काठमाडौं । ‘शव मेरै श्रीमान्को हो । कान, आँखा, अनुहार सबै मेरो श्रीमान्कै हुन् । मैले प्रस्ट चिनेँ । म आफ्नो श्रीमान् नचिनी भन्छु त ?’
फोनको अर्को छेउबाट मेनुका सार्कीको आवाज आयो । बोल्दाबोल्दै उनी रोकिइन् । केही क्षण मौन बसिन् । अनि फेरि भनिन्, ‘तर, शव त गाडिसकिएको रहेछ । अब डिएनए परीक्षण नगरी पाइँदैन रे । शव गाडेको खाल्डोमाथि उभिएर घर फर्किँदै छु ।’
मेनुका आफ्ना श्रीमान्को शव लिन चितवन पुगेकी थिइन् । उनले शवको तस्बिर हेरिन् । कान हेरिन्, आँखा हेरिन्, अनुहार हेरिन् । उनका लागि पहिचान गर्न कुनै कठिनाइ थिएन । त्यो शव आफ्नै श्रीमान्को थियो । तर, मेनुकाको आँखाले चिनेको शवलाई कानुनले अझै चिन्न बाँकी छ ।
एउटै शवमा तीन परिवारले आफ्ना आफन्त भएको दाबी गरेपछि अब अन्तिम पहिचानको जिम्मा डिएनए परीक्षणले लिएको छ । शव पहिल्यै गाडिसकिएको छ । श्रीमान्को शव लिन पुगेकी मेनुका अन्ततः शव रहेको खाल्डो हेरेरै घर फर्किन बाध्य भइन् । ‘अब कहिले शव पाइन्छ ? कहिले काजकिरिया गर्ने ?’ उनीसँग यतिबेला यिनै प्रश्न छन् ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी उदयपुरको कटारी नगरपालिका–५, भोर्लेका ४० वर्षीय मोहनबहादुर सार्की बेपत्ता भए । घरको आर्थिक अवस्था कमजोर थियो । गाउँमै ज्याला–मजदुरी गरेर परिवार धान्न कठिन भएपछि उनी कामको खोजीमा रसुवा पुगेका थिए । हाइड्रोपावर आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका मोहनबहादुर बाढी आएपछि सम्पर्कविहीन भए ।
दिन बित्दै जाँदा परिवारको आशा कमजोर हुँदै गयो । कतै फोन आउला कि, कोही चिनजानको सम्पर्कमा पुगेका होलान् कि भन्ने प्रतीक्षा थियो । तर, बाढीले बगाएको मानिसको खोजी सधैँ आशाले मात्र टुंगिँदैन ।
केही समयपछि एउटा शव फेला परेको खबर आयो । मोहनबहादुरको परिवारलाई तस्बिर देखाइयो । मेनुकाले एकै नजरमा भनिन्–‘यो मेरै श्रीमान् हो ।’
तर, त्यही शव अर्को परिवारले पनि आफ्नो आफन्तको भएको दाबी गर्यो । त्यसपछि अर्को परिवार पनि अगाडि आयो । एउटै शवमा तीन परिवारको दाबी भएपछि सामान्य दृश्य पहिचान पर्याप्त भएन । कानुनी रूपमा शव कसको हो भन्ने प्रमाणित गर्न डिएनए परीक्षण गर्नुपर्ने भयो ।
मोहनबहादुरको पहिचानका लागि उनका छोरा अजितको रगतको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन दुईदेखि तीन महिनासम्म लाग्न सक्ने जानकारी परिवारले पाएको छ । मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । तर, मृत्यु स्वीकार गरिसकेपछि पनि आफ्नै मानिसको शव पाउन नसक्नु झन् कठिन हुन्छ ।
भोर्लेको सानो घरमा अहिले मेनुकाको प्रतीक्षा अझै सकिएको छैन । पहिले उनी श्रीमान् फर्किने आशामा थिइन् । अहिले श्रीमान्को शव फर्किने प्रतीक्षामा छिन् । उनका १४ र नौ वर्षका दुई छोरा तथा अढाई वर्षकी एक छोरी छन् । ऐलानी जग्गामा बनेको सानो घरमा बस्ने परिवारको जीवन दैनिक ज्याला–मजदुरीमै निर्भर थियो । मोहनबहादुर नै परिवारको मुख्य सहारा थिए ।
घर छाडेर रसुवा जाँदा उनको सपना ठूलो थिएन । नियमित काम पाइयोस्, छोराछोरीको पढाइ चलोस्, घरको चुलो नियमित बलोस्—यति नै थियो । तर, परिवारको भविष्य खोज्दै हिँडेका मोहनबहादुर आफैँ परिवारबाट हराए ।
अहिले मेनुकाको अगाडि तीन साना सन्तान छन् । उनीहरूलाई बाबु कहाँ छन् भनेर कसरी सम्झाउने ? बाबु फर्किँदैनन् भन्ने यथार्थ कसरी बुझाउने ? र, सबैभन्दा पीडादायी कुरा–आफ्नै आँखाले चिनेको मानिसको शव पनि किन घर ल्याउन पाइएन भन्ने प्रश्नको उत्तर कसरी दिने ?
