हिजोआज कलाकारका गीत सार्वजनिक हुन्छन् । ती गीतको केही घण्टामै सामाजिक सञ्जालमा लाखौँ भ्यु पुग्छ। त्यही गीत केही दिनमै विवादको केन्द्र बन्छ । त्यसपछि सुरु हुन्छ आरोप–प्रत्यारोपको शृङ्खला ।
कसैले कलाकारलाई समाज बिगारेको आरोप लगाउँछ, कसैले प्रतिबन्धको माग गर्छ, कसैले नैतिकताको दुहाई दिन्छ। तर यति धेरै बहसका बीच एउटा आधारभूत प्रश्न भने सधैँ ओझेलमा पर्छ-के समाजलाई गीतले बिगारिरहेको छ, वा समाजको चेतनाले त्यस्ता गीतहरू जन्माइरहेको छ ?
यो प्रश्न केवल एउटा गीतको होइन । यो हाम्रो सांस्कृतिक चेतना, सामाजिक मनोविज्ञान र उपभोक्ता संस्कृतिको प्रश्न हो। कुनै पनि कलाकार शून्यबाट जन्मिँदैन। उसलाई समाजले जन्माउँछ । समाजले नै सुन्छ, हेर्छ, ताली बजाउँछ, मञ्चमा उभ्याउँछ र लोकप्रिय बनाउँछ।
त्यसैले कलाकार समाजभन्दा माथि होइन, समाजकै प्रतिबिम्ब हो । समाजले जुन स्वाद देखाउँछ, कलाकारले त्यही स्वादलाई सिर्जनामा उतार्ने प्रयास गर्छ । किनकि सिर्जना केवल अभिव्यक्ति मात्र होइन, बजारसँग जोडिएको यथार्थ पनि हो।
बजारको नियम सरल छ-माग जहाँ हुन्छ, आपूर्ति त्यहीँ हुन्छ । यदि चेतनामूलक गीत, गहिरो कविता र मूल्यमा आधारित सिर्जनाले करोडौँ भ्यु पाउने भए, कलाकार पनि त्यतैतर्फ आकर्षित हुन्थे । तर आजको वास्तविकता फरक छ।
विवाद बिक्छ । उत्तेजना बिक्छ । सनसनी बिक्छ । सामाजिक सञ्जालको एल्गोरिदमले पनि गहिराइभन्दा उत्तेजनालाई छिटो फैलाउँछ। त्यसैले बजारले त्यही उत्पादन गरिरहेको छ, जसलाई समाजले तुरुन्तै उपभोग गर्छ।
यसको अर्थ कलाकार निर्दोष छन् भन्ने होइन । कलाकारको सामाजिक उत्तरदायित्व हुन्छ। कला समाजलाई केवल मनोरञ्जन दिनका लागि मात्र होइन, दिशा दिनका लागि पनि हो । शब्दसँग शक्ति हुन्छ। संगीतसँग प्रभाव हुन्छ।
लोकप्रिय व्यक्तित्वले समाजमा मूल्य र संस्कारको निर्माणमा पनि भूमिका खेल्नुपर्छ। तर यो जिम्मेवारी कलाकारको मात्रै होइन। दर्शक, अभिभावक, विद्यालय, सञ्चारमाध्यम र राज्य-सबैको साझा जिम्मेवारी हो ।
अझ गम्भीर कुरा के छ भने हामी आफैँ विरोधाभासमा बाँचेका छौँ । हामी पहिले कुनै कलाकारलाई लाखौँ भ्यु दिएर चर्चित बनाउँछौँ। उनका गीतहरू आफ्ना मोबाइलमा बजाउँछौँ । सामाजिक सञ्जालमा साझा गर्छौँ । कार्यक्रमहरूमा नाच्छौँ।
अनि जब त्यही कलाकारले अर्को उस्तै शैलीको गीत ल्याउँछ, हामी नै नैतिकताको सबैभन्दा ठूलो अभियन्ता बनेर उभिन्छौँ। यदि हामीले सुरुमा नै गुणस्तरीय सिर्जनालाई प्रोत्साहन दिएका हुन्थ्यौँ भने, आज बजारको स्वरूप पनि फरक हुन सक्थ्यो।
समाज परिवर्तन प्रतिबन्धले हुँदैन । एउटा गीत हटाएर अर्को गीत आउँछ । एउटा कलाकार हराउँछ, अर्को त्यही शैलीमा देखापर्छ। किनकि समस्या व्यक्तिमा होइन, प्रवृत्तिमा छ । प्रवृत्ति चेतनाबाट जन्मिन्छ । चेतना नबदलिँदासम्म समाज बदलिँदैन। समाज नबदलिँदासम्म बजार बदलिँदैन। बजार नबदलिँदासम्म सिर्जनाको स्वरूप पनि बदलिँदैन ।
यसैले आज आवश्यक कुरा कलाकारलाई गाली गर्नु मात्र होइन, आफूलाई पनि प्रश्न गर्नु हो। हामीले कस्ता गीतलाई लोकप्रिय बनाइरहेका छौँ ? कस्ता सामग्रीलाई आफ्ना बालबालिकासमेतसँग बसेर हेर्न योग्य ठानिरहेका छौँ ? हामीले कुन प्रकारको कलालाई सम्मान गरिरहेका छौँ ? यी प्रश्नहरूको उत्तरभित्र नै भविष्यको नेपाली सांस्कृतिक दिशाको संकेत लुकेको छ ।