गरेपछि उदयपुरगढी प्रशासनिक केन्द्रका रूपमा विकसित भएको चर्चा पाइन्छ।

इतिहासकार कौशल चेम्जोङले ‘उदयपुरको इतिहास’ मा उल्लेख गरेअनुसार, लिच्छवीकालीन नवौँ राजा उदयदेवले किराती राजाको गढी–किल्लामाथि आक्रमण गरी नयाँ किल्ला निर्माण गरेका थिए । पछि उनकै सम्मानमा उदयपुरगढी नामकरण गरिएको र त्यसैबाट उदयपुर जिल्लाको नाम रहन गएको उल्लेख गरिएको छ ।

समुद्री सतहबाट करिब १ हजार ३ सय मिटर उचाइमा रहेको उदयपुरगढीबाट उत्तरतर्फ हिमाल र दक्षिणतर्फ तराईका समथर फाँटहरू एकैसाथ अवलोकन गर्न सकिन्छ। सफा मौसममा भारतको बिहारसम्मको भूभाग तथा सगरमाथा क्षेत्रका हिमशङ्खलासमेत देख्न सकिन्छ।

यद्यपि अन्य इतिहासकारहरूले उदयपुरगढी सेनवंशी राजाहरूले निर्माण गरेको दाबी गर्ने गरेका छन्। उदयपुरगढीका अभिलेखहरूमा पनि उदयसेन राजाको दरबारका रूपमा उल्लेख गरिएका दस्तावेजहरू देखिन्छ । 

गढीमाई मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी महादेव, बज्ने ढुङ्गा, सिद्धथान, हाडेटार शिवगुफा, संसारी माई तथा गणेशथानलगायतका धार्मिक स्थलहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा समेत स्थापित गरेका छन्।

स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा उदयसेन राजाको दरबारको स्वरूपमा नयाँ संरचना निर्माण गरिएको छ । भ्यूटावर, मठमन्दिर संरक्षण, पदमार्ग निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकास भइरहेकाले यहाँ पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ ।

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार हालको उदयपुरगढी स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट पुनर्निर्माण गरिएको हो । उनी भन्छन्, ‘उदयपुरगढी अहिले महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। दरबार क्षेत्रको संरक्षणका लागि कर्मचारीसमेत राखेका छौँ ।’ 

यता उदयपुरको अर्को महत्वपूर्ण ऐतिहासिक धरोहर हो-चौदण्डीगढी । चौदण्डी नगरपालिका-१ मा अवस्थित यो गढी सेनकालीन इतिहासको महत्वपूर्ण केन्द्र मानिन्छ । मकवानपुरका राजा हेमकर्ण सेनका भाइ जगत सेनले पूर्वी सीमाको सुरक्षाका लागि चौदण्डी राज्य स्थापना गरेको इतिहास पाइन्छ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानका क्रममा चौदण्डीगढी गोरखाली सेनाको अधीनमा आएको थियो। त्यसपछि लामो समयसम्म यो क्षेत्र पूर्वी प्रशासनिक केन्द्रका रूपमा विकसित भएको थियो ।

हाल दरबारका भग्नावशेष मात्र बाँकी भए पनि यसको ऐतिहासिक महत्व अत्यन्त उच्च छ। यहाँ निर्माण गरिएको डाँडाको भ्यूटावरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायतका हिमालहरू देख्न सकिन्छ। साथै तराईका विभिन्न जिल्ला तथा भारतको सीमावर्ती क्षेत्रको दृश्य पनि अवलोकन गर्न सकिन्छ। यदि उदयपुरगढी र चौदण्डीगढीलाई समेटेर ‘हेरिटेज सर्किट’ विकास गर्न सकियो भने उदयपुर नेपालको प्रमुख ऐतिहासिक पर्यटन गन्तव्य बन्न सक्छ।

इतिहासकार तथा वरिष्ठ पत्रकार चेम्जोङ भन्छन्, ‘धेरै ऐतिहासिक प्रमाण र दस्तावेजका आधारमा चौदण्डीगढीको महत्व अझ बढी देखिन्छ। चौदण्डीगढी सेनवंशी शासनकालको जीवित प्रमाण हो भने उदयपुरगढी लिच्छवीकालीन राजा उदयदेवसँग सम्बन्धित इतिहास बोकेको स्थल हो। इतिहासकारहरूका आऔ-आफ्नै तर्क छन् । तर पर्यटकीय दृष्टिकोणले दुवै गढी उत्तिकै महत्वपूर्ण छन्।’