मोहनबहादुरका भतिज प्रकाश सार्की पनि परिवारले तस्बिरमा देखेको शव आफ्नै काकाको भएकोमा विश्वस्त छन् । ‘हामी मजदुरी गरेर खाने परिवार हौँ । काका नै घरको सहारा हुनुहुन्थ्यो,’ उनले भने, ‘अब उहाँ सकिनुभयो । परिवारको बिचल्ली छ । त्यसमाथि शव पनि तुरुन्त पाउन सकिएन । फोटोमा देखेको शव मेरै काकाको हो भन्नेमा हामीलाई शंका छैन ।’ तर, परिवारको विश्वास र कानुनी प्रमाणबीच अहिले डिएनए परीक्षण उभिएको छ ।
कटारी नगरपालिका–५ का वडाध्यक्ष मोहनबहादुर तामाङ पनि फेला परेको शव मोहनबहादुर सार्कीकै हुन सक्ने बताउँछन् । ‘मैले उहाँलाई धेरैपटक देखेको व्यक्ति हुँ । तस्बिर हेर्दा शव उहाँकै जस्तो देखिन्छ,’ उनले भने, ‘तर, कानुनी रूपमा पहिचान नभई शव लैजानु उचित हुँदैन । त्यसैले परिवारलाई डिएनए परीक्षणमा सहयोग गरेका छौँ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलका अनुसार आफन्तले तस्बिरका आधारमा शव मोहनबहादुरकै भएको प्रारम्भिक पहिचान गरेका छन् । तर, एउटै शवमा तीन परिवारले दाबी गरेकाले अन्तिम पहिचान डिएनए परीक्षणबाट मात्रै हुने उनले बताए । ‘नमुना संकलन गरेर परीक्षणका लागि पठाइसकेका छौँ,’ उनले भने, ‘रिपोर्ट आएपछि मात्र शव कसको हो भन्ने कानुनी रूपमा टुंगो लाग्छ ।’
भोटेकोशी बाढीपछि उदयपुरका २१ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये पाँचजना परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन् । बाँकी १६ जनाको अवस्था अझै अज्ञात छ । उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईँका अनुसार एउटै शवमा तीन परिवारले दाबी गरेकाले वैज्ञानिक परीक्षण आवश्यक भएको हो ।
‘मोहनबहादुर सार्कीको शव हुन सक्ने आशंका छ,’ उनले भने, ‘तर अन्य परिवारले पनि दाबी गरेकाले डिएनए परीक्षण गरिएको छ । रिपोर्ट आएपछि मात्र वास्तविक पहिचान हुन्छ ।’ चितवनमा गाडिएको एउटा शव अहिले तीन परिवारको प्रतीक्षासँग जोडिएको छ । कसैका लागि त्यो श्रीमान् हुन सक्छ, कसैका लागि छोरा, कसैका लागि अर्को प्रियजन ।
तर, भोर्लेमा मेनुका सार्कीका लागि उत्तर पहिल्यै तय छ । उनले तस्बिरमा आफ्नो श्रीमान्लाई देखेकी छन् । उनले कानमा चिनिन्, आँखामा चिनिन्, अनुहारमा चिनिन् । तर, उनको आँखाले चिनेको शवलाई कानुनले अझै चिन्न बाँकी छ । त्यसैले अहिले मेनुका श्रीमान् फर्किने बाटो होइन, डिएनए रिपोर्ट आउने दिन कुरिरहेकी छन्–सायद त्यही एउटा रिपोर्टले उनलाई अन्तिमपटक श्रीमान्लाई घर ल्याउने अधिकार दिनेछ ।