उदयपुर । नेपालको एकीकरणकालीन इतिहास बोकेको उदयपुरगढीले पुनर्निर्माणपछि नयाँ स्वरूप पाएसँगै आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । कुनै समय युद्धको मोर्चा र सैनिक सुरक्षा संरचनाले भरिएको ऐतिहासिक स्थल उदयपुरगढी अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेको हो ।
उदयपुरगढी गाउँपालिका–५ मा रहेको यो गढी जिल्लाको पुरानो सदरमुकामसमेत हो । गाउँपालिकाको केन्द्रबाट करिब एक किलोमिटर उत्तर र नेपालटारस्थित मदन भण्डारी राजमार्गबाट करिब नौ किलोमिटर दूरीमा रहेको गढीमा पुग्ने सडक कालोपत्रे भएपछि पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।
पुरानो गढीको भग्नावशेषलाई आधार बनाएर करिब एक सय ३० मिटर गोलाकार बंकर निर्माण गरिएको छ । गाउँपालिकाका अधिकृत गुणराज श्रेष्ठका अनुसार बंकरको बीचमा अष्टकोण आकारको गढी बनाइएको छ । त्यहाँ पुग्न फलामे पुल निर्माण गरिएको छ भने गढीभित्र कोतखाना र इनारसमेत राखिएका छन् । ढुंगाका ब्लक प्रयोग गरेर बनाइएको पर्खालले प्राचीन किल्लाको झल्को दिन्छ । ‘अहिले त्यही पुनर्निर्माण गरिएका संरचना पर्यटकको रोजाइको केन्द्र बन्न थालेका छन्,’ श्रेष्ठ भन्छन्, ‘चालु आर्थिक वर्षमा दुई लाख एक हजार पाँच सय रुपैयाँमा ठेक्का दिएर पर्यटकीय केन्द्र गढीबाट राजस्व संकलन पनि हुन थालेको छ ।’
उनको भनाइमा कुनै वेला वर्षमा तीन–चार हजार पर्यटक पुग्ने गढीमा अहिले मासिक रूपमै एक हजारदेखि दुई हजारको संख्यामा पर्यटक पुग्न थालेका छन् । यस चाडपर्वमा पर्यटकको संख्या बढेको उनले बताए । उनले भने, ‘गढीको इतिहास र महत्वबारे जानकारी दिने सामग्री, प्रचारप्रसार तथा पर्यटकीय सेवा विस्तारमा अझै जोड दिनुपर्ने समय आएको छ ।’
गढी परिसरमा बगैँचा, सार्वजनिक शौचालय, कार्यक्रमस्थल, फलामे भ्यु टावर र घोडामा सवार तत्कालीन शासकको प्रतिमासमेत निर्माण गरिएको छ । भ्यु टावरबाट आसपासका पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ । गढी पुनर्निर्माणमा गाउँपालिका र पर्यटन मन्त्रालयको गरी चार करोडभन्दा बढी खर्च भइसकेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । ‘संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यसपालि पनि गाउँपालिकाले सात लाख विनियोजन गरेको छ ।’
गाउँपालिकाका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता होमबहादुर बस्नेत पनि पुनर्निर्माणपछि गढीले नयाँ स्वरूप पाएसँगै पर्यटकको आकर्षण बढ्न थालेको बताउँछन् । उनी भन्छन्, ‘नेपालटारबाट जोडिने सडक कालोपत्रे भएकाले अब पर्यटक बढ्न थालेका छन् । यो उदयपुरको प्रमुख पर्यटकीय क्षेत्र पनि हो ।’
एकीकरणकालीन इतिहासको साक्षी
इतिहासकार तथा लेखक कौशल चेम्जोङका अनुसार उदयपुरगढीको इतिहास पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएको छ । गोर्खाली फौजले चौदण्डी राज्य कब्जा गर्नुअघि उदयपुरगढीको किल्ला कब्जा गरेको इतिहास छ ।
इतिहासकार चेम्जोङले आफ्नो पुस्तकमा विक्रम संवत् १८७२ मा सरदार बलभद्रज्यू ठकुरीले मुकाम उदयपुरगढी सारेको उल्लेख गरेका छन् । वि.सं. २०१८ मा उदयपुर जिल्लाको सदरमुकाम बनेको गढी वि.सं. २०२८ मा सदरमुकाम गाईघाट सारिएपछि प्रशासनिक केन्द्रका रूपमा रहेन । तर, त्यसपछि गाउँ विकास समितिको कार्यालय हुँदै अहिले उदयपुरगढी गाउँपालिकाको केन्द्रका रूपमा रहेको छ ।
गाउँपालिका अध्यक्ष केप्छाकी मगर भन्छन्, ‘उदयपुरगढीको पर्यटन विकासका लागि सबैभन्दा पहिला पक्की सडकको आवश्यकता थियो । नेपालटार–उदयपुरगढी जम्मा नौ किलोमिटर सडकमा सात किलोमिटर पिच भइसकेको छ । बाँकी दुई किलोमिटरको पनि ठेक्का लागिसकेको छ । जसका कारण पर्यटकको रोजाइमा पर्दै गएको छ ।’
यता, उदयपुरगढी उदयपुर जिल्लाको नामसँग पनि जोडिएको छ । बुद्धिजीवी बोधकार घिमिरेका अनुसार उदयचन्द्र सेन नामका राजाले यस क्षेत्रमा राज्य गरेकाले उदयपुरगढी हुँदै जिल्लाको नाम उदयपुर रहन गएको हो । ऐतिहासिक सम्पदा, पहाडी दृश्य र सहज सडक पहुँच उदयपुरगढीका मुख्य आकर्षण हुन् । यहाँको इतिहास झल्काउने सूचना पाटी, स्थानीय गाइड, व्यवस्थित प्रचारप्रसार र पर्यटकीय सेवा विस्तार गर्न सके आन्तरिक पर्यटकको अझ धेरै रोजाइमा पर्ने घिमिरेको भनाइ छ ।