नवलपुर । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन पहाडको भित्तो काट्नुपर्ने भएपछि आजबाट दैनिक ४ घण्टा सवारीसाधन बन्द गरिएको छ।
पहाडको भित्तो काटेर नसकिने बेलासम्म आजबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाडको भित्तो काट्ने काम सुरु गरिएको हो।
केही वर्ष अगाडि यस सडक विस्तार गरी फराकिलो बनाइए पनि पुराना पुल साँघुरो र जिर्ण हुँदा नयाँ फराकिला पुल निर्माणका लागि पहाडको भित्तो काट्न सुरु गरिएको हो।
भिर भएको ठाउँमा पुल बनाउनु पर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। सडक विस्तारका लागि भन्दै आजबाट चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिएका छन्।
सडक अवरुद्ध पारेर पहाड काट्ने काम गर्दा यात्रुहरु मर्कामा पर्ने गरेका भन्दै उनीहरुले वैकल्पिक सडक निर्माणका लागि जोड दिएका छन्। केही समय अगाडि पनि नयाँ पुल निर्माण गर्न भन्दै यस सडक एक महिनासम्म दैनिक ४ घण्टासम्म अवरुद्ध पारेर पहाड काट्ने काम गरिएको थियो। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो।
बाँकी ३५ मिटर सडक अब काट्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जनाएको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने गर्छन्। सडक अवरुद्ध पारेर पहाडको भित्तो काट्न सुरु गरेपछि सबैभन्दा बढी मर्कामा बिरामीहरु पर्ने गरेका छन्।
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ।
काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने बताइएको छ।
त्यस्तै पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारीसाधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ।
तीन हप्ताका लागि दैनिक ४ घण्टा सडक बन्द गरेर भित्तो काट्ने काम सुरु गरिएको हो।
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २०:२१