काठमाडौं। नेपाली मात्रको महान पर्व बडादशैं नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्ने गर्दछन् । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ।
शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराती दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ। यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ। आजका दिन काठमाडौंं उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवती, कालिकास्थान, रक्तकाली, विजेश्वरी, वज्रयोगिनी, सकंटा, इन्द्रायणी, दक्षिणकाली, बज्रवाराही, बगलामुखी चामुण्डा लगायत मन्दिरहरुमा पनि बलिसहित पूजा गर्नेहरूको भीड लाग्ने गर्दछ।
यस्तै काठमाडौं उपत्यकाबाहिर काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, डढेलधुराको उग्रतारा, पर्साको गहवामाई, धनुषाको राजदेवी, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि पशुबलि सहित पूजा गर्नेको भीड लाग्दछ । पशुबलि नदिनेले भने आज पूजा कोठामा नरिवल, काँक्रो, कुभिण्डो, मुला, घिरौँला आदि चढाएर पूजा गर्दछन् । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई पनि सरसफाइ गरी पशुबलिसहित पूजा गर्ने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८० ०८:४६