Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विदुर कटुवाल
विदुर कटुवाल मंगलबार, भदौ २३, २०८३

काठमाडौं । ‘शव मेरै श्रीमान्को हो । कान, आँखा, अनुहार सबै मेरो श्रीमान्कै हुन् । मैले प्रस्ट चिनेँ । म आफ्नो श्रीमान् नचिनी भन्छु त ?’

फोनको अर्को छेउबाट मेनुका सार्कीको आवाज आयो । बोल्दाबोल्दै उनी रोकिइन् । केही क्षण मौन बसिन् । अनि फेरि भनिन्, ‘तर, शव त गाडिसकिएको रहेछ । अब डिएनए परीक्षण नगरी पाइँदैन रे । शव गाडेको खाल्डोमाथि उभिएर घर फर्किँदै छु ।’

मेनुका आफ्ना श्रीमान्को शव लिन चितवन पुगेकी थिइन् । उनले शवको तस्बिर हेरिन् । कान हेरिन्, आँखा हेरिन्, अनुहार हेरिन् । उनका लागि पहिचान गर्न कुनै कठिनाइ थिएन । त्यो शव आफ्नै श्रीमान्को थियो । तर, मेनुकाको आँखाले चिनेको शवलाई कानुनले अझै चिन्न बाँकी छ ।

एउटै शवमा तीन परिवारले आफ्ना आफन्त भएको दाबी गरेपछि अब अन्तिम पहिचानको जिम्मा डिएनए परीक्षणले लिएको छ । शव पहिल्यै गाडिसकिएको छ । श्रीमान्को शव लिन पुगेकी मेनुका अन्ततः शव रहेको खाल्डो हेरेरै घर फर्किन बाध्य भइन् । ‘अब कहिले शव पाइन्छ ? कहिले काजकिरिया गर्ने ?’ उनीसँग यतिबेला यिनै प्रश्न छन् ।

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी उदयपुरको कटारी नगरपालिका–५, भोर्लेका ४० वर्षीय मोहनबहादुर सार्की बेपत्ता भए । घरको आर्थिक अवस्था कमजोर थियो । गाउँमै ज्याला–मजदुरी गरेर परिवार धान्न कठिन भएपछि उनी कामको खोजीमा रसुवा पुगेका थिए । हाइड्रोपावर आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका मोहनबहादुर बाढी आएपछि सम्पर्कविहीन भए ।

दिन बित्दै जाँदा परिवारको आशा कमजोर हुँदै गयो । कतै फोन आउला कि, कोही चिनजानको सम्पर्कमा पुगेका होलान् कि भन्ने प्रतीक्षा थियो । तर, बाढीले बगाएको मानिसको खोजी सधैँ आशाले मात्र टुंगिँदैन ।

केही समयपछि एउटा शव फेला परेको खबर आयो । मोहनबहादुरको परिवारलाई तस्बिर देखाइयो । मेनुकाले एकै नजरमा भनिन्–‘यो मेरै श्रीमान् हो ।’
तर, त्यही शव अर्को परिवारले पनि आफ्नो आफन्तको भएको दाबी गर्‍यो । त्यसपछि अर्को परिवार पनि अगाडि आयो । एउटै शवमा तीन परिवारको दाबी भएपछि सामान्य दृश्य पहिचान पर्याप्त भएन । कानुनी रूपमा शव कसको हो भन्ने प्रमाणित गर्न डिएनए परीक्षण गर्नुपर्ने भयो ।

मोहनबहादुरको पहिचानका लागि उनका छोरा अजितको रगतको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन दुईदेखि तीन महिनासम्म लाग्न सक्ने जानकारी परिवारले पाएको छ । मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । तर, मृत्यु स्वीकार गरिसकेपछि पनि आफ्नै मानिसको शव पाउन नसक्नु झन् कठिन हुन्छ ।

भोर्लेको सानो घरमा अहिले मेनुकाको प्रतीक्षा अझै सकिएको छैन । पहिले उनी श्रीमान् फर्किने आशामा थिइन् । अहिले श्रीमान्को शव फर्किने प्रतीक्षामा छिन् । उनका १४ र नौ वर्षका दुई छोरा तथा अढाई वर्षकी एक छोरी छन् । ऐलानी जग्गामा बनेको सानो घरमा बस्ने परिवारको जीवन दैनिक ज्याला–मजदुरीमै निर्भर थियो । मोहनबहादुर नै परिवारको मुख्य सहारा थिए ।

