जीवन एउटा निरन्तर सिकाइको यात्रा हो । शिक्षा, अनुभव, व्यवहार, सहकार्य, सद्भाव, अनुशासन र अरूबाट सिक्ने संस्कारले मानिसलाई क्रमशः सक्षम र विज्ञ बनाउँदै लैजान्छ । त्यसैले विज्ञता कुनै पद, हैसियत वा प्रमाणपत्रले मात्र निर्धारण गर्ने विषय होइन । यो मानिसको सोच, व्यवहार, कार्यशैली र जिम्मेवारीबोधबाट प्रमाणित हुने गुण हो ।
वास्तविक विज्ञता घमण्डमा होइन, विनम्रतामा फुल्छ । आफूले धेरै जानेको छु भन्ने अहंकार गर्ने व्यक्ति साँच्चिकै विज्ञ नहुन सक्छ । बरु आफूले जानेको कुरा अरूसँग बाँड्न सक्ने, अरूको ज्ञान र अनुभवबाट सिक्न सक्ने, आफ्नो कमजोरी स्वीकार गर्न सक्ने र आवश्यक पर्दा आफूभन्दा कनिष्ठ व्यक्तिबाट समेत सिक्न सक्ने व्यक्ति नै वास्तविक अर्थमा विज्ञ हुन्छ ।
मान्छेको ज्ञान र क्षमता एक्लै निर्माण हुँदैन। परिवार, समाज, विद्यालय, कार्यालय, सहकर्मी, साथीभाइ र समुदायसँगको निरन्तर सम्पर्क तथा व्यवहारबाट मानिसले धेरै कुरा सिकिरहेको हुन्छ । एकअर्काप्रतिको सम्मान, सहकार्य र सद्भाव नै ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने आधार हुन् । किताबले ज्ञान दिन सक्छ, तर व्यवहारले त्यस ज्ञानको वास्तविकता झल्काउँछ ।
कुनै पनि देशको उन्नति, कार्यालयको सफलता, संस्थाको प्रतिष्ठा र व्यक्तिको समृद्धिको आधार केवल भौतिक स्रोत वा आर्थिक सम्पन्नता होइन । त्यसका लागि दक्ष, जिम्मेवार, इमानदार र विवेकशील जनशक्ति आवश्यक हुन्छ । राज्यले निर्माण गरेका नीति, नियम र कानुनलाई सिरोपर गर्दै तिनलाई व्यवहारमा इमानदारीपूर्वक कार्यान्वयन गर्ने व्यक्ति नै वास्तविक अर्थमा विज्ञ कहलिन योग्य हुन्छ ।
विज्ञताको अर्को महत्वपूर्ण परिचय कामप्रतिको उत्तरदायित्व हो । आफूले पाएको जिम्मेवारीलाई बोझ सम्झने होइन, अवसरका रूपमा ग्रहण गर्ने व्यक्ति नै संस्थाका लागि मूल्यवान् हुन्छ । काम बिग्रिँदा अरूलाई दोष दिने र सफलता प्राप्त हुँदा जस आफूले मात्र लिने प्रवृत्ति विज्ञताको परिचय होइन। विज्ञ व्यक्तिले सफलता सामूहिक प्रयासको परिणाम हो भन्ने बुझ्छ र असफलताबाट पाठ सिकेर सुधारको बाटो खोज्छ ।
वास्तविक विज्ञतासँग आक्रोश, द्वेष, प्रतिशोध र अहंकारले लामो समयसम्म स्थान पाउन सक्दैन । असहमति हुन सक्छ, विचार फरक हुन सक्छ, तर त्यसलाई शत्रुतामा बदल्नु विज्ञताको लक्षण होइन । सहनशीलता, संवाद, विवेक र संयमले असहमतिलाई पनि सकारात्मक परिणाममा रूपान्तरण गर्न सक्छ ।