चौदण्डी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार चौदण्डीगढी दरबार क्षेत्रको संरक्षणका लागि घेराबेरा लगायतका कामहरू गरिएको छ। उनले भने, ‘यस क्षेत्रको संरक्षण, प्रचार–प्रसार र पर्यटन विकासका लागि प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ। नगरपालिकाले विभिन्न काम गरिरहेको भए पनि सीमित बजेटका कारण अपेक्षित परिणाम देखाउन कठिन भइरहेको छ, तर आन्तरिक पर्यटकीय केन्द्र भने बनेको छ।’

धार्मिक विश्वासका दुई पोखरी

धार्मिक पर्यटनको दृष्टिले रौतापोखरी र ताप्ली पोखरी जिल्लाका सबैभन्दा चर्चित गन्तव्य हुन्। रौतामाई गाउँपालिका-६ मा रहेको रौतापोखरी समुद्री सतहबाट करिब ५ हजार ९ सय फिट उचाइमा अवस्थित छ । करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरी पूर्वी नेपालको महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ । वैशाख १ गते लाग्ने विशाल मेलामा हजारौँ श्रद्धालु सहभागी हुने गर्छन् ।

रौतामाई देवीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। धन, सन्तान, स्वास्थ्य, जागिर तथा समृद्धिको कामनासहित भक्तजन यहाँ पुग्ने गर्छन्। पोखरी वरिपरि घना जङ्गल छ । आश्चर्यको कुरा, पोखरीमा पात नदेखिने विश्वास स्थानीय समुदायमा अझै कायम छ। रौतापोखरी केवल धार्मिक स्थल मात्र होइन, जैविक विविधता, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको अनुपम संगम पनि हो।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार रौतापोखरीको प्रचार–प्रसार तथा सडक पूर्वाधार निर्माणको काम भइरहेको छ। उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट विभिन्न काम भइरहेका छन्। तर यसलाई अझै व्यावसायिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिएको छैन । त्यसतर्फ हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ।’

यता ताप्ली गाउँपालिका-२ मा रहेको ताप्ली पोखरी उदयपुरको अर्को आकर्षक धार्मिक तथा प्राकृतिक गन्तव्य हो। समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर उचाइमा रहेको यो पोखरी करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ।

वर्षभरि पानी रहने यस पोखरीबाट सगरमाथासहितका हिमशृङ्खलाहरू स्पष्ट रूपमा देख्न सकिन्छ। पोखरी किनारमा रहेको पञ्चकन्या मन्दिरमा प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा ठूलो मेला लाग्ने गर्छ। पाँच कन्या अलप भएपछि पोखरी बनेको किंवदन्ती यहाँको प्रमुख धार्मिक विश्वासका रूपमा छ।

सफा मौसममा नीलो पानीमा आकाशको प्रतिबिम्ब देखिने दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र हिमाली दृश्यका कारण यो पोखरी पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ।

तर पर्याप्त प्रचार–प्रसार, सडक पूर्वाधार र पर्यटकमैत्री सुविधाको अभावले यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्मा भन्छन्, ‘ताप्ली पोखरी हाम्रो गाउँपालिकाको मात्र होइन, समग्र उदयपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय सम्पत्ति हो।’

सांस्कृतिक पर्यटनको सम्भावना

उदयपुर प्राकृतिक र ऐतिहासिक सम्पदाका लागि मात्र होइन, सांस्कृतिक विविधताका लागि पनि परिचित जिल्ला हो। यहाँ राई, मगर, तामाङ, गुरुङ, थारु, नेवार, दनुवार, भुजेल, माझी, लिम्बू, ब्राह्मण, क्षेत्री, मुसलमान लगायत विभिन्न जातजाति र समुदायको बसोबास रहेको छ। यी समुदायका आफ्नै भाषा, संस्कार, संस्कृति, भेषभूषा, परम्परा र जीवनशैली छन् ।

