ललितपुर। खोकनाको शान तथा गौरब १२ बर्षे रुद्रायणी माईको जात्रामा कडा सुरक्षा अपनाएको भएतापनि हुलमुलमा सुनको गहना चोर्ने गिरोह सक्रिय भएको स्थानीयवासीको गुनासो छ। शुक्रवार सिकाली मन्दिर परिसरमा भएको १२ बर्षे रुद्रायणी माईको जात्रामा गलामा लगाइरहेको सुनका सिक्री नै गायब भएपछि सुनको गहना चोर्ने गिरोह सक्रिय भएको बुझिएको हो।
स्थानीयवासीका अनुसार, सिकाली मन्दिरमा जात्रा हेर्न पुगेको खोकनाकै ६९ बर्षिया कान्छीमाया महर्जनको २ तोलाको सुनको सिक्री चोरी भएको छ। जात्रामा पुग्दा समेत गलामा सुनको सिक्री भएको र जात्रावाट फर्केर वीच वाटोमा गला छाम्दा आफ्नो २ तोलाको सुनको सिक्री हराएपछि उनले अलाप–बिलाप गरेपनि जात्राको भीडमा चोर पत्ता लगाउन नसकेको स्थानीयको भनाई छ।
स्थानीय प्रेमशोभा महर्जनका अनुसार कान्छीमायाको जस्तै अन्य ६ जनाको पनि त्यसरी नै सुनको सिक्री जात्रावाटै हराएको छ। प्रहरीले यससंवन्धमा खोजी जारी गरेको भनेतापनि हालसम्म जात्रामा सुनको सिक्री थाहै नदिइकन चोरी गर्ने चोर पत्ता लाग्न नसकेको जनाइएको छ। प्रहरीले हुलमुल तथा जात्रामा जादा अमूल्य गरगहना नलाइकन जान अनुरोध गरेको छ।


प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० १०:४७