साउन महिना केवल पात्रोको एउटा महिना मात्र होइन, यो प्रकृति, संस्कृति, आस्था र आशाको अनुपम संगम हो। असारको झरीले भिजाएको धर्ती साउन लागेसँगै हरियालीले ढाकिन्छ । खेतबारीमा लहलहाउँदो बाली, डाँडाकाँडामा फैलिएको हरियो चोलो, खोलानाला र झरनाको सङ्गीत तथा चराचुरुङ्गीको चिरबिराहटले सिंगो वातावरणलाई जीवन्त बनाउँछ । त्यसैले साउनलाई नेपाली संस्कृतिमा हरियाली, प्रेम, समृद्धि र नयाँ जीवनको प्रतीकका रूपमा हेरिन्छ ।
साउनको हरियो रङ केवल आँखालाई सुन्दर लाग्ने रङ होइन, यो आशा, शान्ति, उर्वरता र पुनर्जागरणको प्रतीक पनि हो। वर्षाको पानीले सुकेको धर्तीलाई जीवन दिएझैँ, हरियो साउनले थाकेका मनलाई पनि नयाँ ऊर्जा दिन्छ। प्रकृतिले यही महिनामा आफूलाई नयाँ स्वरूपमा सजाउँछ। मानौँ, सिंगो धर्तीले नयाँ जीवनको उत्सव मनाइरहेको हुन्छ ।
धार्मिक दृष्टिले पनि साउनको विशेष महत्व छ । भगवान् शिवका भक्तहरू सोमबार व्रत बस्ने, शिवालयमा जल चढाउने र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा सदियौँदेखि चलिआएको छ । विशेषगरी महिलाले हरियो चुरा, पोते र पहिरन धारण गर्नु केवल फेसनको विषय होइन, यो वैवाहिक सुख, दीर्घायु र मंगलमय जीवनको सांस्कृतिक अभिव्यक्ति हो । यसले हाम्रो समाजमा परम्परा, आस्था र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने भूमिका खेल्दै आएको छ ।
साउनको चर्चा गरिरहदा कृषिलाई बिर्सन सकिँदैन। नेपाल कृषिप्रधान देश हो। किसानका लागि साउन भविष्यको अन्न भण्डार तयार हुने समय हो। असारमा रोपिएको धान साउनमा हराभरा भएर खेतभरि मुस्कुराउँछ । किसानले खेतमा देखिने हरियालीमा आफ्नो पसिनाको प्रतिफल देख्छ। यदि समयमै पानी पर्यो भने उत्पादन राम्रो हुन्छ, उत्पादन राम्रो भए किसानको अनुहारमा मुस्कान फर्किन्छ । त्यसैले साउनको हरियाली देशको अर्थतन्त्र, खाद्य सुरक्षा र ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएको छ ।
साउनले प्रेम र सम्बन्धको पनि सुन्दर सन्देश दिन्छ । गाउँघरमा झूला हाल्ने, देउराली र चौतारामा गीत गाउने, माइतीघर जाने, परिवारसँग भेटघाट गर्ने चलनले सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउँछ। आधुनिक जीवनशैलीले धेरै परम्परालाई कमजोर बनाएको भए पनि साउनका गीत, झूला र रमाइलोले अझै पनि बाल्यकालका सम्झना ताजा गराइदिन्छ। यी परम्पराले हाम्रो सांस्कृतिक पहिचानलाई जीवन्त राखिरहेका छन्।
साउनको वास्तविक महत्व केवल उत्सवमा सीमित छैन। यसको गहिरो सन्देश प्रकृतिसँगको सहअस्तित्वमा छ। वर्षाले धर्तीलाई हरियाली दिन्छ, जंगललाई जीवन दिन्छ, नदीलाई प्रवाह दिन्छ, जलाशयलाई भरिन्छ र जीवजन्तुलाई बाँच्ने आधार प्रदान गर्छ। यदि वर्षा नहुने हो भने कृषि संकटमा पर्छ, खानेपानीको अभाव हुन्छ, वनस्पति सुक्छ र जीवनको चक्र नै प्रभावित हुन्छ। त्यसैले साउनले पानीको महत्व बुझाउँछ। पानीलाई संरक्षण गर्नु भनेको भविष्यलाई संरक्षण गर्नु हो ।
पछिल्ला वर्षहरूमा साउनको मौलिकता बजारमुखी बन्दै गएको छ। सामाजिक सञ्जालमा हरियो पहिरन प्रदर्शन, महँगा गहना र फेसनलाई साउनको मुख्य आकर्षण बनाइँदै छ । परम्पराको सौन्दर्य मनाउनु राम्रो हो, तर त्यसको आत्मा हराउनु दुःखद हुन्छ। साउनको मूल्य बाहिरी सजावटमा होइन, प्रकृतिप्रतिको प्रेम, परिवारप्रतिको सम्मान, समाजप्रतिको उत्तरदायित्व र जीवनप्रतिको सकारात्मक दृष्टिकोणमा निहित छ।
साउनको हरियालीले हामीलाई राष्ट्रिय समृद्धिको बाटो पनि देखाउँछ। यदि हामीले वन, पानी, माटो र जैविक विविधताको संरक्षण गर्न सक्यौँ भने पर्यटन, कृषि, ऊर्जा र वातावरण सबै क्षेत्रमा दीर्घकालीन लाभ प्राप्त गर्न सक्छौँ । नेपालको प्राकृतिक सम्पदा विश्वकै अनुपम सम्पत्ति हो। यसलाई संरक्षण गर्नु केवल सरकारको दायित्व होइन, प्रत्येक नागरिकको कर्तव्य हो ।
नामी साप्ताहिक