काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् ।
मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’
पूर्वी नेपालका झापा र मोरङमा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२ १५:३८