विज्ञ व्यक्ति सबैप्रति सम्मानपूर्ण व्यवहार गर्छ। पद ठूलो हुँदैमा मानिस ठूलो हुँदैन; उसको व्यवहार ठूलो हुनुपर्छ । आफूभन्दा माथिल्लो पदमा रहेको व्यक्तिलाई मात्र सम्मान गर्ने र आफूभन्दा तल्लो तहमा काम गर्ने व्यक्तिलाई हेप्ने प्रवृत्तिले कसैलाई विज्ञ बनाउँदैन । कार्यालयको सहयोगी होस् वा उच्च पदाधिकारी, सबैको सम्मान गर्न सक्ने संस्कार नै सभ्य र सक्षम व्यक्तिको पहिचान हो ।
संस्थागत जीवनमा सबैभन्दा ठूलो चुनौती व्यक्तिगत स्वार्थ हो। जब व्यक्ति संस्थाभन्दा आफूलाई ठूलो ठान्न थाल्छ, त्यहाँ संस्थागत भावना कमजोर हुन्छ । वास्तविक विज्ञ व्यक्ति सधैँ “मेरो होइन, हाम्रो सफलता” भन्ने सोच बोकेर अघि बढ्छ । उसको सपना व्यक्तिगत लाभमा मात्र सीमित हुँदैन; संस्था राम्रो बनोस्, सहकर्मी सफल होऊन्, समुदाय अघि बढोस् र देश समृद्ध बनोस् भन्ने व्यापक सोच उसमा हुन्छ ।
त्यसैगरी, विज्ञता भनेको आफ्ना मान्छेको गल्तीलाई ढाकछोप गर्नु होइन । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने निष्पक्ष सोच विज्ञताको अनिवार्य आधार हो । “आफ्नालाई काखा, अरूलाई पाखा” गर्ने प्रवृत्तिले केही समय व्यक्तिगत सम्बन्ध जोगाएजस्तो देखिए पनि दीर्घकालमा संस्था, समाज र परिवारलाई कमजोर बनाउँछ । आफ्ना भनिएकाले गरेको गल्तीलाई पनि गल्ती भन्न सक्ने साहस र सुधारका लागि सहयोग गर्न सक्ने संस्कार नै वास्तविक विज्ञता हो ।
निष्पक्षता बिना ज्ञान अधुरो हुन्छ। धेरै कुरा जानेर पनि गलतलाई समर्थन गर्ने व्यक्ति विद्वान् देखिन सक्छ, तर विज्ञ बन्न सक्दैन । किनकि विज्ञताको वास्तविक परीक्षा आफूलाई अनुकूल हुँदा होइन, आफूलाई प्रतिकूल अवस्थामा पनि सत्य र न्यायको पक्षमा उभिन सक्ने क्षमतामा हुन्छ ।
परिवारदेखि समाजसम्म, कार्यालयदेखि राष्ट्रसम्म सबै ठाउँमा आज हामीलाई ज्ञान मात्र होइन, ज्ञानसँगै विवेक, विनम्रता, सहनशीलता, निष्पक्षता र उत्तरदायित्व भएको जनशक्ति आवश्यक छ । आफ्नो ज्ञानप्रति गर्व गर्नुपर्छ, तर त्यो गर्व अरूलाई होच्याउने घमण्डमा परिणत हुनु हुँदैन । आफ्नो सफलतामा खुसी हुनुपर्छ, तर अरूको असफलतामा रमाउने प्रवृत्ति हुनु हुँदैन ।
अन्ततः विज्ञता भनेको आफूले कति जानेको छु भन्ने प्रदर्शन गर्नु मात्र होइन; आफूले जानेको ज्ञानलाई कसरी व्यवहारमा उतार्छु, अरूलाई कसरी सम्मान गर्छु, संस्थाप्रति कति उत्तरदायी हुन्छु र सत्य–न्यायको पक्षमा कति दृढ भएर उभिन्छु भन्ने कुरा हो ।