काठमाडौ । रिबन इन्टरटेनमेन्ट प्रा लिको आयोजनामा राजधानीमा सुपर ट्यालेन्ट नेपाल २०२६ (नृत्य तथा गायन प्रतियोगिता) भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा नृत्य र गायन गरी दुवै विधामा कुल १७ जना प्रतिभाशाली प्रतियोगीले सहभागिता जनाएका थिए। प्रतियोगिताको नृत्य विधातर्फ प्रियंशु न्यौपाने विजेता घोषित भए ।
सुपिक्षा थापा मगर फस्ट रनर्सअप र अपेक्षा खाती सेकेन्ड रनर्सअप भए । त्यस्तै आयुषी थापाले पब्लिक च्वाइस विनर र सचिना तामाङ भ्यूअर्स च्वाइस विनर भए ।


गायन विधातर्फ समिक्षा तामाङ विजेता भइन् । अनुष्का अधिकारी फस्ट रनर्सअप र सुम्निशा लिम्बू सेकेन्ड रनर्सअप घोषित भए। समिक्षा तामाङ पब्लिक च्वाइस विनर र सेमसाङ गुरुङ भ्यूअर्स च्वाइस विनर भए ।
दुवै विधाका विजेतालाई जनही २५ हजार नगद पुरस्कारसहित १६टी रेस्ट्रो एण्ड बारका गिफ्ट भाउचर प्रदान गरिएको थियो। अन्य विजेतालाई पनि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाको प्रमूख आतिथ्यता तथा रिबन इन्टरटेनमेन्ट प्रा लिका अध्यक्ष निशु कान्त झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अश्विनी झाले गरेका थिए ।
नृत्यतर्फ सन्दीप भुजेलले डान्स शिक्षक तथा गायनतर्फ ओम सुनारले संगीत शिक्षकका रूपमा प्रतियोगीहरूलाई प्रशिक्षण दिएका थिए। गायन विधाको निर्णायक मण्डलमा वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीत निर्देशक राजु सिंह तथा लोकप्रिय गायिका सुमित्रा कोइराला रहेका थिए।
त्यसैगरी नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ, लोकप्रिय नृत्य कोरियोग्राफर कृष्ण रसाल तथा लोकप्रिय अभिनेता शितल केसी निर्णायक रहेका थिए भने कार्यक्रमको व्यवस्थापनमा गंगा महर्जनले टिम म्यानेजर तथा बिन्दिया श्रेष्ठले मोडल कोअर्डिनेटरका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा समाजसेवी, लिम्बू कलाकार तथा व्यवसायी सरु माङ्मु लिम्बू; चलचित्र अभिनेता, युवा व्यवसायी तथा समाजसेवी देबेन्द्र नेम्बाङ; चलचित्र निर्माता, व्यवसायी तथा समाजसेवी तारा शिरेङ चोङ्बाङ; कवि, गीतकार, व्यवसायी तथा समाजसेवी अञ्जना राई; कवि, गीतकार तथा साहित्यकार सनी लिम्बू; गीतकार, चलचित्र निर्माता, व्यवसायी तथा समाजसेवी जस्मिन श्रेष्ठ; चलचित्र निर्माता, व्यवसायी तथा समाजसेवी पुजा गुरुङ; छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन एसोसिएट प्रोफेसर डा. सुचना मरहट्टा; ब्युटिसियन तथा सौन्दर्यकर्मी अमित्रा ढेके, रोशना राजथला र चन्दा पुनलगायत रहेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३ ०८:४९