नेपालीहरूको विगतको स्वभाव र चरित्र ज्यादै नै उच्चकोटीको रहेको कुरालाई हाम्रो इतिहासले सजिलैसँग पुष्टि गर्दछ। विगतमा हाम्रो समाज र सामाजिक मूल्य र मान्यताहरू आफैमा महान् रहेको कुरालाई प्रमाणित गर्न हाम्रा पुर्खाहरूले भोगेका र यापन गरेका सहीष्णु परिस्थितिनै काफी छ।
हिजो हाम्रा पुर्खाहरूमा भएको मानवतावादी चिन्तन र आपसी सद्भाव विश्वकै इतिहास नियाल्दा कहीँ कतै भेटिँदैन। तर क्रमश आधुनिकता र प्रतिस्पर्धाको नाममा विकसित हुँदै आएको हाम्रो सामाजिक परिस्थिति हिजोको तुलनामा आज मानवीय दृष्टिकोणले सन्तोषजनक देखिँदैन।
समयमा नै राजनीतिज्ञहरूले यो परिस्थितिको आँकलन गरेर हाम्रो देशमा औद्योगिक विकास गरी रोजगारीको सिर्जना गरेर मानिसहरूलाई आत्मनिर्भरताको बाटोमा हिँडाउन सकेको भए आज हामीले यस्तो अवस्थाको सामना गर्नु पर्ने थिएन।
स्वभावैले मानव ढुङ्गे युगदेखि नै ईर्स्यालु, अहंकारी र लडाकु रहेको कुरा हामीले बुझ्नको लागि अहिलेको हाम्रो स्वभावलाई मनन गर्दा गाह्रो हुँदैन। ढुङ्गे युगमा कन्दमूल खोजेर ल्याउने र मासु खान सकिने जनावरलाई समातेर ल्याउनेलाई कन्दमूल ल्याउन नसक्ने र जनावर समातेर ल्याउन नसक्नेले गर्ने डाहा र ईर्ष्या अनि रिस आजको विश्व परिस्थितिको ऐतिहासिक प्रमाण हो।
विकसित देशहरूले अभावको न्यूनीकरणमा आफ्नो ध्यान केन्द्रित गरेकोले उनीहरूमा अभाव झेलेका देशहरुका नागरिकको तुलनामा ऐतिहासिक मानवीय दुर्गुण पनि क्रमश: न्यूनीकरण हुँदै गएको अवस्था अहिले हामीले छर्लङ्गै देख्न सक्छौं।
विश्वमा रहेका देशहरूमा अविकसित देशहरूको तुलनामा विकसित देशहरूका जनताले आफ्ना आधारभूत आवश्यकताहरू पूरा भएको कारणले आफ्ना वरिपरिका मानिसहरूको बिना कारण डाहा र ईर्ष्या अनि रिस गरेको भेटिँदैन।
कुनै पनि देशको राष्ट्रिय एकता र राष्ट्रिय भावना त्यस देशको अर्थतन्त्रका कारण बलियो वा कमजोर हुँदो रहेछ भन्ने कुरा अहिलेको असफल राष्ट्रहरूका नागरिकहरूको नकारात्मक र अस्थिर सोचबाट बुझ्न सजिलै सकिन्छ। हाम्रै देशको सन्दर्भमा घोत्लिने हो भने हामीले कमजोर आर्थिक अवस्थाकै कारण बेहोर्नु परेको आपसी दुर्भावनाबाट यो कुरालाई मनन गर्न सक्छौँ।
हिजो विश्वमै मानवीय सद्भावनाको र दुर्भावनाको उदाहरणीय चेत बनेका नेपालीहरू आज आर्थिक अभावका कारण लोकतान्त्रिक वर्गीय सोचलाई ग्रहण गर्न नसकेर विचलित हुनु हाम्रो लागि मात्र होइन सम्पूर्ण विश्वकै लागि लज्जास्पद कुरा बन्न पुगेको छ ।
हाम्रो समाजमा अहिले अनैतिक र बेइमानीपूर्वक अर्थोपार्जन गर्नेहरूका कारण स्वभाविक र ऐतिहासिक मानवीय सोचलाई ग्रहण गरी इमान्दारीपूर्वक र जायज ढङ्गले अर्थोपार्जन गर्नेहरू पनि बिना कारण सामाजिक अपमान र कोप बेहोरिरहेका छन् ।
अहिले हामीकहाँ एउटा ठूलो समस्याको रूपमा देखा परेको यो परिस्थितिलाई मानवता र सामाजिक दृष्टिकोणले स्वीकार्न कसैले पनि सक्दैन। किनकि आमरूपले आर्थिक दृष्टिकोणबाट कमजोर भएको समाजमा पनि सबैकोआफ्नो कर्मठता र निष्ठाले धन कमाउने अधिकारलाई लोकतन्त्रले सुनिश्चित गर्दछ।
तसर्थ अभावलाई चुनौतीको रुपमा लिएर हामी सबैले अरुको इमानदारिता र परिश्रमलाई सम्मान गर्दै स्वभाविक वर्गीय चेतनालाई ग्रहण गर्न सक्यौँ भने अहिले हाम्रो समाजमा देखा परेको समस्याहरु क्रमश हराएर जानेछ ।
नामी ई-पेपर
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १८:०७