जस्को साथको आडमा
नफर्किएर पछि
कति पर पुग्ने हिम्मत गरें
फर्किएर हेर्दा
छुटेछ कतै उही नै !
छुटेको पनि के भन्नु
सायद बाटो मोडेछ क्यार
कुनै घुम्तीबाट
आउनेबेला
-आउँछु भनेको थियो
जानेबेला
-जान्छु पनि नभनी गयो !
खोइ, देखेन कि
बिदाई गर्ने हैसियत मेरो
यदि जान्छु भनेको भए !
लैजाऊ भन्ने थिएँ
-ऊ बसेको यो मनको सिंहासन
-उस्का पैतालाका दाग
-ऊ हुनुको महसुसको आनन्द
-ऊ नहुनुको मीठो छटपटी
-ऊसँग भेट्नु पूर्वको मनको काउकुती
दिने थिएँ ,
-अलिकति बाँकी रहेको यो ऊर्जा
-अलिकति बाँकी रहेको साहस
-ऊसँगै जीवन कटाउने आश
-अनि उस्कै लागि फेरिरहेको यो सास
भनेको भए,
-सब्बै सब्बै दिने थिएँ
-हामी छुट्नु पूर्व ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० ०८:४५