काठमाडौं । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यसबाट विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका नागरिकहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने विश्वास एमपीआईएले व्यक्त गरेको छ ।
एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले उक्त सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।
उनले विपद्का कारण दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सबै सदस्य संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ ०८:३७