काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुने बताएका छन् । दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका हुन् ।
‘सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको र बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्गलक्षित अभियान सम्पन्न भएको छ’, उनले भने, माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ ।
यता प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पसहित जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको पनि बताएका छन् । तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए ।
‘विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ’, उनले भने ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ २०:२७