काठमाडौँ । कविता र गीत दुवैमा लय मिसायो भने त्यो सरल र सरस हुन्छ । गीतमा त्यो तागत झन बढी हुन्छ। यदि गीतमा सरलता र सुमधुता थपियो भने त्यो स्वर, संगीत र लयले नै हो। जीवनको यही सुमधुर लय बोकेर कवि स्रष्टा अलका मल्ल आफ्नो रचनामा नयाँ स्वाद र सन्तुष्टिकासाथ लेखनको पच्चीस बर्षपछि पहिलो कृति ‘मनका तरङ्ग’ सार्वजनिक गरेर युगीन आवाज तरङ्गित गर्न सफल भएकी छन्।
‘मनका तरङ्ग’ मल्लको गीत, गजल र कविताको संग्रह हो। जसमा ५३ कविता, ५ गजल तथा २९ गीत गरेर कुल ८७ रचना संग्रहित छ। ‘मनका तरङ्ग’मा संग्रहित सवै रचनामा मल्लका मनका भावनाहरु छताछुल्ल भएर पोखिएका छन्। कति सिर्जनामा रोदन छ त कति सिर्जनामा खुशीका अनेक अनेक तरङ्ग पनि छन्। ती सवै सुख–दुःखका तरङ्ग नै सवैका लागि मनछुने ‘मनका तरङ्ग’ बन्न सफलता प्राप्त गरेको छ। यही ‘मनका तरङ्ग’ले अलका मल्ललाई नेपाली साहित्यको आकाशमा अब्बल दर्जा मिलेको छ। अथक तपस्वी सर्जक अनि सिर्जनाकार भनेर चिनिएकी छन् ।
सुख–दुःख–प्रेम–समृद्धि–आत्मसम्मान जस्ता कुराको चाहना जो कसैमा रहन्छन् तर कोही त्यस्ता मान्छेहरु पनि समाजमा हुन्छन्, जो नियमिततामा क्रमभङ्ता चाहन्छनः भैरहेको अवस्थालाई फेर्न खोज्दछन् र अरुभन्दा फरक देखिने सोचका कारण सङ्कटपूर्ण क्षण बाँच्नुमै बढी रमाउँछन् । यही समाजको यथार्थतालाई गीत, गजल तथा कवितामा प्रस्तुत गर्ने कार्य गर्दैआएका स्रष्टा कवि तथा गीतकार मल्लको भनाइमा समाजमा देखिएको यथार्थता नै साहित्यिक सिर्जना हो । जसमा समय र यथार्थताको कम्पन हुने गर्दछ । युगीन आवाज गुञ्जन्छ ।
गीत भनेपछि सानै उमेरदेखि हुरुक्क हुने कवि तथा गीतकार मल्ल सर्जक बन्नुमा रेडियो नेपालको बाल कार्यक्रम कारक हो । रेडियो नेपालको बाल कार्यक्रम नियमित सुन्ने बानीवाट सानोमा बाल गीत र कविताहरु प्रशस्तै लेख्ने गरेतापनि प्रतिस्पर्धामा भाग लिन असहजता हुने भएको कारण कापीका पन्नाहरुमा नै सिमित हुने गरेका ती क्षणहरु कवि तथा गीतकार मल्लका लागि अविस्मरणीय पनि बन्ने गरेको छ।

उनै कवि तथा गीतकार मल्लले दिवंगत पिता केदार बहादुर मल्ललाई संवोधन गरेर लेखेको मार्मिक कविता खाटमुनि भेटाएपछि उनी कवि भएको कुरा उनको जीवन साथी श्रीमान सुरेश चन्द्र श्रेष्ठले थाहा पाएका थिए । उनीभित्रको लेखनको खुवी श्रीमानले थाहा पाएपछि श्रीमानकै उत्प्रेरणा तथा थप हौसलाले लेख्दै समाजमा साक्षात्कार हुदैगएको बताउने मल्लको रचनामा दुई दशक अघि तिम्रो निम्ती नामक गीति एल्बम बजारमा आएको थियो।
उक्त एल्बममा प्रेमध्वज प्रधान, लोचन भट्टराई, आनन्द कार्की, सपना परियार, अमर तण्डुकार, दीपेन्द्रमान सिंह, प्रकाश चन्द्र श्रेष्ठ, सुवर्ण राजभण्डारी र बिरज गुरुङका सुमधुर गायन रहेको थियो। मनोज राजभण्डारीको संगीत रहेको उक्त एल्बममा संग्रहित मल्लका गीतहरु रेडियो नेपाल लगायत विभिन्न एफएमहरुवाट प्रसारण हुदा मन प्रफुल्लित बनेका ती क्षणहरुलाई शव्दमा बर्णन गर्न नसक्ने उनले बताएकी छन् ।
त्यो खुशीसंगै विसं।२०८० सालमा रेडियो नेपालवाट गीतकारको प्रमाणपत्र पाउँदाको खुशी अनि, नेपाल बाहिर रसियामा स्रष्टा सम्मान पाएको क्षणलाई पनि भुल्न नसकेकी उनी आफ्नो सफलताको रहस्य श्रीमान तथा आफूलाई धेरै माया गर्ने अग्रज स्रष्टा तथा पाठक–स्रोता भएको जिकिर गर्छिन्। सिर्जना गर्न कुनै समय नचाहिने र जतिसुकै तथा जुनसुकै बेला पनि मनमा कम्पन हुनासाथ कोरिहाल्ने बानी भएको खुलासा गर्ने उनी आफूभित्रको सिर्जनालाई विभिन्न माध्यमवाट निरन्तर बहाउदैजाने प्रतिबद्धता व्यक्त गर्छिन् ।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ १२:४६