किरात समुदायको उभौली-उधौली पर्व, साकेला नाच, थारु समुदायका सांस्कृतिक परम्परा, मगर तथा तामाङ समुदायका मौलिक संस्कारहरू पर्यटनका आकर्षक पक्ष बन्न सक्छन् । तर यस्ता सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्ने काम अझै हुन सकेको छैन।

सांस्कृतिक गाउँ, जातीय संग्रहालय, सांस्कृतिक अध्ययन केन्द्र तथा नियमित सांस्कृतिक महोत्सवहरू सञ्चालन गर्न सकिए उदयपुर सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्छ ।

पत्रकार यदु ढकालका अनुसार अनुसार उदयपुरमा सांस्कृतिक पर्यटनको सम्भावना प्राकृतिक पर्यटनभन्दा कम छैन। उनी भन्छन्, ‘हामीसँग विविध संस्कृति छन्, तर तिनलाई पर्यटन उत्पादनका रूपमा विकास गर्ने सोच र योजना अझै कमजोर छ।’

प्राकृतिकदेखि अन्य पर्यटकीय क्षेत्र

उदयपुरको भूगोल आफैँमा प्रकृतिको अनुपम उपहार हो । चुरे पहाड, महाभारत पर्वतशृङ्खला, हरियाली वन, झरना, गुफा, खोलानाला तथा हिमाली दृश्यहरूले उदयपुरलाई प्रकृतिप्रेमीका लागि विशेष गन्तव्य बनाएका छन्।

कटारी नगरपालिका-११ मा अवस्थित बेतेनी भञ्ज्याङ प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। यहाँ एकै दिनमा घाम, कुहिरो र वर्षाको अनुभव गर्न सकिन्छ। मौसमको तीव्र परिवर्तन र मनोरम दृश्यका कारण पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।

लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेष्ट भ्यू टप उदयपुरको सबैभन्दा आकर्षक हिमाल अवलोकन केन्द्रमध्ये एक हो। यहाँबाट सगरमाथासहित मकालु, ल्होत्से, चोयु र कञ्चनजङ्घालगायत हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य यहाँको प्रमुख आकर्षण हो। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन बढ्दै गए पनि आवश्यक पूर्वाधार विकास हुन बाँकी छ।

अन्य सम्भावनायुक्त गन्तव्यमा उदयपुरमा यस्ता दर्जनौँ गन्तव्य छन्। जसले उचित संरक्षण र प्रवद्र्धन पाए राष्ट्रिय स्तरको पर्यटकीय आकर्षण बन्न सक्छन्। चित्रेथाम, ओख्ले डाँडा, सुकेपोखरी, देवधार, टंकेला गुफा, महादेव गुफा, परेवा झरना, वासिराङ झरना, कोलोहाङ झरना, बेलका हाइट, मैनामैनी लगायतका क्षेत्र पर्यटनको दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

उदयपुर कृषि उत्पादनमा सम्पन्न जिल्ला हो । धान, मकै, कोदो, गहुँ, तोरी, अदुवा, बेसार, सुन्तला, कागती तथा विभिन्न फलफूल यहाँ प्रशस्त उत्पादन हुने गर्छन्। पर्यटनसँग कृषिलाई जोड्न सकिए किसानको आय बढाउन सकिन्छ। सुन्तला बगैँचा भ्रमण, कृषि फार्म अवलोकन, स्थानीय उत्पादनको स्वाद तथा ग्रामीण जीवनशैलीको अनुभव गराउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

चुरे र महाभारका पहाडी क्षेत्र कृषि पर्यटनका लागि उपयुक्त गन्तव्य मानिन्छन्। उदयपुर औद्योगिक पर्यटनको लागि केन्द्र पनि हो । उदयपुर सिमेन्ट उद्योग सरकारी स्वामित्वको नेपालको महत्वपूर्ण उद्योगमध्ये एक हो।