घर छाडेर रसुवा जाँदा उनको सपना ठूलो थिएन । नियमित काम पाइयोस्, छोराछोरीको पढाइ चलोस्, घरको चुलो नियमित बलोस्—यति नै थियो । तर, परिवारको भविष्य खोज्दै हिँडेका मोहनबहादुर आफैँ परिवारबाट हराए ।

अहिले मेनुकाको अगाडि तीन साना सन्तान छन् । उनीहरूलाई बाबु कहाँ छन् भनेर कसरी सम्झाउने ?  बाबु फर्किँदैनन् भन्ने यथार्थ कसरी बुझाउने ? र, सबैभन्दा पीडादायी कुरा–आफ्नै आँखाले चिनेको मानिसको शव पनि किन घर ल्याउन पाइएन भन्ने प्रश्नको उत्तर कसरी दिने ? 

मोहनबहादुरका भतिज प्रकाश सार्की पनि परिवारले तस्बिरमा देखेको शव आफ्नै काकाको भएकोमा विश्वस्त छन् । ‘हामी मजदुरी गरेर खाने परिवार हौँ । काका नै घरको सहारा हुनुहुन्थ्यो,’ उनले भने, ‘अब उहाँ सकिनुभयो । परिवारको बिचल्ली छ । त्यसमाथि शव पनि तुरुन्त पाउन सकिएन । फोटोमा देखेको शव मेरै काकाको हो भन्नेमा हामीलाई शंका छैन ।’ तर, परिवारको विश्वास र कानुनी प्रमाणबीच अहिले डिएनए परीक्षण उभिएको छ ।

कटारी नगरपालिका–५ का वडाध्यक्ष मोहनबहादुर तामाङ पनि फेला परेको शव मोहनबहादुर सार्कीकै हुन सक्ने बताउँछन् । ‘मैले उहाँलाई धेरैपटक देखेको व्यक्ति हुँ । तस्बिर हेर्दा शव उहाँकै जस्तो देखिन्छ,’ उनले भने, ‘तर, कानुनी रूपमा पहिचान नभई शव लैजानु उचित हुँदैन । त्यसैले परिवारलाई डिएनए परीक्षणमा सहयोग गरेका छौँ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलका अनुसार आफन्तले तस्बिरका आधारमा शव मोहनबहादुरकै भएको प्रारम्भिक पहिचान गरेका छन् । तर, एउटै शवमा तीन परिवारले दाबी गरेकाले अन्तिम पहिचान डिएनए परीक्षणबाट मात्रै हुने उनले बताए । ‘नमुना संकलन गरेर परीक्षणका लागि पठाइसकेका छौँ,’ उनले भने, ‘रिपोर्ट आएपछि मात्र शव कसको हो भन्ने कानुनी रूपमा टुंगो लाग्छ ।’

भोटेकोशी बाढीपछि उदयपुरका २१ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये पाँचजना परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन् । बाँकी १६ जनाको अवस्था अझै अज्ञात छ । उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईँका अनुसार एउटै शवमा तीन परिवारले दाबी गरेकाले वैज्ञानिक परीक्षण आवश्यक भएको हो ।

‘मोहनबहादुर सार्कीको शव हुन सक्ने आशंका छ,’ उनले भने, ‘तर अन्य परिवारले पनि दाबी गरेकाले डिएनए परीक्षण गरिएको छ । रिपोर्ट आएपछि मात्र वास्तविक पहिचान हुन्छ ।’ चितवनमा गाडिएको एउटा शव अहिले तीन परिवारको प्रतीक्षासँग जोडिएको छ । कसैका लागि त्यो श्रीमान् हुन सक्छ, कसैका लागि छोरा, कसैका लागि अर्को प्रियजन ।

तर, भोर्लेमा मेनुका सार्कीका लागि उत्तर पहिल्यै तय छ । उनले तस्बिरमा आफ्नो श्रीमान्लाई देखेकी छन् । उनले कानमा चिनिन्, आँखामा चिनिन्, अनुहारमा चिनिन् । तर, उनको आँखाले चिनेको शवलाई कानुनले अझै चिन्न बाँकी छ । त्यसैले अहिले मेनुका श्रीमान् फर्किने बाटो होइन, डिएनए रिपोर्ट आउने दिन कुरिरहेकी छन्–सायद त्यही एउटा रिपोर्टले उनलाई अन्तिमपटक श्रीमान्लाई घर ल्याउने अधिकार दिनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन शनिबार, कात्तिक १४, २०८३
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह शुक्रबार, कात्तिक १३, २०८३
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा  शुक्रबार, कात्तिक १३, २०८३
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः ५ नामी साप्ताहिक
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्