म्याग्दी । उपल्लो मुस्ताङमा बसोवास गर्ने लोवा जातीले मनाउने ऐतिहासिक र सांस्कृतिक पर्व ‘तिजी’ पर्यटक भित्र्याउने माध्यम बनेको छ ।
पन्ध्रौं शताब्दीमा तत्कालीन मुस्ताङी राजाले रोगब्याधी र विपद् नहोस भन्ने कामना गर्न ३ दिनसम्म तिजी पर्व मनाउन र पुजा गर्न बसाएको चलनलाई त्यहाँका बासिन्दाले जिवन्त राखेर पर्यटन विकासमार्फत लाभ लिएको हो ।
लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका वासिन्दाले हरेक वर्ष मनाउने तिजी पर्व आइतबारदेखि शुरु भएको छ। तिजीमा रमाउन विदेशी र स्वदेशी पर्यटकहरु लोमान्थाङ्मा पुुगेको लोमान्थाङ गाउँपालिका मुस्ताङका अध्यक्ष टसी नर्वु गुरुङले वताए ।
अर्ध निषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङमा १० दिन भ्रमण गर्न विदेशी पर्यटकले सरकारलाई पाँच सय अमेरिकी डलर शूल्क तिर्नुपर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार यस वर्षको तिजी पर्वको लागि ४ सय ७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुुगेका छन्।
१५ जना सार्क र ४ सय ५७ जना तेस्रो मुलुकका पर्यटक हुुन् । उनीहरुबाट रु. ३ करोड १८ लाख ८८ हजार राजस्व संकलन भएको छ । तिजी पर्व अवलोकनका लागि आएका पर्यटकले लोमान्थाङमा रहेका ३५ वटा होटलहरु भरिभराउ भएका छन् ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १० वटा वडाका वासिन्दाले हरेक वर्षको जेष्ठ कृष्ण द्धादशी तिथीदेखि ३ दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सवैभन्दा ठूलो र प्रख्यात पर्व हो ।
लोमान्थाङ दरबारमा वौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्विर अंकित ठूलो आकारको थाङ्का प्रर्दशनी र धार्मिक बिधी अनुसार पुजाआजा गरेर तिजी पर्व मनाउन शुरु हुन्छ ।
दुई तले घर बराबरको उचाई भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पुजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।
सम्पूर्ण प्राणीहरुको हितका लागि ३ दिनसम्म पुजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रर्दशन गरेर तिजी पर्व मनाउने चलन छ । प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकाल जस्ता अनिष्ट नहोस भन्ने कामना गरेर पुजाआजा गर्छन्।
पहिलो दिन जमिनका देवी देवता, दोस्रो दिन समाजलाई दुख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाहरुले नृत्य मार्फत देखाउने गर्छन् ।
तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । माटोको पर्खालभित्र रहेको ७ सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजिवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बिचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औं पुस्ताका राजाले पन्ध्रौं शताब्दीमा तिजी पर्व मनाउन शुरुवात गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१ १७:००