चुनढुंगा उत्खननदेखि सिमेन्ट उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया पर्यटकलाई देखाउन सकिने भएकाले यसलाई शैक्षिक पर्यटनसँग जोड्ने कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर बताउँछन्। उनले भने, ‘कृषि प्रशोधन उद्योग, बाँसजन्य हस्तकला, ढुंगाजन्य उद्योग तथा स्थानीय उत्पादनमा आधारित उद्यमहरूलाई पनि पर्यटनसँग जोड्नु पर्ने समय आएको छ। त्यो विस्तारै सुरु हुँदै गएको छ।’

बोप्ताङबाट उडेर चतरामा अवतरण गर्ने अभ्यासले यस प्याराग्लाइडिङ क्षेत्रलाई नयाँ पहिचान दिलाउन थालेको छ। उदयपुर गोल्डकप, कटारी गोल्डकप र नारदमुनी थुलुङ गोल्डकपजस्ता प्रतियोगिताले खेल पर्यटनको आधार निर्माण गरेका छन्। जसमा उदयपुर इतिहास, धर्म, संस्कृति, प्रकृति, कृषि, उद्योग, साहसिक गतिविधि र खेल पर्यटन सबै एकै जिल्लाभित्र भेटिने दुर्लभ गन्तव्यमा राख्दा हुन्छ।

उदयपुरको दक्षिणी क्षेत्रमा बग्ने सुनकोशी नदी विश्वकै उत्कृष्ट र्‍याफ्टिङ गन्तव्यमध्ये एक मानिन्छ। वर्षेनी थोरै भएपनि स्वदेशी तथा विदेशी पर्यटकहरू र्‍याफ्टिङका लागि यहाँ आउने गरेका छन् । त्यस्तै सप्तकोशी नदी क्षेत्रमा जेटबोट सञ्चालन छ।

खुवालुङ, बराहा क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत दर्जनौँ क्षेत्रलाई व्यवस्थित योजना बनाएर जल पर्यटनको विकास गर्न सकियो भने उदयपुर साहसिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्छ।

यस्ता छन्ः चुनौती र अवसर 

पर्यटकीय क्षेत्रको धेरै सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन। कारण, पर्यटन विकासका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन, प्रचार–प्रसार, संरक्षण तथा लगानीका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ।

यही कारण उदयपुरको पर्यटन क्षेत्र एकातिर चुनौतीका चाङमुनि दबिएको देखिन्छ भने अर्कोतिर ती चुनौती समाधान गर्न सकिए आर्थिक रूपान्तरणको शक्तिशाली आधार बन्न सक्ने सम्भावना पनि उत्तिकै बलियो छ।

पर्यटन विकासको सबैभन्दा ठूलो र आधारभूत चुनौती सडक पूर्वाधार हो। पछिल्लो दशकमा मदन भण्डारी लोकमार्ग, सगरमाथा लोकमार्ग र सिद्धिचरण लोकमार्गको विस्तारसँगै जिल्लाको बाह्य पहुँचमा उल्लेखनीय सुधार आएको छ। तर पर्यटकलाई वास्तविक गन्तव्यसम्म पुर्याउने अन्तिम खण्डका सडकहरू अझै पर्याप्त स्तरोन्नति हुन सकेका छैनन् ।

रौतापोखरी, ताप्ली पोखरी, चौदण्डीगढी, एभरेष्ट भ्यू टप, बेतेनी भञ्ज्याङ तथा महाभारत क्षेत्रका अन्य पर्यटकीय स्थलमा पुग्ने सडकहरू कतिपय ठाउँमा कच्ची, साँघुरा तथा जोखिमपूर्ण छन्।

वर्षायाममा पहिरो, हिलो र सडक अवरुद्ध हुने समस्या नियमितजस्तै बन्ने गरेको छ। यसले पर्यटकलाई यात्रा गर्न असहज बनाउने मात्र होइन, कतिपय अवस्थामा भ्रमण नै रद्द गर्न बाध्य बनाउने गरेको छ । पर्यटन उद्योगमा सहज पहुँचलाई सबैभन्दा महत्वपूर्ण आधार मानिन्छ। गन्तव्य आकर्षक भए पनि त्यहाँ पुग्न कठिन भए पर्यटकको रुचि घट्ने भएकाले सडक स्तरोन्नति पर्यटन विकासको पहिलो सर्तका रूपमा देखिन्छ।

कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जामगरका अनुसार संघीयता कार्यान्वयनपछि सडक, विद्युत् र सञ्चारको पहुँच विस्तार भए पनि तिनको गुणस्तर सुधार नगरी पर्यटन विकासले अपेक्षित परिणाम दिन सक्दैन। उनले भने, ‘अब पहुँच विस्तारभन्दा पनि सेवा र पूर्वाधारको गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ । प्रदेश सरकारले उदयपुर मात्र नभएर १४ जिल्लामा त्यो अभियान चलाइरहेको छ।’

उदयपुरका धेरै पर्यटकीय गन्तव्यबारे जिल्लाबाहिरका मानिसहरूलाई पर्याप्त जानकारी छैन। नेपालको पर्यटन नक्सामा पोखरा, चितवन, लुम्बिनी, इलाम, मुस्ताङ वा सोलुखुम्बुजस्ता गन्तव्यले स्थान बनाए पनि उदयपुरका अधिकांश पर्यटकीयस्थल अझै ओझेलमै छन्।

सामाजिक सञ्जाल, पर्यटन वेबसाइट, युट्युब, डिजिटल प्लेटफर्म तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा उदयपुरको उपस्थिति कमजोर देखिन्छ। परिणामस्वरूप प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र सांस्कृतिक विविधता हुँदाहुँदै पनि जिल्लाले अपेक्षित मात्रामा पर्यटक आकर्षित गर्न नसकेको उदयपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चुडामणि कार्की बताउँछन्। 

उनका अनुसार अहिलेको प्रतिस्पर्धी पर्यटन बजारमा केवल सुन्दर गन्तव्य हुनु मात्र पर्याप्त हुँदैन, त्यसलाई देशभित्र र बाहिर चिनाउने रणनीति पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पर्यटकलाई लामो समयसम्म जिल्लाभित्र रोक्न सक्ने पूर्वाधारको कमी अर्को चुनौतीका रूपमा देखिन्छ। अधिकांश पर्यटकीय स्थल वरपर गुणस्तरीय होटल, रिसोर्ट, सूचना केन्द्र, सार्वजनिक शौचालय, स्वास्थ्य सेवा, विश्रामस्थल तथा पार्किङ व्यवस्थाको अभाव छ। 

कतिपय स्थानमा खानेपानीको समेत पर्याप्त व्यवस्था छैन । पर्यटन उद्योगमा पर्यटकको बसाइ अवधि महत्वपूर्ण मानिन्छ। पर्यटक लामो समय बस्यो भने स्थानीय व्यवसाय, यातायात, कृषि उत्पादन, होटल तथा अन्य सेवा क्षेत्रले प्रत्यक्ष लाभ प्राप्त गर्छन् । तर उदयपुरमा अधिकांश पर्यटक एकदिने भ्रमण गरेर फर्किने प्रवृत्ति देखिन्छ । यसको प्रमुख कारण पर्याप्त सेवा-सुविधाको अभाव हो।

स्थानीय खानपान र उत्पादनलाई पर्यटनसँग जोड्न नसक्नु पनि अर्को महत्वपूर्ण चुनौती हो। उदयपुरमा थारु, मगर, राई, तामाङ, दनुवारलगायत समुदायका आफ्नै मौलिक परिकार, संस्कृति र जीवनशैली छन् ।

यस्ता परिकार तथा सांस्कृतिक विशेषताले पर्यटकलाई नयाँ अनुभव दिन सक्छन्। तर अहिले ती परिकार र उत्पादनलाई पर्यटनको आकर्षणका रूपमा विकास गर्ने प्रयास सीमित छ । बेल्टारस्थित अधिकारी होटल एन्ड लजकी सञ्चालिका शान्ता अधिकारीका अनुसार पर्यटकले स्थानीय स्वाद र संस्कृति अनुभव गर्ने अवसर कम पाउँदा गन्तव्यको आकर्षण घट्ने गरेको छ।

यदि स्थानीय परिकार, अचार, मह, ढाकाका सामग्री, हस्तकला तथा रैथाने उत्पादनलाई पर्यटनसँग प्रभावकारी रूपमा जोड्न सकियो भने त्यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।

