चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम धमाधम भइरहेको छ ।
सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै केही घण्टा लाग्छ सक्छ”, उनले भने।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे।
उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १२:४७