काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको पुरानो र ऐतिहासिक नगरी मानिने त्रिपुरासुन्दरी गाउँपालिका–५ , तौथली बजारमा बुधबार दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । तौथली भेगभर जिल्लाभरबाट आएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकर्कालाई छ्यापाछ्याप गरेर दही छ्याप्ने जात्रा मनाएको हो।
जय जय ओम महादेवी ’भनेर चिच्याउँदै तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका ६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । भुकम्पपछि पुरातत्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि बुधबार जात्रा झनै ठूलो भएको थियो । दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार,खाडो,खुकुरी देखाएर नृत्य निकालिएको थियो ।
महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म त्यहाँ दही जात्रा हुँदै आएको छ । गुठियार, स्थानीयले भैसीगाई नथाकोस र पशुपालन ,व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दैआएका छन् । खासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिने गरेको स्थानीयको भनाई छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० २१:१९