सांस्कृतिक पर्यटनको क्षेत्रमा पनि उदयपुरले आफ्नो सम्भावनाको पूर्ण उपयोग गर्न सकेको छैन। उभौली-उधौली, साकेला, थारु संस्कृति, मगर संस्कृति, तामाङ संस्कार तथा अन्य जातीय परम्पराहरू पर्यटनका दृष्टिले महत्वपूर्ण सम्पत्ति हुन्। तर यिनको संरक्षण, प्रदर्शन र प्रवद्र्धनका लागि आवश्यक सांस्कृतिक गाउँ, संग्रहालय, सांस्कृतिक केन्द्र तथा स्थायी प्रदर्शनी स्थल निर्माण हुन सकेका छैनन्। फलस्वरूप सांस्कृतिक पर्यटनको विशाल सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

पर्यटन क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव पनि गम्भीर चुनौती हो। पर्यटन गाइड, होटल व्यवस्थापक, साहसिक पर्यटन प्रशिक्षक, भाषा जान्ने गाइड तथा व्यावसायिक होमस्टे सञ्चालकको संख्या पर्याप्त छैन। स्थानीय समुदायमा पर्यटन व्यवसायबारे चेतना र व्यावसायिक ज्ञानको कमी देखिन्छ। पर्यटनलाई केवल घुमघामको विषय नभई उद्योगका रूपमा विकास गर्ने सोच अझै व्यापक बन्न सकेको छैन। यसले पर्यटन क्षेत्रको दीर्घकालीन विकासमा बाधा पुर्‍याइरहेको छ ।

ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण अवस्था पनि सन्तोषजनक छैन । उदयपुरगढी, चौदण्डीगढी तथा अन्य ऐतिहासिक स्थलका संरचनाहरू जीर्ण बन्दै गएका छन् । कतिपय ऐतिहासिक सामग्री हराइसकेका छन् भने केही संरचना संरक्षण अभावमा नष्ट हुने अवस्थामा पुगेका छन्। इतिहास र सम्पदाको संरक्षणबिना पर्यटन विकास दिगो बन्न सक्दैन । ऐतिहासिक सम्पदा जोगाउन नसकिए पर्यटनको एउटा महत्वपूर्ण आधार नै कमजोर बन्न सक्छ ।

सरकारी निकायमा स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र तथा समुदायबीच पर्याप्त समन्वय हुन नसक्नु अर्को चुनौती हो। धेरै योजना तयार भए पनि कार्यान्वयन चरणमा पुग्न सक्दैनन् । कतिपय अवस्थामा बजेट विनियोजन हुने तर समयमै खर्च नहुने, गुरुयोजना बन्ने तर कार्यान्वयन नहुने तथा सरकार परिवर्तनसँगै प्राथमिकता फेरिने समस्या देखिन्छ। यसले पर्यटन विकासका कार्यक्रमलाई निरन्तरता दिन कठिन बनाएको छ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलका अनुसार सम्भावनाको चर्चा मात्र गरेर पर्यटन विकास सम्भव हुँदैन। पर्याप्त बजेट, प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रसँग सहकार्य, सम्पदा संरक्षण तथा पूर्वाधार विकासमा केन्द्रित नीति अवलम्बन गर्न सके मात्र पर्यटन क्षेत्रले अपेक्षित गति लिन सक्छ ।

यद्यपि यिनै चुनौतीका बीच उदयपुरको पर्यटन क्षेत्रले अपार सम्भावना बोकेको छ। यदि योजनाबद्ध रूपमा पर्यटन विकास गर्न सकियो भने यसले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। पर्यटन केवल मनोरञ्जनको विषय होइन, यो रोजगारी, उत्पादन, व्यापार, सेवा, संस्कृति संरक्षण र स्थानीय विकाससँग प्रत्यक्ष जोडिएको उद्योग हो।

पर्यटन विकासको सबैभन्दा ठूलो अवसर रोजगारी सिर्जना हो । उदयपुरका हजारौँ युवा रोजगारीको खोजीमा खाडी मुलुक, मलेसिया तथा अन्य देश जाने गरेका छन् । पर्यटन क्षेत्र विस्तार भएमा होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात सेवा, पर्यटन गाइड, हस्तकला उद्योग तथा साहसिक खेल क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना हुन सक्छ । यसले वैदेशिक रोजगारीप्रतिको निर्भरता कम गर्न सहयोग पुर्‍याउनेछ।

रौतापोखरी, ताप्ली पोखरी, उदयपुरगढी, चौदण्डीगढी र एभरेष्ट भ्यू टपजस्ता क्षेत्रमा स्थानीय युवालाई पर्यटन गाइडका रूपमा तालिम दिन सकिन्छ। गाउँ–गाउँमा होमस्टे सञ्चालन गरी स्थानीयलाई आयआर्जनको अवसर प्रदान गर्न सकिन्छ। यसले पर्यटनबाट प्राप्त आम्दानी प्रत्यक्ष रूपमा स्थानीय समुदायसम्म पुर्‍याउन मद्दत गर्नेछ ।

बेलका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रमन भट्टराईका अनुसार पर्यटन विकासले उदयपुरको समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनका अनुसार पर्यटनसँगै कृषि क्षेत्रले पनि प्रत्यक्ष लाभ लिन सक्छ। उदयपुर सुन्तला, बेसार, अलैंची, अदुवा, कागती, धान, मकै तथा तरकारी उत्पादनका लागि परिचित जिल्ला हो । होटल, रिसोर्ट, होमस्टे तथा रेस्टुरेन्टले स्थानीय उत्पादन खरिद गर्दा किसानले राम्रो मूल्य पाउनेछन् र कृषि उत्पादनको बजार विस्तार हुनेछ ।

महाभारत क्षेत्रमा ‘फार्म टुरिज्म’ सञ्चालन गरी पर्यटकलाई कृषि जीवनशैलीसँग परिचित गराउन सकिन्छ। यसले कृषि र पर्यटनबीच नयाँ सम्बन्ध स्थापित गर्नेछ । पर्यटकलाई खेतबारी, पशुपालन, मौरीपालन तथा ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव गराउने कार्यक्रमले नयाँ प्रकारको पर्यटन बजार सिर्जना गर्न सक्छ ।

स्थानीय उत्पादनको बजार विस्तार पनि पर्यटन विकासको अर्को महत्वपूर्ण अवसर हो। पर्यटकले भ्रमण गरेका स्थानबाट स्थानीय उत्पादन किन्ने गर्छन्। उदयपुरमा उत्पादन हुने मह, बेसार, अलैंची, सुन्तला, तेजपात, ढाकाका सामग्री, हस्तकला तथा परम्परागत खाद्य परिकारलाई ब्रान्डिङ गरी बजारमा ल्याउन सकिन्छ । गाईघाट, बेल्टार, कटारी र चतरामा स्थानीय उत्पादन बिक्री केन्द्र स्थापना गर्न सके पर्यटनसँगै स्थानीय उद्योग पनि फस्टाउन सक्छ।

पर्यटनसम्बन्धी जानकार तथा स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरेका अनुसार उदयपुरमा पर्यटन विकासको सम्भावना मात्र होइन, आर्थिक रूपान्तरणको आधारसमेत छ। उनका अनुसार सडक पूर्वाधार, ऐतिहासिक सम्पदा संरक्षण, संग्रहालय निर्माण, होमस्टे विस्तार, साहसिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको ब्रान्डिङ र प्रभावकारी प्रचार–प्रसारमा ध्यान दिन सकिए उदयपुर कोशी प्रदेशकै प्रमुख पर्यटन केन्द्र बन्न सक्छ।

चुनौतीका चाङलाई व्यवस्थापन र योजनाबद्ध प्रयासद्वारा अवसरमा रूपान्तरण गर्न सकिए पर्यटन जिल्लाको आर्थिक विकास, रोजगारी सिर्जना, संस्कृति संरक्षण र सामाजिक रूपान्तरणको मुख्य आधार बन्न सक्छ । आवश्यक पूर्वाधार निर्माण, प्रभावकारी व्यवस्थापन, निजी क्षेत्रको लगानीको प्रोत्सहान, स्थानीय समुदायको सहभागिता र दीर्घकालीन योजनासहित अघि बढ्न सकिए उदयपुरले केवल सम्भावनाको कथा सुनाउने होइन, पर्यटन उद्योगको नमूना देखाउने छ । 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्